बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनः कास्कीमा प्रतिष्ठाको लडाइँ, यस्तो छ राजनीतिक दलहरुको अन्तिम तयारी

शुक्रबार, ०६ मङ्सिर २०७६, २३ : १९
शुक्रबार, ०६ मङ्सिर २०७६

पोखरा । मंसिर १४ मा हुने उपनिर्वाचनको मिति नजिकिएको छ । देशभरका रिक्त स्थानमा हुने उपनिर्वाचनमध्ये कास्की उपनिर्वाचन विशेष महत्वको छ । अरु ठाउँको उपनिर्वाचनभन्दा कास्की २ यसर्थमा पनि महत्वपूर्ण छ, किनकी, कास्की २ मात्र प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको एक मात्र उपनिर्वाचन हो । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । 

कास्की २ उपनिर्वाचनमा १० स्वतन्त्रसहित २१ जना उम्मेद्वारले चुनाव लड्ने छन् । २५ जना उम्मेद्वारले उम्मेद्वारी मनोनयन दर्ता गराएकोमा ३ जनाको नाम समानुपातिक तर्फको बन्द सूचिमा रहेकाले बदर भयो । बाँकी २२ मध्ये एकजना स्वतन्त्र उम्मेद्वारले आफ्नो उम्मेदवारी अन्तिम दिनमा फिर्ता लिएका थिए । 

उम्मेदवारहरु यतिबेला चुनावी दौडधुपमा व्यस्त छन् । वडावासीको घर घरमा पुगेर मत माग्नेदेखि चुनावी भेटघाटले उम्मेद्वारलाई भ्याईंनभ्याईं छ । सबैले चुनावी प्रचारप्रसारलाई तिव्र पारेका छन् । कास्की २ लाई आफ्नो पोल्टामा पार्न सानादेखि ठुला पार्टीले राम्रै कसरत गरिरहेका छन् । 

कास्की २ लाई आफ्नो भागमा पार्न कसरत गर्ने पार्टीमध्येमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी अग्रपंक्तिमा पर्छ । अरु पार्टीले उम्मेद्वारको टुंगो नलगाउँदै मिश्र नेतृत्वको साझाले सबैभन्दा पहिले नै (कात्तिक ६ गते) उम्मेदवारी घोषणा गरेर चुनावी अभियान थालेको थियो । 

२ महिनाअघि मात्रै प्रमुख प्रतिपक्ष काँग्रेस छोडेर पार्टी प्रवेश गरेकी रजनी केसीलाई साझाले उम्मेदवार बनाएको छ । साझाका केन्द्रीय संयोजक रवीन्द्र मिश्र पनि उम्मेद्वारसँगै घरदैलोमा निकै सक्रिय देखिन्छन् ।  जुनकुनै हालतमा कास्की २ को उपचुनाव जितेरै छाड्ने दाबी गर्दै आईरहेको साझाले उम्मेदवारी घोषणा कार्यक्रममा कास्की २ बाट राजनीतिक बिगुल फुक्ने प्रतिबद्धता पनि जनाएको थियो । 

साझाकी उम्मेदवार रजनी केसीले रातोपाटीसँगको कुराकानीमा घरदैलोदेखि कोणसभासम्म व्यापक रुपमा अघि बढीरहेको बताइन् । घरदैलोमा मतदाताहरुले एकदमै राम्रो प्रतिक्रिया दिने गरेको उनको दाबी छ । ‘कोणसभामा जतिले मेरो भनाईहरु सुन्नुहुन्छ, उहाँहरु सबै जनाले मलाई भन्नुहुन्छ,’ उनले भनिन्, ‘भोट त तपाईंलाइ नै हो ! ढुक्क हुुनुुस् भनेर सबै जनाले भन्नुभएको छ ।’

कास्की २ मा पर्ने पोखरा महानगरपालिकाभित्रका ११ वडामध्ये सबै वडामा घरदैलो कार्यक्रम र कोणसभा गरिसकेको उनले सुनाइन् । एकपटक घरदैलो कार्यक्रम लिएर पुगि सकेको वडामा पनि पुनः मत माग्न पुगेको उनले बताइन् । यस्तै साझाले छिट्टै चुनावीसभा गर्ने समेत उनले सुनाइन । त्यसको लागि मिति भने तय नभएको उनले जानकारी दिइन ।

प्रमुख प्रतिपक्ष काँग्रेसले भने आज विशाल चुनावी सभा गरेको छ । चुनावीसभालाई पार्टी सभापति शेरबहादुर देउवादेखि युवा नेता गगन थापा, र  अन्य शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । 

पोखराको अति नै व्यस्त बजार क्षेत्र चिप्लेढुंगादेखि सभागृह चोकसम्म काँग्रेसले बिहीबार पनि विशाल चुनावी ¥याली गरिसकेको छ । हजारौंको संख्यामा सडकमा ओर्लिएको काँग्रेस समर्थकको भीडका कारण केहीबेर सवारी अवागमनसमेत प्रभावित भएको थियो । तर, साझा पार्टीले भने सर्वसाधरणलाई अप्ठ्यारो पार्ने गरी कुनै पनि हर्कत नगर्ने बताउँदै आएको छ । साझाको चुनावी प्रचारका त्यति धेरै ठूलो भीड भने देखिदैन ।

यस्तै, आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आई रहेको बाबुराम/उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि कास्की २ मा चुनावी कसरत राम्रैसँग गरेको छ । लामो समयदेखि गोर्खा आर्मीको रुपमा कार्यरत धर्मराज गुरुङलाई समाजवादीले यसपटक उम्मेद्वारको रुपमा उठाएको छ । गुरुङ कास्की २ को चुनावी रिङमा उत्रेका उम्मेद्वारमध्ये एक्ला जनजाति उम्मेद्वार पनि हुन् । 

घरदैलो कार्यक्रम लिएर प्रत्येक मतदाताको घर–घरमा पुगिसकेको समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले बताए । आफ्नो पार्टीको उम्मेद्वारीले कास्की २ का मतदाता उत्साही भएको समेत उनले सुनाए । 

‘एकपटक हातमा भोट हालेर हेरौं, अरुलाई धेरै हेर्यौ, खासै परिवर्तन केही भएन,’ उनले भने, ‘हाम्रो पार्टी वैकल्पिक रुपमा स्थापित हुँदै गरेको पार्टी भएकाले पनि एकपटक भोट दिउँ भन्ने पक्षमा मतदाताहरु रहेको हामीले बुझिरहेका छौं ।’ 

सबैजसो वडामा घरदैलो कार्यक्रम सकिसकेको समाजवादीले यही आउँदो ८ गते चुनावी सभा गर्नेछ । चुनावीसभालाई सम्बोधन गर्न समाजवादीका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ आउने उनले सुनाए । मानवअधिकार चोकबाट निस्केको चुनावी¥याली पृथ्वीचोकमा आएर सभामा परिणत हुने उनले जानकारी दिए । 

त्यसको लगत्तै भोलिपल्ट उम्मेद्वार र बाबुराम भट्टराईसहित १६ नम्बर वडामा पुगेर घरदैलो कार्यक्रम गर्ने समेत उनले बताए । चुनाव जित्ने गरी तयारी गरीरहेको उनले दाबी गरे । ‘मलाई लाग्छ मतदाताहरु अब भ्रममा बाच्नुहुन्न्, उहाँहरुले बुझिसक्नुभएको छ, हामी जनतामाथि विश्वास गछौं,’ उनले भने, ‘यो चुनावमा उहाँहरुले हामीलाई जिताउनु हुन्छ भन्नेमा हामी आशावादी छौं ।’ समाजवादी पार्टीको पनि चुनावी प्रचारको लागि ठूलो टोली  छैन । 

युवाहरुले स्थापना गरेको विवेकशील नेपाली दलकी उम्मेद्वार जमुना शर्माले पनि कास्की २ मा उपनिर्वाचनको तयारी तिव्र पारेकी छिन् । विवेकशील नेपाली दलकी गण्डकी प्रदेशकी सह–संयोजक तृष्णा भण्डारीकाअनुसार एकाध वडाबाहेक सबैजसो वडामा घरदैलो कार्यक्रम सकिएको छ । हातमा गुलाब र नेपालको राष्ट्रिय झण्डा बोकेर चुनावी घरदैलोमा हिँडेको विवेकशील दल नयाँ पार्टी भएकाले बुझाउन गाह्रो भएपनि बुझिसकेपछि राम्रो प्रतिक्रिया पाएको उनले सुनाइन् । 

प्रमुख प्रतिपक्ष काँग्रेसका कास्कीका चुनावी कमाण्डर समेत रहेका सभापति कृष्ण केसीले सबै वडामा घरदैलो कार्यक्रम लिएर पुगिसकेको जानकारी दिए । भोलिदेखि नै घरदैलो कार्यक्रमलाई पुन: दोहो¥याउने उनले सुनाए । चुनावीसभालाई सम्बोधन गर्न आइपुगेका पार्टी सभापति शेरबहादुर देउवादेखि महामन्त्री शशांक कोइराला, शीर्ष नेताहरु शेखर कोइराला, गगन थापा लगायतको उपस्थितिले मतदाताहरु उत्साहित भएको उनले सुनाए । ‘घरदैलो कार्यक्रमलाई एकदमै व्यापक बनाइरहेका छौं,’ उनले भने, ‘चुनावीसभाको लागि पार्टीका शीर्ष नेताहरु पनि आउनुभएको छ । मतदाताहरु पनि एकदमै उत्साहित हुनुहुन्छ ।’

वर्तमान सरकारका कामकारवाहीका कारण मतदाताहरुले काँग्रेसलाई भोट हाल्ने उनले दाबी गरे । सरकारको काम कारबाही देखेर जनताहरु निराश बन्दै गएको समेत उनले बताए । ‘यही निराशाका कारण जनतामा राजनीतिक पार्टीहरुप्रति आक्रोश बढेको छ,’ उनले भने, ‘किन भोट दिने ? भोट दिएर के हुन्छ ? दुई तिहाइको सरकार बनेपनि केही गर्न सकेन भन्ने खालको आक्रोश जनतामा देखिएको छ ।’

काँग्रेसका उम्मेद्वार खेमराज पौडेलप्रति उनको निष्ठानवान राजनीति देखेर मतदातामा सहानुभूति पनि बढेकाले चुनावी जित्ने आधार बढेको उनले दाबी गरे । ‘कास्कीको राजनीतिका धरोहर, निष्ठावान व्यक्ति भएकाले पनि उहाँप्रति मतदाताको सहानुभूति बढेर आएको छ,’ उनले भने, ‘त्यसैले पनि हामीले चुनाव जित्ने आधारहरु छन् ।’ मतदाताहरु राष्ट्रिय नीतिका कुराभन्दा विकास निर्माणमा ढिला सुस्ती र महंगीले गर्दा आजित भएको उनले सुनाए । अघिल्लो चुनावमा काँग्रेसप्रति देखिएको जनताको असन्तुष्टि अहिले मेटिंदै आएको उनले दाबी गरे । कम्युनिष्टलाई मत दिएर मतदाताहरु पछुताएको उनले सुनाए । यसकारण पनि काँग्रेसको जित निश्चित भएको उनले दाबी गरे । 

सरकारका नराम्रा कामलाई औल्याएर आफ्नो चुनावी योजना धेरैभन्दा धेरै मतदाताकोमा पु¥याउन लागिपर्ने उनले सुनाए । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी तथा नेकपाका उम्मेद्वार विद्या भट्टराई र चुनावी कमान्डर राजकाजी गुरुङले ११ वडामध्ये २ वडामा मात्र घरदैलो कार्यक्रम लिएर पुगेको जानकारी दिए ।

यसपछि यही आउँदो ११ गते नेकपाले चुनावी सभा गर्नेछ । उक्त चुनावीसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली आउने छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि पोखरामा आयोजना गरिएको कार्यकता प्रशिक्षण कार्यक्रममा उम्मेद्वार विद्या भट्टराईले जसरी पनि चुनाव जित्ने बताएका थिए ।  रातोपाटीसँगको कुराकानीमा आफूहरुको पक्षमा धेरैभन्दा धेरै मतदाताहरु देखिएको र जसरी पनि चुनाव जितेरै छाड्ने उनले दाबी गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप