शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बर्खास्त’ मन्त्रीले भेटेनन् डेरा, मन्त्री क्वार्टरमा पोका पन्तरा कुर्दै !

लालबाबु भन्छन्, सहयोग गर्न सक्नुहुन्छ भने गरिदिनुस्
शुक्रबार, ०६ मङ्सिर २०७६, १२ : १५
शुक्रबार, ०६ मङ्सिर २०७६

काठमाडौँ । बुधबार मन्त्रिमण्डल पुनर्गठनका क्रममा बर्खास्तीमा परेका मन्त्रीहरुलाई कोठा पाउनै मुस्किल परेको छ ।

काठमाडौँमै घर हुनेहरुले बिहीबारै मन्त्रीक्वाटर छाडेपनि नहुनेहरुलाई भने कोठा खोज्नुपर्ने बाध्यता छ । कोठा नपाउनेहरुले आफन्त र इस्टमित्रहरुलाई कोठा खोज्न हारगुहार गरेपनि नपाएकाले मन्त्री क्वार्टर पुल्चोकमै अड्किनु परेको गुनासो गरेका छन् ।

मन्त्री पद गुमेपछि ललितपुरस्थित मन्त्री क्वाटरमा बिहीबारै आफ्ना सामान पोको पारेर बसेका लालबाबु पण्डित शुक्रबारसम्म कोठा नभेट्दा सर्न सकेका छैनन् । पण्डित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीबाट अन्य आठमन्त्रीसँगै जिम्मेवारीबिहीन भएका हुन् । उनले फ्ल्याट नभेट्दा मन्त्री क्वाटर छाड्न नसकेको भन्दै बरु सहयोग गरिदिन आग्रह गरे ।

‘हट्ने थाहा भएपछि मैले बुधबार बेलुकाबाटै कोठा खोज्न चिनेजानेकालाई खटाएको थिए । तर अहिलेसम्म भेटिएको छैन, बरु सहयोग गर्न सक्नुहुन्छ भने गरिदिनुस्,’ शुक्रबार बिहान रातोपाटीको टेलिफोन सम्पर्कमा आएका नेकपाका नेता समेत रहेका पण्डितले भने, ‘उपयुक्त लोकेसनमा कोठा भेटिनेबित्तिकै क्वार्टर छोड्छु । पोकापन्तरा सबै तयार पारेर बसेको छु ।’

उनले काठमाडौँमा कोठा पाउनै सकस पर्ने गरेको पनि सुनाए । उनले भने, ‘५० जनाजति मान्छेलाई भनिसकँे तै पनि उपयुक्त स्थानमा फ्ल्याट नै भेटिएन, जतिसक्दो चाँडो क्वाटर छोड्ने मनस्थितिमा छु’, पण्डितले सुनाए । त्यस्तै उनले भेटिएका ठाउमा पनि पानी, बत्ती लगायतको समस्या हुने गरेको बताए । ‘महङ्गो भाडा तिर्न सक्ने अवस्था रहँदैन । थोरै रकममा कोठा नै नपाइने रहेछ,’ उनले आफुले मासिक २० हजारसम्मको फ्ल्याट खोजेको पनि बताए ।

बिहीबारबाट पण्डितले सम्हाल्दै आएको मन्त्रालय हृदयश त्रिपाठीले सम्हालेका छन् । उनी बस्दै आएको क्वाटरमा त्रिपाठी नै सर्ने तयारीमा छन् ।

पदमुक्त भएका अर्का मन्त्री चक्रपाणी खनाललाई पनि कोठा भेट्न मुस्किल परेको छ । खनालले बिहीबारै मन्त्री क्वाटर छाडेपनि कोठा भने भेटाएका छैनन् । ‘मैले त बिहीबारै क्वाटर छोडे । तर कोठाचाहिँ भेटेको छैन । सामान भाइको कोठामा लगेर थन्काएको छु । कोठा भेटेपछि सार्छु,’ कृषि तथा पशुपन्छि विकास मन्त्रीबाट हटेका खनालले भने, ‘आफन्तहरुलाई कोठा खोज्न भनेको छु । बानेश्वर एरियातिर भए सजिलो हुन्थ्यो तर त्यतातिर कोठा नै नपाइने रहेछ, पाएपनि धेरै महङ्गो ।’

खनालले मासिक १८ देखि २० हजार रुपैयाँसम्म तिर्ने गरी फ्ल्याट खोज्न लगाएको बताए । भने,‘पहिला पनि १८ हजार भाडा तिरेको थिएँ, त्यो भन्दा बढी तिर्न सकिँदैन । जिल्लाबासी र कार्याकर्ता आइरहने भएकाले त्यस्तै खालको स्पेस भएको ठाउँ चाहिन्छ ।’ यसअघि खानलले सम्हालेको मन्त्रालय बिहीबारबाटै घनश्याम भुषालले सम्हालेका छन् । खनाल बस्दै आएको क्वाटरमा भुषाल सर्ने तयारी छ । यसअघि बुधबार बेलुकै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भने क्वार्टर छोडिसकेका छन् । उनले भक्तपुरमा कोठा खोजेर सरेको बताएका छन् । अर्का मन्त्री गोकर्ण विष्टले भने बिहीबार क्वाटर छाडेर आफ्नै घरमा सरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्दा ६ मन्त्री र ३ जना राज्यमन्त्री हेरफेर गरेका थिए ।

तस्बिर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप