शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपेन्द्रकै सल्लाहमा मन्त्रालय हेरफेर, पार्टीमा अन्योल !

बिहीबार, ०५ मङ्सिर २०७६, १७ : ०२
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीलाई पदच्युतका विषयमा समाजवादी पार्टीभित्र अन्योल देखिएको छ । पछिल्ला घटनाक्रमबारे उक्त पार्टीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक भने गरिसकेको छैन ।
पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव भारतको दिल्लीमा छन् भने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गृह जिल्ला गोरखामा छन् । 

कार्यकारीणी अध्यक्ष स्वदेशमा नभएका बेला भएको उत्तरचढावप्रति सो पार्टीका केही नेता कार्यकर्ताहरुले अध्यक्ष यादव फर्केपछि केही निर्णय हुने आशमा बसेका छन् ।

तर अध्यक्ष उपेन्द्र यादवले आफूनिकट केही नेतालाई मन्त्रालय हेरफेर आफ्नो सल्लाहमै भएको जवाफ दिएको पार्टी स्रोतले जनाएको छ । 

सविधान संशोधन र कानुन निर्माणमा सहयोग पुग्ने गरी कानुन तथा संसदीय मामिला मन्त्रालय नै मागेको र सोही अनुसार पाएको अध्यक्ष यादव निकट नेताहरु बताउँछन् । स्वास्थ्य मन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुन दिल्ली गएका अध्यक्ष यादवले उतैबाट फोन गरेर आफ्ना नेता तथा कार्यकर्तालाई सो कुराको जानकारी गराइसकेका छन् । 

कानुन मन्त्रालयबाट सविधान संशोधनको प्रस्ताव अघि बढाउने र संशोधन गराउने भन्दै अध्यक्ष यादव नेता कार्यकर्ताहरुलाई चित्त बुझाउने प्रयासमा रहेको पार्टी स्रोतले जनाएको छ । यद्यपी  पार्टीका नेता तथा कार्यकर्ताहरुले मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीको पदच्युतबारे प्रधानमन्त्री केपी शर्माले पार्टीमा कुनै छलफल नगरेको बताएका छन् । 

‘मन्त्रालय हेरफेरबारे कुनै सल्लाह भएजस्तो लाग्दैन, यद्यपी अध्यक्ष यादव फर्केपछि पदाधिकारी बैठक बसेर यसबारेमा छलफल हुने नैछ’ उपमहासचिव प्रकाश अधिकारीको भनाई छ । 

अध्यक्ष यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय पुनर्गठन गर्दा भानुभक्त ढकालको जिम्मामा पुगेको छ भने कानुन मनत्रालय यादवको भागमा परेको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई पदच्युत र सचिव इस्तियाक राइनले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नेकपाका रामवीर मानन्धरलाई पठाइएको छ ।

पार्टी प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पनि अध्यक्ष यादवको सल्लाहमा मन्त्रालय हेरफेर भएको भन्नेमा आफूलाई विश्वास नलागेको बताए । उनले भने, ‘अध्यक्ष यादव रातिसम्म फर्किने कार्यक्रम छ, उहाँ फर्केपछि बैठक बसेर निर्णय हुन्छ ।’
सरकारमा रहेर सविधान संशोधन तथा मधेशी, आदिवासी जनजाति, पिछडा वर्गको माग पुरा नहुने भन्दै सविधान संशोधन लगायतका माग पुरा गराउन सरकार छाड्नु उपयुक्त हुने पाण्डेको भनाई छ ।  स्रोतका अनुसार अध्यक्ष यादव दिल्ली जानुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका थिए । मन्त्री हेरफेरको बारेमा उनी दुईजनाको बीचमा सल्लाह पनि भएको थियो । त्यही भएर प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई सरकारबाट हटाउन चाहेपनि अध्यक्ष प्रचण्डको आग्रहमा मन्त्रालय मात्र हेरफेर भएको स्रोतको दावी छ । 

 यसअघि पनि सरकारले प्रदेश प्रमुख परिवर्तन गर्दा पनि पार्टीसँग सल्लाह नगरिएको भन्दै सो पार्टीले असन्तुष्टि जनाएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप