बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिषले जब एक छोरीका पितालाई ‘तिम्रो बिहेको लगन २५ वर्षको उमेरमा जुर्छ’ भने...

बिहीबार, ०५ मङ्सिर २०७६, १५ : ३९
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । आफूलाई ‘ज्योतिष’ भन्दै सर्वसाधारणको हस्तरेखा हेरेर पैसा असुल्ने व्यक्तिहरु राजधानीका विभिन्न स्थानमा भेटिने विषय कुनै नौलो होइन । यदि तपाई राजधानीको रत्नपार्क, जमल र सुन्धारालगायत क्षेत्रमा दिउँसो हिँड्नुभएको छ भने यस्ता व्यक्तिहरु अहिले पनि प्रशस्त भेटिन्छन् । 

‘हस्तरेखामार्फत भविष्य पत्ता लगाइदिन्छु’ बताउने एक कथित ‘ज्योतिष’ बाट मङ्गलबार दिउँसो एक युवक ठगिएका छन् । आफू ठगिएको थाहा पाएपछि ती युवकले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिए । 

उजुरी दिएको एक घण्टा नबित्दै प्रहरीले हस्तरेखा हेरेर भविष्य पत्ता लगाइदिन्छु भन्ने १५ ज्योतिषीलाई वीर अस्पताल अगाडिको मुल सडक पेटीबाट पक्राउ गरेको छ । 

पक्राउ परेका ज्योतिषलाई प्रहरीले २ घण्टा थुनामा राखेर छाडिदिएको छ । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार युवकको उजुरीपछि परिसरको टोलीले बुधबार वीर अस्पताल र रत्नपार्क क्षेत्रबाट कथित १५ ज्योतिषीलाई पक्राउ गरिएको हो । 

डीएसपी बोगटीले भने, ‘२ घण्टा हिरासतमा राखेर अब आइन्दा यस्तो काम नगर्ने सर्तमा उनीहरुलाई छाडिएको छ । ठगिएका व्यक्तिको रकम पनि ज्योतिषीबाट फिर्ता गरिएको छ ।’

भविष्य हेर्न खोज्दा पाँच मिनेटमा २ हजार ‘चैट’
मङ्गलबार रामेछापका अन्दाजी ३० वर्षीय ती युवक जमलबाट पैदल हिँड्दै वीर अस्पतालको मुल सडकको पेटी हुँदै सुन्धारतर्फ जाँदै थिए । अचानक अस्पताल अगाडि मुल सडकको पेटीमा बसेका एक व्यक्ति कराए – ‘हस्तरेखा हेरेर भविष्य पत्ता लगाइदिन्छु ।’

ती युवक एकछिन त्यहीँ रोकिए । अनुहार हेरेर भविष्य पत्ता लगाइदिने भनेपछि ती युवकलाई आफ्नो भविष्य हेर्ने रहर चल्यो । ती युवक ज्योतिषबाट आफ्नो भविष्यबारे बुझ्न थाले । 

ती युकवले ज्योतिषलाई हात देखाउँदै भने, ‘गुरु मेरो विगत, वर्तमान र भविष्य पत्ता लगाइदिनुप¥यो ।’ 

ज्योतिष पनि खुसी हुँदै ती युवकको हात समातेर हत्केलाको रेखा हेर्न थाले । केहीबेरसम्म हातको रेखा हेरेका ज्योतिषले भन्न थाले, ‘बाबुले त बाल्यकालमा धेरै दुःख पाएका रहेछौ ।’ 

ज्योतिषको कुरा सुनेर उनले केही सम्झेजस्तो गरे र टाउको हल्लाए । 

सायद, उनले सानो छँदा दुःख पाएको कुरा ज्योतिषले मिलाएको हुनुपर्छ । त्यसैले ज्योतिषले सबै कुरा मिलाउने कुरामा उनी ढुक्क थिए । 
ती युवकले फेरि सोधे, ‘मेरो भविष्यबारे पनि भनिदिनुस् न गुरु ।’

ज्योतिषले उनको हत्केलाको रेखामा आँखा घुमाए । भविष्यबारे भन्न थाले, ‘बाबुको बिहेको लगन २५ वर्षको उमेरमा एकदम राम्रो छ । तिम्रो बिहे एक उच्च घरानाको केटीसँग हुने देखिन्छ ।’ आदि इत्यादी ।

बिहेको कुराले ती युवक जिल्ल परे । किनकि ५ वर्ष अघि बिहे भइसकेका ती युवक एक छोरीकी बाबु थिए । 

बिहेको कुरा गर्नासाथ ती युवकले ज्योतिषको झुट राम्रैसँग बुझे । अरु पनि झुट बोल्छन् कि भनेर उनले कुनै प्रतिक्रिया नदिई पुनः सोधे, ‘अरु पनि बताइदिनुहुन्छ ?’

ज्योतिषी हातको रेखा हेर्दै भन्दै थिए, ‘बरु बाबुले कसैलाई मन पराएका छौ भने मलाई भन, म तिम्रो ग्रहशान्ति गरेर उसलाई तिम्रो बनाइदिन्छु ।’ यति बेलासम्म ती युवकले चारपटक गरेर २ हजार रुपैयाँ ज्योतिषीलाई चढाइसकेका थिए ।  

कथित ज्योतिषले गरेको बिहेको कुराले ती युवक रिसले आगो भए । उल्टै ज्योतिषलाई ती युवकले प्रश्न गर्न थाले, ‘तपाईंले कहिल्यै आफ्नो भविष्य हेर्नुभएको छ ?’ 

ज्योतिषीले लगत्तै जवाफ फर्काए, ‘हामी आफैँले आफ्नो भविष्य हेर्न चाहिँ मिल्दैन बाबु, हामीले अरुको मात्र भविष्य हेर्छौं ।’ 
ती युवकलाई थाहा थियो, ‘ती ज्योतिष झुटमाथि झुट बोल्दै छन् ।’ 

ती युवकले फेरि ज्योतिषीलाई प्रश्न गरे, ‘तपाईंहरुको ज्ञान त अचम्मैको रहेछ । आफैँलाई काम नलाग्ने, यदि आफ्नो पनि भविष्य हेर्न मिलेको भए यसरी बाटोमा धुलो खाएर किन बस्नु पथ्र्यो होला र ?’
युवकको कुराले ज्योतिषी आफैँ जिल्ल परे । सोध्न थाले, ‘के भयो र बाबु ? यसरी किन रिसाउनुभएको ?’

रिसले आगो भएका युवकले ज्योतिषीलाई भने, ‘मेरो पाँच वर्षअघि बिहे भइसकेको छ । मेरी ३ वर्षको छोरी पनि छ । झुटमाथि झुट बोल्नुको पनि एउटा हद हुन्छ नि ।’

२ हजार फिर्ता नदिँदा प्रहरीमा उजुरी
भविष्य हेर्ने ज्योतिषीले झुट बोलेको प्रष्ट भएपछि ती युवकले २ हजार रुपैयाँ फिर्ता मागे । हातको रेखा हेरेर केही कुरा नमिले पनि धेरै कुरा मिलेको भन्दै ज्योतिषले पैसा फिर्ता नदिने अडान राखे । 

पैसा नदिने भनेपछि ती युवक त्यहाँबाट हिँडे । बुधबार दिउँसो २ बजेतिर काठमाडौँ प्रहरीको कार्यालयमा पुगे । आफू ठगिएको भन्दै ‘ ज्योतिष’ विरुद्ध जाहेरी दिए । 

रत्नपार्क र वीर अस्पताल क्षेत्रमा दिनहुँ सयौँ मानिस यस्ता ज्योतिषीबाट ठगिएको पत्तै हुँदैन । झुट र कपोलकल्पित कुरालाई सत्य भन्दै सर्वसाधारणलाई ठगेर पैसा कमाउने नक्कली ज्योतिषीको संख्या राजधानीमा उल्लेख्य छ ।

ती युवकको हस्तरेखा हेरेर भविष्यवाणी गर्ने व्यक्तिको घर सिन्धुपाल्चोक रहेको प्रहरीको भनाइ छ । यद्यपी उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप