शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई सीताराम हाछेथुको १० सुझाव

सोमबार, ०९ मङ्सिर २०७६, १४ : ५५
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले हालै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । यसै क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री परिवर्तन गरिएको छ । रघुवीर महासेठको स्थानमा बसन्तकुमार नेम्वाङले उक्त मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई मुख्य नारा बनाएको छ । यही उद्देश्यप्राप्तिका लागि विभिन्न मन्त्रालयले आफ्ना भूमिका केन्द्रित गरिरहेकै छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक पार्न सबैभन्दा पहिला लाखौं मानिसले दैनिक रुपमा प्रयोग गर्ने सडकमै सुधारका विविध विषय छन् । 

उपत्यकाको ट्राफिक व्यवस्थापनमा करिब तीन दशक लामो अनुभव रहेको आधारमा उपत्यकाभित्र सडक एवं ट्राफिक व्यवस्थापन सुधारका लागि सरकारका तर्फबाट चाल्नुपर्ने कदमका बारेमा यहाँ उल्लेख गर्दैछु । सुझावका रुपमा प्रस्तुत यी बुँदा नवनियुक्त मन्त्री नेम्वाङका लागि उपयोगी हुन सक्ने अपेक्षासमेत लिएको छु ।

सुझावहरु
१. ट्राफिक लाइट तथा आकाशे पुल
यातायात व्यवस्थापनमा ‘ट्राफिक लाइट’को भूमिका महत्वपूर्ण हुन्छ । यातायात व्यवस्थापनमा सहज तुल्याउन काठमाडौँ उपत्यकाका ८७ चोकमा ट्राफिक लाइटको व्यवस्था गर्न आवश्यक छ । १२ लाख सवारीसाधन गुड्ने र ४० लाख मानिस बसोबास गर्ने उपत्यकामा अहिले पनि ट्राफिक व्यवस्थापनमा प्रविधि प्रयोग गर्न छाडेर हात हल्लाएकै भरमा सवारी साधनलाई आवत–जावत गराउने प्रक्रिया व्यवहारिक देखिदैँन । चार लाख सवारी साधन हुँदा अपनाइएको विधिलाई अहिले पनि अनुशरण गर्नु परिणाममुखी हुन सक्दैन ।
हाल काठमाडौँ उपत्यकामा ‘ट्राफिक लाइट’को अवस्था निकै दयनीय छ । ‘ट्राफिक लाइट’हरु काम लाग्ने अवस्थामा छैनन् । ‘ट्राफिक लाइट’ भएका ठाउँमासमेत ट्राफिक प्रहरीले हातले इशारा गरेर यातायात व्यवस्थापनको काम गरिरहेका छन् । भएका ‘ट्राफिक लाइट’ मर्मत गर्ने र आवश्यक थप स्थानमा जडान गरी ट्राफिक व्यवस्थापनको कामलाई सहज तुल्याउने दिशामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ध्यान दिन जरुरी देखिन्छ । यसले उपत्यकाको अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई धेरै हदसम्म समाधान गर्न सक्छ ।

२. सहायक बाटो विस्तार गर्ने
काठमाडौं उपत्यकामा बागमती, विष्णुमतिजस्ता विभिन्न खोला छन् । खोला किनारमा अहिले ‘करिडोर’ निर्माण भए पनि मुख्य मार्गका पुलमुनि ‘क्रसिङ’को व्यवस्था नहुँदा करिडोरबाट गुड्ने सवारी साधनहरुले ठाउँ–ठाउँमा मुख्य मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले गर्दा त्यस्ता ठाउँमा ट्राफिक व्यवस्थापनमा समस्या देखिने गरेको छ । करिडोरलाई सहायक मार्गका रुपमा विस्तार गर्दै सम्बन्धित खोला अन्तर्गत मुख्य मार्गमा पुल मुनीबाटै सहायक मार्गका लागि क्रसिङको व्यवस्था गर्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनमा धेरै सहज हुन्छ ।

३. इन्धनमा लगाइएको कर विषयान्तर
हाल सरकारले इन्धनमा प्रतिलिटर १ रुपैयाँ कर सडकका खाल्डो पुर्नका लागि लिइरहेको छ । यसरी प्रतिदिन ६६ लाख रुपैयाँ संकलन हुने गर्दछ । तर दुर्घटना न्यूनिकरणका लागि यो रकमको सानो अंशमात्र छुट्याइने हो भने नेपालमा सवारी दुर्घटनाबाट हुने मृत्युदर र अंगभंग हुने दरमा निकै कमी ल्याउन सकिन्छ । नेपालमा प्रतिदिन सरदर सात जनाको मृत्यु सवारी दुर्घटनाका कारण हुने गर्दछ भने काठमाडौँ उपत्यकामा दुर्घटनाबाट प्रतिमहिना सरदर २२ जनाको मृत्यु हुने गरेको छ । दुर्घटनाबाट हुने मृत्युदर घटाउन तयार पारिने योजना कार्यान्वयनमा इन्धन करबापत लिइएको रकमकै निश्चित हिस्सा छुट्याएर खर्चको व्यवस्था गर्नुपर्छ ।
४. विज्ञापन
विद्युतीय एवं छापा सञ्चारमाध्यममा अनेक प्रकारका विज्ञापन देख्न सकिन्छ तर सवारी दुर्घटना न्यूनिकरणका लागि विज्ञापनको प्रभावकारी व्यवस्था हुन सकेको छैन । सडकमा निस्किएपछि पैदल यात्रुले कसरी हिँड्ने, कहाँबाट कतिबेला बाटो काट्ने लगायतका जनचेतनामुलक विज्ञापनमार्फत सर्वसाधारणलाई ट्राफिक शिक्षाको आधारभूत ज्ञान दिन सके सवारी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । यस्तै, सवारी चालकले ध्यान दिनुपर्ने कुरा, उसले निर्वाह गर्नुपर्ने भूमिका लगायतका सामाग्री समेटेर विज्ञापनमार्फत सडक प्रयोगकर्ता सबैलाई सुसूचित गर्न सकिन्छ । यसले मानिसलाई ट्राफिक सम्बन्धी चेतना अभिवृद्धि गर्दै अन्ततः सवारी दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

५. तालिम तथा पुरस्कार
दैनिक ४०÷५० यात्रीलाई गन्तव्यमा सुरक्षित रुपमा पु¥याउने दायित्व बोकेको सार्वजनिक सवारी साधनका चालकका लागि विशेष तालिमको व्यवस्था गर्नुपर्छ । सार्वजनिक सवारी साधनको बेलाबेलामा अनुगमन गर्ने र उत्कृष्ट देखिएका सवारी चालकलाई पुरस्कारको व्यवस्था गर्ने हो भने चालकलाई जिम्मेवार बनाउन मद्दत पुग्छ । लापरवाही गरेको पाइएमा त्यस्ता चालकलाई सार्वजनिक सवारी साधन चलाउन अस्थायी प्रतिबन्ध लगाउने र बारम्बार लापरवाही गरेको पाइए उसको सवारी चालकअनुमतिपत्र खारेजसम्म गर्ने व्यवस्था भएमा चालकहरु जिम्मेवार बन्न सक्छन् । 

६. सवारी चालक अनुमतिपत्रमा कडाइ
विद्यालयमा एउटा कक्षा उत्तिर्ण हुनका लागि विद्यार्थीले एक वर्ष मेहनत गर्नुपर्दछ । ६०÷७० लाख रुपैयाँ खर्चिएर अध्यययन गरेपछिमात्र एउटा चिकित्सक तयार हुन्छ । उसले पनि अनेकौं चरणका परीक्षा पार गर्दै चिकित्सा पेसामा प्रवेश पाउँछ । एउटा पाइलट तयार हुनका लागि पनि उसले उचित शिक्षा र विभिन्न चरणका लिखित, मौखिक र प्रयोगात्मक परीक्षा पास गर्नुपर्छ । तर सवारी चालकका लागि परीक्षाको व्यवस्था निकै सहज छ । २० वटा प्रश्नमा १० वटामा ‘ठीक’ चिन्ह लगाएको भरमा उसले प्रयोगात्मक परीक्षामा मौका पाउँछ । प्रयोगात्मक परीक्षाको ढाँचामा गएर केही दिन अभ्यास गरेर उत्तिर्ण भएको भरमा उसले सवारी चालक अनुमतिपत्र प्राप्त गर्छ ।

सडकमा पैदल यात्रुदेखि लिएर आफूले चलाएको सवारी साधनमा यात्रारत व्यक्ति, सडकमै गुडिरहेका अन्य सवारी साधनसमेतको सकुशल यात्राका लागि एउटा चालकको भूमिका निकै महत्वपूर्ण हुन्छ । त्यसैले यतिधेरै दायित्व बोकेको चालक दैनिक रुपमा सडकमा सवारी साधन लिएर हिँड्नु अघि ऊ पूर्ण रुपमा सक्षम साबित हुन जरुरी हुन्छ । सडकमा निस्किएपछि उसले निर्वाह गर्नुपर्ने दायित्व, आपतकालिन अवस्थामा सोच्न सक्ने उसको क्षमता, उसको मानसिक अवस्थालगायतका धेरै कुरामा अब्बल देखिएपछि मात्र उसलाई सवारी चालक अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था लागू गर्नतर्फ बेलैमा सोच्न जरुरी छ । यसका लागि न्यूनतम १५ दिन उसले दैनिक एक घण्टाका दरले ट्राफिक सचेतना कक्षा लिने र दैनिक एक घण्टा सडकमा ट्राफिक व्यवस्थापनको अनुभव लिने व्यवस्था गर्न सकेमा मात्र पनि उसलाई चालकको मनोदसा, पैदलयात्रुको गतिविधि र व्यवहार, ट्राफिक प्रहरीको भूमिका र जिम्मेवारी आदिबारे महत्वपूर्ण जानकारी हासिल हुन सक्छ ।

७. ट्राफिक प्रहरीको भूमिका वृद्धि
हाल ट्राफिक प्रहरीलाई दिइएको भूमिकामा सवारी साधनको आवागमन सहज तुल्याउने, ट्राफिक नियम उल्लंघन भएको पाइएमा चिट काट्ने नै हो । सवारी आवागमन सहज तुल्याउने जिम्मेवारी अन्तर्गत ट्राफिक प्रहरीले सिट्ठी फुक्ने र हात हल्लाउनेमात्र हो । अर्थात् इशारा गरेर सवारी साधनलाई आउन–जान र रोकिन निर्देशन दिने ।

कारवाहीको नाममा चिट काट्नबाहेक ट्राफिक प्रहरीसँग थप अधिकार छैन । सवारी चालक अनुमतिपत्र खारेज गर्नुपरेमा यातायात व्यवस्था कार्यालयमा पठाउनु पर्ने हुन्छ । सडकमा कसुरको मात्रा हेरेर कुनै सवारी चालकको सवारी चालक अनुमतिपत्र निश्चित अवधिका लागि निलम्बन गर्ने, सम्बन्धित सवारी साधनको रुट परमिट निलम्बन वा खारेज गर्नसक्ने जस्ता अधिकार ट्राफिक प्रहरीलाई नदिएसम्म सडकमा जरिवाना तिरेर कसुर गरिरहने प्रवृत्ति मौलाउँछ ।

८. स्थानीय तहमा सुविधा विस्तार
हाल सवारी चालक अनुमतिपत्र नविकरण, सवारीधनी प्रमाणपत्र नविकरण, प्रदुषण परीक्षणलगायतका लागि तोकिएको स्थानमा गएर लाइन लाग्नु पर्छ । यस्ता सेवालाई स्थानीय तहमै विस्तार गर्न सकेमा सेवाग्राहीले सहज र सरल ढंगबाट सेवा पाउन सक्छन् । 

९. सडकमा पार्किङ खारेज
सवारी साधनको संख्या वृद्धिको तुलनामा सडक वृद्धि न्यून छ । काठमाडौँकै सडकमा १२ लाख सवारी साधन गुड्छन् । सडकमा सवारी साधनको चाप बढेका कारण यदाकदा बाटो फराकिलो पार्ने काम भइरहेको छ । यसरी फराकिलो पारिएको सडकमा सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ । सडक भनेको गतिका लागि हो, अर्थात् गन्तव्यमा पुग्नका लागि सडक प्रयोग गर्नुपर्छ, विश्रामका लागि होइन । 
हाल कतिपय स्थानमा बाटो फराकिलो बनाइए पनि पार्किङका अलावा ती सडक फराकिलो हुनुको अर्थ महसुस हुन सकेको छैन । सडकमा पार्किङ गर्न रोक लगाउनेबित्तिकै हाल पार्किङका लागि प्रयोग हुँदै आएको एउटा लाइन नै बाटोका रुपमा प्रयोग गर्न सकिन्छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समेत सहज हुन सक्छ ।

खास ठाउँमा मध्यान्ह १३ देखि दिउँसो ३ बजेसम्म पार्किङका लागि एउटा लाइन प्रयोग गर्न सकिने भए पनि ‘पिक आवर’मा त्यस्ता पार्किङमा पूर्ण प्रतिवन्ध लगाउनु पर्छ । दीर्घकालिन रुपमा सडकबाट पार्किङ पूर्ण रुपमा हटाउन जरुरी छ । घर निर्माणका लागि जग्गा अभाव हुन थालेपछि ‘अपार्टमेन्ट’ को अवधारणा ल्याइएजस्तै उपत्यकाभित्र अपार्टमेन्ट शैलीमा बहुतले पार्किङको व्यवस्था गर्न बेलैमा सोच्नु पर्दछ । यसका लागि नीजि क्षेत्रलाई जिम्मेवारी दिन पनि सकिन्छ । सवारी साधनबाट प्रतिघण्टा निश्चित शुल्क लिने गरी ठाउँठाउँमा यस्तो पार्किङघर निर्माण गर्न सकिन्छ ।

१०. ट्राफिक शिक्षाा र विशेष कार्यक्रम

सन् २०२० लाई नेपालमा भ्रमण वर्षका रुपमा मनाईदैँछ । यस्तै अवधारणामा टेकेर दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापन वर्षका रुपमा एक वर्षसम्म विशेष कार्यक्रम आयोजना गर्न सकेमा त्यसले पनि दुर्घटना न्यूनिकरणमा ठूलो मद्दत पुग्छ । यसअतिक्ति सबै विद्यालयमा ट्राफिक शिक्षाका लागि शिक्षकको व्यवस्था गर्न जरुरी छ । यसले सानै उमेरदेखि बालबालिकालाई ट्राफिक सम्बन्धी ज्ञान हुन्छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीताराम हाछेथु
सीताराम हाछेथु

हाछेथु अवकास प्राप्त प्रहरी निरीक्षक हुन् । हाछेथुले ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका छन् ।

लेखकबाट थप