शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : पिण्ड दिने सन्तान

शनिबार, ०७ मङ्सिर २०७६, ११ : ३५
शनिबार, ०७ मङ्सिर २०७६

–बलबहादुर थापा मगर

मेरा दुई सन्तान थए । दुवै छोरी । ठूली छोरी स्कुल जान थालिसकेकी थिइन् । सानी भर्खर एक वर्ष पुग्दै थिई । परिवार सानो र खुसी थियो । म महिला अधिकारकर्मीको रूपमा काम गर्थें । श्रीमती गृहिणी थिइन् ।

घरव्यवहार राम्रै चलिरहेको थियो । सानी छोरीको पहिलो जन्मदिन आउँदै थियो । ठूली छोरीले जिद्दी गर्दै थिइन् । ‘बहिनीको बर्थमा ठूलो केक ल्याउने है ।’ श्रीमती छोरीको जिद्दीमा सहमती जनाउँदै थिइन्– ‘नानी जन्मिँदा पार्टी दिन भ्याइएन । बर्थ सेलिब्रेसनमा सबै साथीहरुलाई बोलाउनुपर्छ ।’ आमा छोरीको जिद्दीमा मेरो के लाग्थ्यो ? संसार जित्ने पुरुषहरु परिवारसँग सजिलै हार्छन् । म त के हो र ? बर्थडे मनाउने निर्णय भयो ।

इष्टमित्र, नातागोता, साथीहरु सबैलाई निमन्त्रणा गरेँ । कोही नछुटून् भनेर फेसबुकमा समेत चिन्ने जति सबैलाई मेन्सन गरेँ । बुबा, आमा, श्रीमती, बहिनी सबैलाई तयारी गर्न भ्याइनभ्याई भयो । बर्थ डेको दिन पाहुनाको स्वागत र खानपिनको व्यवस्थापनमा हम्मेहम्मे भयो । पाहुना धेरै भएर होला, व्यवस्थापनमा धेरै कठिनाइ भयो । खानपिनमा कुनै कमजोरी हुन पाएन ।
साँझ परिसकेको थियो । साथीहरुले अन्त्यमा सानो कार्यक्रम गर्ने भनेर आवाज उठाए । मैले पनि नाइँ भन्न सकिन । उद्घोषणको जिम्मा राधिका म्याडमको भयो । उहाँ राम्रो बोल्नुहुन्थ्यो । धारा प्रवाह बोल्नु उहाँको

विशेषता थियो । उहाँले महिला अधिकारका विषयमा आवाज उठाउँदै हिँडेको एक दशक भइसकेको थियो । उहाँलाई हामी सम्मानका साथ हेथ्र्यौं ।
राधिका म्याडमले कार्यक्रम सुरु गर्नुभयो । उहाँको उद्घोष अनुसार कसैले गीत गाए, कसैले जोक्स भने, कसैले मेरो र श्रीमतीको प्रेम कहानी सुनाएर लज्जित बनाए । अन्त्यको कार्यक्रमले बर्थ डे सलिब्रेसनमा छुट्टै रमाइलो

थपिदियो । सबैले कार्यक्रममा मेरी छोरीको दीर्घायु र प्रगतिको कामना गरेँ । कार्यक्रमको अन्त्यमा मलाई बोल्न आग्रह गर्नुभयो । मैले आफ्नो कुरा राखेँ । सबैले ताली बजाएँ ।

राधिका म्याडमले आफ्नो विचार राख्दै हुनुन्थ्यो । त्यहाँ पनि महिला अधिकारको विषय उठान गर्न छोड्नु भएन । लामै भाषण दिनुभयो । भाषण सकिएपछि मेरो परिवारको बारेमा बोल्न थाल्नुभयो । के बोल्नुभयो, त्यति ध्यान दिइनँ ।

अन्तिममा भाषण टुङ्ग्याउँदै भन्नुभयो– ‘फेरि एक पटक ट्राई गर्नुपर्यो, थापा सर । पिण्ड दिने सन्तान त चाहियो नि !’

बागलुङ नगरपालिका–१०, भकुण्डे अर्भक
हाल : नक्साल काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप