केन्द्रीय संस्करण

विश्वविद्यालयमा नवीनतम नेतृत्व

person explore access_timeमंसिर ९, २०७६ chat_bubble_outline0

कुनै पनि देशको समग्र विकासको मूलआधार उक्त देशको शिक्षा हो । त्यो शिक्षा दिने मुख्य थलो विश्वविद्यालय हो । नेपालमा सञ्चालनमा रहेका विश्वविद्यालयको सङ्ख्या १२ पुगेको छ । तीमध्ये त्रिभुवन विश्वविद्यालय सबैभन्दा ठूलो विश्वविद्यालय हो । यसले करिब ६० वर्षको यात्रा पार गरेको छ ।

विसं २०५० भन्दा अघि यसले नेपालको उच्च शिक्षाको सम्पूर्ण भार एक्लै थामेको थियो । यति लामो शैक्षिक इतिहास रहेको नेपालको प्रमुख र महत्त्वपूर्ण विश्वविद्यालयले कस्तो शिक्षा दिइरहेको छ ? केही प्राविधिक अध्ययन संस्थानबाहेक यसका अधिकांश सङ्काय तथा निकायहरूले बेरोजगारहरूलाई उत्पादन गरिरहेका छन् भन्नु त्यति अन्यथा नहोला । इन्जिनियरिङ अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, चिकित्सा शास्त्र अध्ययन संस्थान लगायत केही प्राविधिक धारका विषय तथा कार्यक्रमहरू त्रिविका राम्रा कार्यक्रममा पर्छन् ।

तिनीहरू ‘राम्रा’ हुनमा तिनका उत्पादनको बजार माग र तिनको प्राज्ञिक गतिविधि हुन् । यी कार्यक्रमहरू एसियाकै राम्रा तथा गुणस्तरयुक्त कार्यक्रमका रूपमा स्वीकारिन्छ । ती निकायहरू बाह्य हस्तक्षेपबाट मुक्त छन् । परिवर्तनशील संसार सुहाउँदा शैक्षिक कार्यक्रमले युक्त छन् । अध्ययन संस्थानबाट सञ्चालित प्राविधिक कार्यक्रम बाहेक त्रिविका अन्य कार्यक्रमहरू बेरोजगार उत्पादन हुने थलोको रूपमा विकास भइरहेका छन् । 

काठमाडौँ विश्वविद्यालयको अवस्था राम्रो नै रहेको भए पनि बाँकी विश्वविद्यालयमा अझैसम्म त्रिविभन्दा केही फरक पाइएको छैन । त्यहाँका प्राविधिक कार्यक्रमले पनि पूर्ण आकार प्राप्त गर्न सकेका छैनन् ।
एउटा अन्तर्राष्ट्रिय कार्यक्रम व्यवस्थापकका लागि आवश्यक जनशक्ति छनोटका लागि अन्तरवार्ता लिइँदै गर्ने क्रममा एकजना उम्मेदवारसँग तीनवटा विषयको स्नातकोत्तर डिग्री थियो– एमए अङ्ग्रेजी, एलएलएम र एमए सोसियोलोजी ।


विश्वविद्यालयका पदाधिकारीमा विश्वदृष्टि आवश्यक छ । उमेर ढल्केर अनिवार्य अवकाश लिएका, आराम गर्ने बेलाका पात्रको खोजी होइन, केही गरौँ भन्ने सोचका योग्य पदाधिकारीले मात्र विश्वविद्यालयलाई समाज तथा राष्ट्रको विकास र समृद्धिसँग जोड्न सक्छन् ।


यति धेरै विषयको स्नातकोत्तर उपाधि प्राप्त उम्मेदवारसँगको अन्तरवार्ता आफैमा स्मरणीय र रमाइलो थियो । ‘तीन तीन विषयमा स्नातकोत्तर केका लागि गर्नुभएको ?’ भन्ने प्रश्नको जवाफ थियो, ‘सर गर्ने के ? एउटा डिग्री सकिएपछि जागिरको खोजीमा हो । तर हालसम्म पाइएको छैन । एउटा डिग्रीपछि कामको खोजी गर्दै तीनवटासम्म विषयमा अध्ययन पूरा गरेँ । अझै कुनै काम पाइएला जस्तो छैन । घरकालाई अझै अध्ययनमै छ भन्ने देखाउन र सोही निहुँमा खर्च पाउन क्याम्पस छोड्न त भएन । आजको यो अन्तरवार्तामा सफल भइएन भने चौथो डिग्रीको लागि नाम लेखाउने सोचमा छु सर ।’ उम्मेदवारको जवाफ बडो मननीय बन्यो । अर्काे एक प्रश्न अङ्ग्रेजी भाषामा गरियो– ‘तपाईंको जीवनको लक्ष्य के हो ? तपाईंलाई एउटा व्यावसायिक कार्यका लागि योजना प्रस्ताव तयार गर्न आउँछ ?’ टुटेफुटेको अङ्ग्रेजीमा आएको जवाफमा न भाषिक सीप रह्यो, न त कामको दृष्टिकोण, न त कार्यसम्पादनको कुनै गुञ्जायस देखियो । यस सन्दर्भले डिग्रीधारीहरूको सक्षमताको सामान्य सङ्केत गर्छ ।

हाम्रा विश्वविद्यालयबाट उच्च तहका कक्षाहरू पास गरेका ९५ प्रतिशतभन्दा बढी डिग्री होल्डरहरूको अवस्था यस्तै छ । विश्वविद्यालयले दिइरहेको शिक्षाबाट कुनै सीप विद्यार्थीले पाउँदैन भने त्यो शिक्षाको अर्थ के भयो ? केही रकम जुटाउन सक्नेहरू अस्ट्रेलिया, अमेरिका वा अन्य युरोपियन देशमा गएर तल्लो स्तरका कामहरू गर्न र आर्थिक स्रोत नहुनेहरू ऋण काढेर अरब पुगी त्यहाँको मथिङ्गल घुमाउने चर्को घाममा ज्यानलाई जोखिममा राखी लेबर काम गर्न किन चाहिए विश्वविद्यालयका उपाधिहरू ? यो विषयमा बहस अझै हामीले किन गरेका छैनौँ ? निकै ढिलासमेत भइसकेको छ । देशका लागि आवश्यक जनशक्ति कस्तो र कति सङ्ख्यामा हो ? विश्व बजारमा स्वाभिमानका काम पाउन सक्ने जनशक्ति कुन हो ? त्यही अनुसारको शिक्षाका कार्यक्रमहरू सञ्चालनमा ल्याउने विश्वविद्यालय आवश्यक छ ।

पुरानो र जेठो विश्वविद्यालय त्रिविको मात्र होइन, अन्य विश्वविद्यालयको अवस्था पनि त्यति राम्रो छैन । विश्वमै संस्कृत शिक्षाको महत्त्व बढिरहेको बेला नेपाल संस्कृत विश्वविद्यालयका केन्द्रीय क्याम्पस दाङमा संस्कृत पढ्ने विद्यार्थीको सङ्ख्या १०० पनि पुगेको अवस्था छैन । राज्य तथा समाजबाट पाएको आफ्नो सम्पत्तिको समेत सुरक्षा गर्न नसेको अवस्था यस विश्वविद्यालयसँग छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था झन् नाजुक छ । यस विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार दुवै निलम्बनमा छन् । पोखरा विश्वविद्यालयको अवस्था पनि सन्तोषजनक छैन । पोखरा विश्वविद्यालयको विद्यार्थीको उत्तीर्ण प्रतिशत ज्यादै न्यून छ । कृषि विश्वविद्यालय स्थापनासँगै सम्बन्धनको विषयमा विवादमा फसेको छ । पूर्वाञ्चल विश्वविद्यालयका सम्बन्धमा विवादै विवाद र अनियमितताका समाचारहरू पटक पटक आइरहन्छन् । मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्य विश्वविद्यालयको तुलनामा केही सुधारोन्मुख देखिन्छन् । काठमाडौँ विश्वविद्यालयले आफ्ना उत्पादनहरूबाट समाजको विश्वास हासिल गर्दै गएको छ ।

विश्वविद्यालयको समग्र शैक्षिक प्राज्ञिक कार्य प्रणालीमा तत्काल सुधार आवश्यक छ । अन्यथा नेपालको शिक्षा प्रणाली मात्र होइन, देशको समग्र प्रणाली नै असफल बन्ने छ । योजनाविहीन शिक्षा प्रणाली नै हाम्रो देशलाई असफल राष्ट्र बनाउने मूल कारक बन्नेछ । अधिकांश विश्वविद्यालयमा उपकुलपति लगायत महत्त्वपूर्ण पदाधिकारीको नयाँ नियुक्तिको प्रक्रिया चलिरहेको छ । पदाधिकारी छनोटका लागि नेपाल सरकारले सर्च कमिटी पनि बनाएको छ । नेतृत्व लिने व्यक्ति प्राज्ञिक, प्रशासनिक ज्ञान भएको, निडर, भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको, विश्वविद्यालयमा राजनीतितन्त्रलाई आफ्नो विश्वविद्यालयका लागि सकारात्मक रूपमा व्यवस्थापन गर्न सक्ने, उच्च शिक्षाको गुणस्तरलाई नेपाली माटो सुहाउँदो बनाउन सक्षम, पाठ्यक्रम तथा पेडागोजीलाई सामयिक बनाई विश्वस्तरको शिक्षा दिनसक्ने प्राज्ञिक नेतृत्व उक्त सर्च कमिटीले खोज्छ कि खोज्दैन भन्ने कुरा उच्च शिक्षाका सन्दर्भमा अहिलेको मुख्य चासो बनेको छ ।

नेपालका विश्वविद्यालयबाट लाखौँ रोजगारी उत्पादन गर्न सकिन्छ । यसका निम्ति अनेकौँ उपाय छन् । तीमध्ये एउटा सजिलो योजना भनेको यहाँको सस्तो श्रममा सीप भरेर विश्व बजारको काम गर्ने वातावरण निर्माण हो । प्रविधिको चरम विकासमा पुगेको विश्व बजारमा विभिन्न इलेक्ट्रोनिक सामग्रीहरूको सफ्टवेयर र हार्डवेयरका कामको जिम्मा यहाँको श्रमब जारले लिनु हुनसक्छ । यहाँको श्रम बजार युरोप अमेरिकी श्रम बजारका तुलनामा निकै सस्तो छ । विश्व स्तरका कम्पनीहरूले कुनै सामान युरोपमा १० हजार श्रम तिर्नु पर्छ भने नेपालमा एक हजारको वरिपरिको श्रम रकम खर्च गर्ने स्थिति छ । अनि युरोपमा सामान उत्पादन गरी बिक्री गर्नुभन्दा नेपालमा उत्पादन गरी विश्व बजारमा वितरण गर्नु निकै फाइदामुखी छ । यो कुरा विश्वका ठूलठूला कम्पनीहरूले बुझेका छन् तर हामी नबुझेका वा नगरेका के हौँ, बहस गर्न सकिन्छ । यसका लागि विश्वविद्यालयले विश्वका ठूलाठूला कम्पनीहरूको कामको जिम्मा लिन सक्छन् । यही बसेर उनीहरूको काम गर्ने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई राज्यले रोक्दैन । आपसमा समन्वय गरी ती कामहरूको जिम्मा लिई रोजगारीको सिर्जना गर्न सजिलैसँग सकिन्छ ।

यसबाट एकातिर प्रावधिक सिकाइका कार्यक्रमहरूको विकास हुन्छ भने अर्काेतिर लाखौँ युवाहरूले रोजगारी प्राप्त गर्न सक्छन् । करिब एक करोडको हाराहारीमा विदेशीयका युवालाई त्यसरी अर्काेको देशमा उपेक्षा, उत्पीडन र अपहेलन सहेर पसिना बगाउनुपर्ने युगको अन्त्य गर्न सकिन्छ । यो योजना राम्ररी कार्यान्वयनमा आएको खण्डमा नेपाली विदेशिने नभई विदेशीहरू नेपाली भूमिमा कामका लागि आउनुपर्ने अवस्थाको सिर्जना हुन्छ भन्ने थुप्रै आधार छन् । श्रम बजार, पर्यटन बजार, स्थानीय स्रोत साधनको परिचालन, नेपालका जडीबुटी, खनिज, यहाँको कला, संस्कृति लगायत थुप्रै क्षेत्रको फरक फरक तरिकाले विकास गर्ने योजनाका साथ विश्वविद्यालयहरू अघि बढाउन सकिएको खण्डमा समृद्ध नेपाल र समृद्ध नेपाली भन्ने राज्यको नारा मूर्त बन्ने थियो ।  कुनै पनि विश्वविद्यालय एउटा मात्र विषयमा योजनाका साथ सञ्चालनमा ल्याउन सकियो भने पनि राज्यका लागि ठूलै राहत हुने थियो । उक्त कार्य सबै विश्वविद्यालयका लागि उदाहरण बन्न गई देशको समग्र शैक्षिक प्रणाली सुध्रने बाटो पाउने थियो ।

कुनै पनि देशलाई समृद्धिको योजना र शक्ति त्यहाँका विश्वविद्यालयहरूले नै दिएको पाइन्छ । जसका लागि विश्वविद्यालयको शैक्षिक र प्राज्ञिक अवस्था देश विकासको योजना अनुरूप हुनुपर्छ । विश्वविद्यालय सुध्रिएको खण्डमा मात्र देशको समृद्धिको खोजी सम्भव छ, जसका लागि प्रथमतः विश्वविद्यालयलाई सही गतिमा हाँक्न सक्ने, नवीनतम सोच तथा योजना भएका पदाधिकारीहरूको खाँचो  छ । पद, प्रतिष्ठा, सम्पत्तिको लोलुपताबाट माथि उठेका केही गरौँ भन्ने सोच र तदअनुरूपको आँट र साहस भएको नेतृत्वको पर्खाइमा अहिले हाम्रा विश्वविद्यालयहरू छन् । विश्वविद्यालयका पदाधिकारीमा विश्वदृष्टि आवश्यक छ ।

उमेर ढल्केर अनिवार्य अवकाश लिएका, आराम गर्ने बेलाका पात्रको खोजी होइन, केही गरौँ भन्ने सोचका योग्य पदाधिकारीले मात्र विश्वविद्यालयलाई समाज तथा राष्ट्रको विकास र समृद्धिसँग जोड्न सक्छ । विश्वविद्यालयमा पदाधिकारी नै यसको सफलता र असफलताका कारक हुने भएकोले विशेषगरी विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीज्यूको यस तथ्यमा गम्भीर रूपमा ध्यान जान जरुरी छ । राजनीतिक भागबण्डा र खिचातानीबाट विश्वविद्यालयलाई टाढा राखी गरेर देखाउन सक्ने व्यक्तिलाई मात्र पदाधिकारी बनाइएको खण्डमा समृद्ध नेपाल बनाउने सपनाको एउटा आधार तयार हुने थियो । विश्वविद्यालयको वर्तमानको निराशाजनक तथा लथालिङ्ग अवस्थामा सुधार गर्नका लागि सक्षम नेतृत्व विश्वविद्यालयमा नियुक्ति गर्नु आवश्यक छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...