शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारमा नयाँ सुरुवात : नवनियुक्त मन्त्रीलाई  ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई

बिहीबार, ०५ मङ्सिर २०७६, १६ : २३
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरे ।

 बिहीबार बिहान राष्ट्रपति कार्यालयमा सपथ ग्रहण सकेपछि नवनियुक्त मन्त्रीहरु पदवहालीका लागि सिंहदरबारस्थित मन्त्रालयमा आउँदै थिए । मन्त्रीहरुको स्वागतका लागि मन्त्रालयका कर्मचारीहरु हतारमा थिए । उनीहरुले हातमा फूलका गुच्छा, माला र खादा बोकेका थिए । 

जब कृषि तथा पशुपक्षी मन्त्रालयमा नवनियुक्त मन्त्री घनश्याम भुसाल आइपुगे, मन्त्रालय र त्यस अन्तर्गतका विभिन्न विभागका कर्मचारीले आफ्नो परिचयसहित मन्त्रीलाई फूलमालाले स्वागत गरे । 

मन्त्री भुसालले पदबहाली गरेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू डर र लोभको प्रलोभनमा परि काम नगर्ने बताए । 

सोही बेला आइपुगे निवर्तमान कृषिमन्त्री चक्रपाणी खनाल । उनले बधाइ दिँदै हात मिलाए र अंगालो मारे । उनले सफल कार्यकालको लागि शुभकामना दिए भने आफ्नो अग्रजको रुपमा आफूले सल्लाह सुझाव लिने भुसालले बताए । 

भुसालले खनाललाई भने, ‘सफलतको जगमा टेकेर अघि बढ्छु, जे असफलता हुन्छ त्यसमा तपाईँ शिक्षा दिने सिकाउने हो ।’ 

उता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि कर्मचारीहरु मन्त्रीको स्वागतको लागि मन्त्रालय बाहिर बसेका थिए । मन्त्रालयमा एउटा कालो कार आयो कर्मचारी मन्त्री आएको हो कि भनेर सतर्क बने तर कारबाट निवर्तमान मन्त्री रघुवीर महासेठ निस्किए । उनी सरासर मन्त्रालयको बैठक कक्षमा पुगे । त्यहाँ नवनियुक्त मन्त्री र पूर्वमन्त्री बस्ने दुई विशेष कुर्सी राखिएको थियो । एउटा कुर्सीमा गएर महासेठ बसेका थिए ।

 

महासेठ आएको १० मिनेट हाराहारीमा नवनियुक्त मन्त्री वसन्त नेम्वाङ आइपुगे । तर मन्त्रीलाई उनको कार्यकक्षमा पदभार गराउन नलगी कर्मचारीहरुले सिधै मन्त्रालयको हलमा लगे । 

त्यहाँ नयाँ मन्त्रीलाई स्वागत र निवर्तमान मन्त्रीलाई बिदाइ कार्यक्रम गरियो । सो कार्यक्रममा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले नयाँ मन्त्रीलाई स्वागत र पूर्वमन्त्रीलाई विदाई मन्तव्य राखे । पूर्वमन्त्री महासेठले आफ्नो कार्यकालमा सडक विभागले उल्लेखनीय काम गरेको बताए । उनले मन्त्रालयले विभिन्न नयाँ आयोजनाहरुको डीपीआर तयार गरेको बताउँदै नवनियुक्त मन्त्रीले त्यसलाई अगाडि बढाउने आशा राखेको बताउँदै आवश्यक परेका बेला सल्लाह सुझाव दिन तयार रहेको बताए । 

उनले आफ्नो कार्यकालमा सहयोग पु¥याउने कर्मचारीहरुलाई धन्यवाद दिँदै २० महिनासम्म मन्त्रालयको नेतृत्व गर्न दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिए । उनलाई बिदाइ गर्दै मन्त्रालयका सचिवले माला, खादाका साथै मायाको चिनो दिएका थिए । बिदाइ हुँदै गर्दा पूर्वमन्त्री महासेठले ठट्टा गरे–‘के हो मलाइ यो सब गरेर सदाका लागि बिदाइ गर्न लाग्नुभयो कि क्या हो ?’

यता श्रम तथा रोजगार मन्त्रालयमा अघिल्लो दिनमात्र मन्त्रीको हैसियतमा काम गरेका निर्वतमान मन्त्री गोकर्ण बिष्ट नयाँ मन्त्रीको स्वागत तथा बधाई दिनका लागि पुगेका थिए । बिहान ११ बजे मन्त्रालय पुगेका उनले केही समय मन्त्रीको प्रतिक्षा गरे । नवनियुक्त मन्त्री रामेश्वर राय यादव आइपुगेपछि उनले स्वागत तथा बधाइ ज्ञापन गर्दै आफ्नो कार्यकालमा भएका कामहरुको चर्चा गरेका थिए । मन्त्रालयबाट बाहिरिएपछि उनी ट्याक्सी चढेर आफ्नो निवासतर्फ लागेका थिए । 

उता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पनि नवनियुक्त मन्त्री पार्वत गुरुङलाई स्वागत र निर्वमान मन्त्री थममाया थापामगरलाई एकसाथ बिदाइ गरिएको छ । पूर्वमन्त्री थापामगरले मन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छिन् । पदवाहाली गर्दै मन्त्री गुरुङले आफूले महिला हिंसा अन्त्य गर्ने, महिला बालबालिका र जेष्ठ नागरिकको हितमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

यसअघि मन्त्रीमण्डल परिवर्तन हुँदा मन्त्रालयमा पदवहालीकै क्षण पूर्व मन्त्री गएर नवनियुक्त मन्त्रीलाई बधाई दिने चलन थिएन । उसो त एउटै पार्टीबाट मन्त्री परिवर्तन भएका कारण निवर्तमान मन्त्रीहरुले आफ्ना सहकर्मी साथीलाई यसरी स्वागत गरेका हुन सक्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप