केन्द्रीय संस्करण
प्रेरणा

शिक्षाको ज्योति छर्दै दुर्गा

विरोध गर्ने परिवारकै सदस्य आजभोलि प्रशंसक बनेका छन्

person explore access_timeमंसिर ५, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

अशिक्षित महिलासम्म शिक्षाको पहुँच पु-याउनुपर्छ भन्ने अभियानमा लागेकी छिन्, दुर्गा थापा । घर–व्यवहार सम्हालेर बसेका महिला पनि शिक्षित बनुन्, केही नभए पनि सामान्य लेखपढ गर्न सक्ने होउन् भन्ने अभिप्रायले उनी सो अभियानमा लागेकी हुन् ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकामा एउटा सामान्य परिवारमा जन्मिएकी दुर्गाले बाल्यकालमा आफ्नो उमेरका कतिपय केटीसाथी घरायसी काममा सीमित रहँदा पनि पढ्ने मौका पाइन् । आफूसरहका केटीहरु घरदैलोमा सीमित भएको देखेर विद्यार्थी जीवनमै उनले ‘छोरीलाई स्कुल पठाउनु पर्छ’ भन्दै विभिन्न कार्यक्रममा सहभागी भएर जनचेनता फैलाउने कामसमेत गरिन् । उनलाई त्यसबेला गाउँलेले ‘छोरीलाई स्कुल पठाएर काम छैन, अरुको घरमा जानेले पढेर काम छैन’ भन्थे । उनको परिवारमा भने पढाइ सकेर राम्रो जागिरमा लागोस् अनि घरजम गरेर व्यवस्थित तरिकाले अगाडि बढोस् भन्ने थियो ।

माध्यामिक शिक्षा सकेर उच्चशिक्षा हासिल गर्न काठमाडौँ आएकी दुर्गा पढाइ सकेसँगै जागिरमा मात्रै सीमित नभएर समाजका लागि केही गर्नुपर्छ भन्ने सोचमा थिइन् । काठमाडौँ उपत्यकामा जताततै बोर्डिङ स्कुल र क्याम्पस देख्दा अनि चिटिक्क परेर निजी सवारीमा हिँड्ने मान्छे देख्दा दुर्गालाई लाग्थ्यो– यहाँ त सबैजना शिक्षित र सचेत छन् ।

तर वास्तविकता उनले सोचेभन्दा निकै फरक रहेछ । पछि बुझ्दै जाँदा हुनेखाने भनिएका कतिपय परिवारमा पनि धेरै महिला शिक्षाको उज्यालोबाट बञ्चित भएको उनले पाइन् । त्यस्तै, साक्षर नभएको कारण सामाजिक, आर्थिकरुपमा विविध समस्याबाट घेरिएका मध्यवर्गीय र न्यून आर्थिक अवस्थाका महिलालाई पनि उनले देखिन् ।

पढ्नलेख्न नजानेकै कारण घरपरिवारले हेला गर्नुका साथै आर्थिकरुपमा चेपुवामा पारेर शारीरिक तथा मानसिक रुपमा दुःख दिएको धेरै घटनाहरु थाहा पाएपछि गाउँका मात्र नभई शहरका महिलाका लागि पनि केही गर्नुपर्छ भन्ने सोचका साथ उनले २०६४ सालमा प्रगति नेपाल संस्था स्थापना गरिन् । काठमाडौँमा स्थापित सो संस्थामार्फत उनले प्रौढ महिलालाई पढाउन सुरु गरिन् । प्रौढशिक्षा पढ्नका लागि त्यतिबेला बानेश्वर, मैतीदेवी, अनामनगर क्षेत्रका मात्रै महिला आउँदा पनि १ सय ७५ जना पुगे । त्यसपछि भद्र घले पाहुना घरको १० वटा कोठामा ११ जना शिक्षक राखेर उनले कक्षा सञ्चान गरिन् ।

‘त्यसक्रममा धनी, शिक्षित परिवारका महिला निरक्षर भएकै कारण सम्पत्तिको नाममा धेरै ठगिएको बताउँथे,’ त्यतिबेलाको अवस्था स्मरण गर्दै उनले भनिन्, ‘अफिस जाने, व्यापार–व्यवसाय गर्ने श्रीमान्ले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफूलाई हेप्ने गरेको सुनाउँथे ।’

प्रौढ कक्षा पढ्न आउने महिला आफ्नो नाम लेख्न सक्ने, अङ्क चिन्न सक्ने र होर्डिङबोर्ड पढ्न सक्ने भएपछि उनीहरुको आत्मविश्वास बढेको देख्दा उनमा खुसीमा सीमा नै रहेन । यसबाहेक स्वास्थ्य शिक्षासम्बन्धी जनचेतना फैलाउनका लागि अन्य संघसंस्था तथा समूहसँग सहकार्य गरेर उनी जिल्ला–जिल्लामा जानु पर्दा उनको परिवारलाई भने चिन्ताको विषय बन्यो । भरपर्दो जागिर खाएर विवाह गर्नु पर्छ, उमेर ढल्किएपछि समस्या हुन्छ भन्दै उनलाई परिवारले बेलाबेलामा विवाह र जागिरका लागि दबाब दिन्थे ।

उनको काम गर्ने शैलीलाई घरपरिवारले धेरै लामो समयसम्म विरोध गरे । आजभोलि भने विरोधको साटो सदभावले हेर्न थालेको उनले बताइन् । सुर्य, चन्द्र र सत्य लामो समयसम्म लुकेर बस्न सक्दैन भने झैँ दुर्गाको काममा पनि अनेकथरि बाधा पु¥याउने, विरोध गर्ने परिवार आजभोलि प्रशंसक बनेका छन् ।

प्रौढ कक्षा पढ्न आउने २० वर्ष कटेका ६० वर्ष नपुगेका महिलाका लागि औपचारिक रुपमा अध्ययन गर्न भद्र घले नेत्र वैकल्पिक महिला विद्यालय सञ्चालन गरेको उनले बताइन् । उनका अनुसार सांसद, वकिल, सचिव, उपसचिव, व्यवसायीका श्रीमतीसमेत प्रौढ शिक्षा पढ्न आउँछन् । ‘यसरी स्कुल पढ्न आउने गृहिणी घरपरिवार र समाजलाई ढाँटेर आउन बाध्य छन्,’ उनले भनिन्, ‘शिक्षित परिवारका सदस्य तथा श्रीमानले बुढेसकालमा पढेर केही हुँदैन भनेर स्कुल आउन नदिदाँ केही महिला अन्त जान्छु भनेर झुट बोल्दै यहाँ पढ्न आउँछन् ।’


भद्र घले नेत्र वैकल्पिक महिला विद्यालयमा कखराबाट अध्ययन सुरु गरेका महिला पद्मोदय स्कुलबाट कक्षा १२ पास गरेको समेत उनले सुनाइन् । पढ्न–लेख्न नजान्नेहरु आएर नेपाली पढ्न सक्ने, समान्य हिसाब गर्न सक्ने र सामान्य अंग्रेजी पनि बुझ्ने र लेख्ने हुँदा दुर्गालाई आफू सफल भएको अनुभूति हुन्छ ।

‘जस्तोसूकै परिस्थितिमा महिलाले मिठो–मसिनो पकाएर, खुवाएर श्रीमान्, छोराछोरी र नातिनातिनालाई दैनिकजसो कार्यालय, स्कुल तथा अन्य पेशा–व्यसायमा पठाउने गर्छन्,’ उनले भनिन्, ‘तर प्रौढ कक्षामा कतिपय गृहिणीहरु नियमित आउन पाउँदैनन्, शिक्षित श्रीमानले निरक्षर श्रीमतीलाई स्कुल नपठाए पनि साक्षरसम्म बनाउनुपर्छ ।’

सुरु सुरुमा जोस जागरका साथ प्रौढ शिक्षाका लागि आउने मध्यम वर्गीय परिवारका महिलाहरु नाम लेख्नसक्ने, बोर्डहरुमा लेखिएको कुरा पढ्न सक्ने र मोवाइल चलाउन सक्ने भएपछि आर्थिक समस्याका कारण स्कुल छोड्ने गरेको उनले बताइन् । शिक्षाबाट बञ्चित गरिएन भने शहरिया तथा गाउँका महिला परिवारको दबाब र अनि अभावमा बस्नु पर्दैन भन्ने उनको भनाइ छ । माध्यमिक तहसम्मको कक्षा सञ्चालन गर्ने अनुमति लिए पनि आर्थिक अभावको कारण कक्षा पाँचसम्म पढाउन बाध्य भएको उनले बताइन् । ‘प्रत्येक महिना शिक्षकलाई समेत तलब दिन समस्या हुन्छ,’ उनले भनिन् ।

उज्यालो शहरमा शिक्षा नपाएर अँध्यारोमा बस्न बाध्य महिलालाई साक्षर बनाउने काममा जति अप्ठारो आए पनि अगाडि बढ्ने उनले बताइन् । पहुँचका आधारमा महानगरपालिका र सरकारले सरकारी तथा गैरसरकारी संघसंस्थालाई आर्थिक तथा भौतिक सामग्री सहयोग गर्ने धेरै छन् तर कुन संस्थाले कस्तो काम ग¥यो भनेर मूल्याङ्कन गरेर सहयोग गर्ने चलन नभएको उनले गुनासो गरिन् ।

आफूले स्वास्थ्य, शिक्षा र ज्येष्ठ नागरिकको सम्मान लगायतका क्षेत्रमा काम गरेर चर्चा परिचर्चा बटुलिरहदा उनको परिवार भने अहिले खुसी भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पास गरेसँगै विवाह गर्न दबाब दिने परिवार दुर्गाको काम देखेर दङ्ग पर्दै राम्रोसँग काम गर्न सुझाव दिने गरेको उनले बताइन् ।

आजभोलि गाउँगाउँमा ३० वर्षभन्दा कम उमेर समूहका महिला निरक्षर कम होलान् तर काठमाडौं उपत्यकामा त्यस्ता महिला धेरै भएको उनले बताइन् । अन्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था धेरै भए पनि निरक्षर महिलालाई साक्षर बनाउने तथा पढाउने संस्था कम भएको उनको भनाइ छ ।

‘कुनै विदेशी संघसंस्थाले अवार्ड दियो भनेमात्रै नेपालीले त्यो संस्था राम्रो भन्छन्,’ उनले भनिन्, ‘नभए राम्रो नजरले हेरिदैन ।’ जुन निकायमा सहयोग माग्न पुगे पनि चिनेजानेको आधारमा मात्रै सहयोग गर्ने परम्पराजस्तो भएको उनको भनाइ छ । व्यवसायी, वकिल, शहरका धनीमानीकै आमाबुवा पीडित रहेको जिकिर गर्दै उनले काठमाडौं उपत्यकाका ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम आयोजना गर्ने गरेको बताइन् । शहरको तुलनामा गाउँका बृद्धबृद्धा आनन्द र सुखले बसेको उनको भनाइ छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...