मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा उपनिर्वाचन : विद्या भट्टराईलाई जिताउन खोलामा राजनीति

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : ५५
बिहीबार, ०५ मङ्सिर २०७६

पोखरा । मतदातालाई आफ्नो पक्षमा पार्न दलहरुले अनेक प्रयास गर्छन् । कास्की २ मा पनि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । अचम्म त के छ भने ! चुनाव जित्नको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खोलाको मापदण्ड नै घटाउने सहमति गरेको छ ।

नेकपाले फिर्के खोलाको मुद्दा लिएर उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका सुनिलबहादुर कोइरालालाई आफ्नो पक्षमा पार्न खोलाको सिमाना घटाउने सहमति गरेको खुलेको छ । कोइरालाले आफूलाई फिर्के खोला मापदण्ड पीडितको उम्मेद्वारको रुपमा प्रचार गर्दै आएका थिए । उनी नेकपा समर्थक पनि हुन् । खोलाको मापदण्डलाई मुद्दा बनाएर उम्मेद्वार बनेका कोइरालाले भोट काट्ने देखिएपछि नेकपाले यस्तो हर्कत गरेको हो । 

उनीसँगै अन्य करिब २ सय घर धूरीले फिर्केको मापदण्ड मिचेका छन् । महानगरले ती संरचना हटाउन ताकेता गर्दै डोजर चलाएको थियो । गएको साल पोखरा महानगरका मेयर मानबहादुर जीसी आफैंले फिर्के खोलामा फुट ट्रयक बनाउने भन्दै डोजर चलाएका थिए । पोखरा महानगरले फिर्के खोलामा १० मिटरको मापदण्ड कायम गरेको छ । तर, कुनै बेला मापदण्ड कायम गर्न डोजर चलाउने महानगरले सोही खोलाको मापदण्ड घटाउन पार्टीको चुनावी एजेण्डालाई साथ दिएको पाइएको छ । 

नेकपाका नेता खगराज अधिकारीदेखि कास्की क्षेत्र नम्बर २ कि उम्मेदवार विद्या भट्टराईलाई जिताउने मोर्चाका कमाण्डर राजकाजी गुरुङको रोहबरमा खोलाको मापदण्ड घटाउने लिखित सहमतिपत्र बाहिरिएको छ । यसमा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले समन्वय गरेको पाइएको छ । 

सहमतिपत्रमा खोलाको मापदण्ड घटाएर १ मिटर बनाउन, आगामी कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने सहमति गरिएको छ ।  पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीको सहजीकरणमा भएको वार्तामा पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, फिर्के खोला संरक्षण तथा मापदण्ड समिति, नागरिक समाजका प्रतिनिधिसहितले फिर्के खोलाको मापदण्डलाई १ मिटरमा झार्ने लिखित सहमति नै गरेका छन् ।
वडा नम्बर ५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीको समन्वयमा मंगलबार बैठक भयो र ठाउँ हेरेर १० मिटर र ६ मिटर रहेको फिर्के खोलाको मापदण्ड घटाएर १ मिटर कायम गर्न आगामी कार्यपालिका बैठकमै प्रस्ताव पेश गर्नेसहित सहमति भएको छ ।

सहमतिमा फिर्केको मापदण्ड १ मिटर कायम गर्न नेकपाले राजनीतिक हिसाबले र महानगरपालिकाले कार्यपालिकाबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउने, मापदण्डभित्र रहेको जग्गा धितो राखेर ऋण निकाल्न महानगरले सिफारिस गर्ने, फिर्केलाई सौन्दर्यीकरण गर्ने र पुरानै बाटोमा हिँडाउने सहमति भएको छ ।

खोलाको मापदण्ड घटाउन महानगरको कुनै संग्लनता छैन : मेयर जीसी

यता, पोखरा महानगरपालिकाका प्रमुख मेयर मानबहादुर जीसीले भने खोलाको मापदण्ड घटाउन महानगरको कुने संग्लनता नरहेको दाबी गरेका छन् । फिर्के खोलाको संरक्षणका लागि डिपिआर तयार पार्न लागेको उनले सुनाए । 
महानगर प्रमुख जीसी प्रमुखले यसो भनि रहदा महानगर प्रवक्ता धनबहादुर नेपाली भने स्वतन्त्र उम्मेद्वार कोइरालासंग मध्यस्थकर्ताको मुख्य भुमिकामा देखिएका छन् । नेपाली भने आफ्नो संग्लनता अस्वीकार गर्छन् । 
फिर्केको मापदण्डलाई मुद्दा बनाएर उम्मेद्वारी दिएका कोइराला आफ्नो चुनावी एजेण्डा सफल भएपछि चुनावी प्रचार स्थगित गर्ने भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप