शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘च च हुई’ ले गराउँला त मिरुनालाई हिट ?

बिहीबार, ०५ मङ्सिर २०७६, १७ : ३१
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । हिट हुन नसकेपनि व्यस्त छिन् अभिनेत्री मिरुना मगर । पछिल्लो समय एकपछि अर्काे गर्दै उनका फिल्म लगातार आइरहेका छन् । त्यसैले पनि उनी चर्चामा रहन सफल छिन् । मिरुना अभिनित पछिल्लो फिल्म ‘च च हुई’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शनको कारणले उनी मिडियाको चारैतिर छाएकी छन् ।

‘च च हुई’ आफ्नो करियरको लागि महत्वपूर्ण फिल्म भएको उनले बताइन् ।  आमाबुबासँगै बालपन बेलायतमा बिताएकी मिरुना एनजिओ, आइएनजिओमा आवद्ध भएर समाजसेवा गर्ने उदेश्यका साथ २०१६ मा नेपाल फर्किएकी थिइन् ।

तुरुन्तै एनजिओ, आइएनजिओमा आवद्ध हुन नपाएपछि सुरुमा उनले थिएटर अभिनय सिक्न थालिन् । सिक्दै गर्दा उनले ‘कथा देश ३’ नाटक अभिनय गरिन् । यहि नाटकले उनको अभिनय ढोका खोलिदियो । नाटक अभिनयका कारणले उनलाई फिल्म ‘लालपुर्जा’ मा काम गर्ने अवसर मिल्यो । ‘लालपुर्जा’ मिरुनाको डेब्यु फिल्म हो । यो फिल्ममा उनलाई भित्र्याउने काम निर्देशक निगम श्रेष्ठ र निर्माता माधव वाग्लले गरेका थिए ।

‘लालपुर्जा’को व्यवसाय राम्रो हुन त सकेन । तर अभिनयबाट भने उनले तारिफ बटुलिन् । सोही कारण पनि उनको हातमा फिल्म ‘रोज’ पर्यो ।  पछिल्लो समयका हिट अभिनेता प्रदीप खड्कासँग ‘रोज’ अभिनय गरेकी मिरुनालाई यो फिल्मले ब्यवसायिक सफलता दिलाउन नसकेपनि अभिनय झन् उचाहीँ दिलाउने काम गर्यो । 

‘रोज मेरो अभिनयको ट्रनिङ प्वाइट हो’ उनले थपिन्, ‘यो फिल्म अभिनयले मेरो यो क्षेत्रप्रतिको लगाव झन् बलियो बनायो ।’ ‘रोज’पछि उनको हातमा नेपालको प्रथम नायिका भुवन चन्द निर्माता रहेको ‘साइनो’ पर्यो । तर यो फिल्म हलमा लागेको र उत्रिएको दर्शकले पत्तै पाएनन् ।

आफ्ना अघिल्ला सबै फिल्मले व्यवसाय नगरेपछि उनी ती फिल्ममा विपिन कार्की, सौगात मल्ल, प्रदिप खड्का जस्ता कलाकारसँग काम गर्न पाउँदा धेरै कुरा सक्न मिलेको बताउँछिन् । अहिले आउन लागेको ‘च च हुुई’ माथि भने उनको धेरै भरोसा रहेको छ । यो फिल्ममा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् । 

‘अहिलेसम्मको फिल्मी अनुभव ‘च च हुई’ मा खन्याएको छु’ केही दिन अगाडिको भेटमा उनले भनिन् ‘मलाई एकै चोटी माथि पुगेर बिस्तारै झर्नु छैन । विस्तारै सिकेर अगाडी बढ्दै जानुछ ।’ फिल्मको बिषयवस्तु राम्रो भएकोले पनि मिरुनाको ‘च च हुई’ प्रति भरोसा रहेको हो । यसमा आफुले पहिलेको फिल्म भन्दा अझै उत्कृस्ट काम गर्ने प्रयास गरेको उनले सुनाइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप