बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द उद्योग सञ्चालन गर्न गृहकार्य शुरु भयो : मन्त्री भट्ट

शुक्रबार, ०६ मङ्सिर २०७६, १९ : ४१
शुक्रबार, ०६ मङ्सिर २०७६

चितवन। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बन्द रहेका उद्योगलाई सञ्चालन गर्न सरकारले गृहकार्य शुरु गरेको बताएका छन् । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आजदेखि शुरु भएको चौथो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उनले व्यवसायीको समस्या जटिल बन्दै गएको भन्दै उनले उद्योग स्थापना गर्दा देखिने सामाजिक समस्या समाधान गर्न आवश्यक रहेको बताए । 

उनले एकद्वार नीतिमार्फत अगाडि बढ्नुपर्ने भन्दै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीलाई एउटै मन्त्रालयमा सेवा दिने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले भने, “एक मन्त्रालयले अर्को मन्त्रालयसँग सहकार्य गरेर छिटोभन्दा छिटो सेवा दिने व्यवस्था मिलाउनु आवश्यक छ ।” 

आयात रोकेर निर्यातमुखी उत्पादन गर्न आवश्यक रहेको उनको भनाइ थियो । कृषि क्षेत्रलाई औद्योगीकरण र व्यावसायिकरूपमा अघि बढाउन भूगोलअनुसारको प्रविधि जोड्नु आवश्यक रहेको उनले बताए । 

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषि बाँच्ने आधार नभएर सभ्यता भएको बताए । कृषिलाई औद्योगिक, व्यावसायिक र यान्त्रिकीकरण गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि सङ्कायका डिन जयप्रकाश दत्त, कृषि विभागका निमित्त महानिर्देशक सावित्री बराल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख डा रेवतीरमण पौडेल, नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घका अध्यक्ष स्वयम्भू कृष्ण श्रेष्ठलगायतको सहभागिता थियो । 

कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।

यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने सो प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहेका छन् । रु १० करोडभन्दा बढी कारोवार हुने लक्ष्य रहेको सो प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ७० जिल्लाका ३५ हजारभन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप