शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पैसा लिएर एजेन्ट फरार, १४ युवा अलपत्र

बिहीबार, ०५ मङ्सिर २०७६, १३ : २७
बिहीबार, ०५ मङ्सिर २०७६

बुटवल । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै १४ जना युवासँग लाखौं रुपैयाँ र पासपोर्ट संकलन गरेर काठमाडौँबाट एक एजेन्ट फरार भएका छन्।  काठमाडौँको गैरीधारामा रहेको भेरी एण्ड कर्णाली इन्टरनेशनलको एजेन्ट बताउने प्युठान स्थायी ठेगाना भएका सुरेशमान राजभण्डारी १४ जनाको रकम र पासपोर्ट लिएर सम्पर्कविहीन भएका हुन् । उनले सोही कम्पनीबाट १४ जना युवालाई दुबईको राम्रो कम्पनीमा जागिरका लागि पठाइदिने भन्दै ६ लाख ६० हजार रुपैयाँ लिएको पीडितको भनाइ छ ।

जेठ महिनामा पैसा र पासपोर्ट बुझाएका युवाहरु अहिले राजभण्डारी फरार भएपछि अलपत्र परेका छन् । भण्डारीले ठगी गरेको भन्दै काठमाडौँ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिइएको ठगिने मध्येका एक अर्घाखाँचीको शितगंगा गाउँपालिका, ढाकावाङ्गका २२ वर्षीय मिलन भुषालले रातोपाटीलाई बताए । उनका अनुसार कार्तिक २९गते महाराजगञ्ज प्रहरी र मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिइएको छ । 

यसरी ठगिनेमा अर्घाखाँचीका तिलक खनाल र मिलन भुषाल,सिन्धुपाल्चोकका सुजन पौड्याल,रामेछापका पूर्णबहादुर तामाङ, सोमबहादुर तामाङ, लोर्कल तामाङ, अभिषेक तामाङ, निरबहादुर तामाङ, दिपक तामाङ, किसान तामाङ, खल्बु तामाङ, भीमबहादुर तामाङ, टिकाराम तामाङ ,नविन कुमार तामाङ छन् । ती युवाहरुमध्ये १२ जनाले ५० हजार दरले र २ जनाले ३० हजारका दरले राजभण्डारीलाई रकम बुझाएका हुन् ।

पौड्यालले पीडित युवाको सामुहिक नेतृत्व गर्दै प्रहरी र प्रशासनमा उजुरी दिएका हुन् । उनले आफुहरुलाई राजभण्डारीले विचल्लीमा पारेकोले प्रहरी प्रशासनमा न्यायका लागि गुहार मागेको रातोपाटीलाई बताए ।   जेठ महिना यता राजभण्डारी भेरी एण्ड कर्णाली इन्टरनेशनलको कार्यालय धुम्वाराहीको सम्पर्कमा पनि छैनन् ।

इन्टरनेशनलकी सञ्चालिका कल्पना रावतले भनिन्, ‘मेरो कम्पनीको नाम बेचेर पैसा लिएको भन्दै म कहाँ पनि गुनासो आएको थियो । तर उनी मेरो कम्पनीका सम्बन्धित व्यक्ति होइनन् ।जेठ महिनासम्म कार्यालयमा आउने–जाने गर्दथे । त्यसपछि सम्पर्कविहीन छन् ।’

उनले प्युठान या दाङतिरबाट पछिल्लो पटक आफूलाई ‘ल्यान्ड लाईन’ बाट फोन गरेको कल्पनाले रातोपाटीलाई बताइन् । राजभण्डारीले प्रयोग गर्ने दुईवटा मोबाईल हिजोआज ‘अफ’ छन् । पैसा र पासपोर्ट बुझाएका युवाहरु केही गाउँतिर फर्केका छन् भने केही काठमाडौँमै बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप