बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

बिहीबार, ०५ मङ्सिर २०७६, १० : २७
बिहीबार, ०५ मङ्सिर २०७६

पाल्पा । स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ ।

नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५÷७६ मा ३७१ महिला विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पूर्ण संस्थागत सुत्केरी घोषणा बनाउन सहज भएको हो । सो अवधिमा युनाइटेड मिसन अस्पतालमा १८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा ११४ र जिल्ला अस्पतालमा तीन प्रसूति हुन आएका थिए ।

यसैगरी सो अवधिमा तानसेन नगरपालिकाको मदनपोखरा स्वास्थ्यचौकीमा नौ, गाउँपालिकाभित्रको चापपानी स्वास्थ्यचौकीमा २१, खानीछाप स्वास्थ्यचौकीमा ११, नायरनमतलेस स्वास्थ्यचौकीमा सात, अन्य जिल्ला तथा विदेशमा २६ जना गरी ३७१ संस्थागत सुत्केरी भएको उल्लेख छ ।
     
एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ । त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।  

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताइन् । उनले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताइन् ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि गाउँपालिका निरन्तर वडादेखि कार्यक्रम सञ्चालन गर्दै आएकाले अहिले सफल बनेको बताए । गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएका छन् । चापपानी स्वास्थ्यचौकी, नायरनमतलेस स्वास्थ्यचौकी र खानीछाप स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएपछि सुत्केरी महिलालाई राहत मिलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप