शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाइजोको मोटरसाइकल नामसारी नगर्दा पत्नीको हत्या

शनिबार, ०७ मङ्सिर २०७६, १५ : २७
शनिबार, ०७ मङ्सिर २०७६

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको हत्या गरेका छन् । 

मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको भन्दै करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेको आरोप ससुराली पक्षले लगाएको छ ।

कुसुमलाई उनका ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । कुसुमको शव अस्पतालमा पु-याउनासाथ उनी फरार भएका थिए । 

शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि मात्रै अस्पताल पुगेका थिए । कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेको जनाए । मोटरसाइकल नामसारी नगरेकै कारण आफ्नो छोरीको हत्या भएको उनको आरोप छ ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं । त्यही झोंकमा मेरो छोरीलाई हत्या गरेको हो ।’ 
घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टमका लागि राखिएको छ । 

डेढ वर्षअघि कुसुमसँग प्रकाशको विवाह भएको थियो । विवाहमा २ लाख रुपैयाँ नगद, १ सय ५० सिसीको अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदी दाइजो दिएको मृतक कुसुमका माइती पक्षको भनाइ छ । 
घटना शंकास्पद देखिएको भन्दै प्रहरीले कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक शेखर खनालले आरोपित प्रकाशलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप