शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन : चुनावी सरगर्मी बढ्दै

बुधबार, ०४ मङ्सिर २०७६, १९ : ४०
बुधबार, ०४ मङ्सिर २०७६

पर्सा । मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाध्यक्ष पदको उपनिर्वाचनको सरगर्मी बढ्दै गएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलले आचारसंहिताको पालना गर्न गराउन कडाइ गरेको छ । 

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दिएका दललाई चुनाव चिह्न प्रदान गरेपछि आचारसंहिता पालना गर्न दलले बिजुलीको पोलमा राखेको तुल, ब्यानर हटाएर आचारसंहिताको पालना गराएको जिल्ला निर्वाचन कार्यालय पर्साका निर्वाचन अधिकृत रञ्जीता झाले राससलाई बताए । 

मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलको अध्यक्षतामा बसेको उपनिर्वाचन आचारसंहिता अनुगमन कमिटीको बैठकले बिजुलीको पोलमा प्रचारप्रसारका लागि राखिएको तुल, झण्डालगायतका प्रचार सामग्री हटाउने गरेका छन् भने उम्मेदवार तथा दलले आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएको सदस्य सचिव झाले बताए । 

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निर्वाचनका बेला शान्तिसुरक्षाको पूर्णप्रत्याभूति हुने भएकाले मतदाताले ढुक्क भएर मतदान गर्न सबैसँग आग्रह गरे । 

उम्मेदवारले चुनाव चिह्न पाएपछि अहिले उपनिर्वाचनको चुनावी गतिविधि बढ्दै गएको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कसिटी र टोल कमिटी गठन गरी चुनावी गतिविधिलाई अगाडि बढाएको स्थानीयवासी कन्हैयाप्रसाद साहले बताए ।

टोलटोलमा बिहानदेखि रातिसम्म उम्मेदवारले मतदातालाई आफूतिर तान्न विभिन्न उम्मेदरवारले भेला, बैठक, छलफललगायतका कार्यक्रम गरिरहेका छन् । 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष वृजमोहन राय यादवको मृत्युपश्चात् सखुवाप्रसौनी गाउँपालिका– ५ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको छ । 

उपनिर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउन समाजवादी पार्टीले रुपलाल यादवलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने सतारुढ दल नेकपाले उदयशङ्करप्रसाद रौनियारलाई, मुख्य प्रतिपक्षी दल नेपाली काङ्गे्रसले अशेश्वरप्रसाद यादवलाई, राप्रपाले सदरी महरा रामलाई अघि सारेको छ भने गोपालप्रसाद कानुले स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् ।

 खासगरी नेकपा, काँग्रेस र समाजवादी पार्टीको उम्मेदवारबीचमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको स्थानीयवासी जैकी रौनियारको भनाइ छ ।

सो गाउँपालिकामा समाजवादी पार्टीका अध्यक्ष प्रदीप जैसवाल रहेकाले पनि समाजवादी पार्टीका लागि यो चुनाव जित्न प्रतिष्ठाको विषय बनेको छ भने अर्कोतिर मृतक वडाध्यक्ष समाजवादी पार्टीकै भएकाले उहाँका लागि जितलाई महत्वका साथ हेरिएको छ । 

उपनिर्वाचनमा हुने साम, दाम दण्डभेदमा उत्रिनसक्ने सम्भावना बढिरहेकाले पनि उम्मेदवारबीच हुने प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत हुने सम्भावना बढी भएकाले यसप्रति निर्वाचन आयोग सचेत र सजग हुनुपर्ने स्थानीयवासी नगिनाप्रसाद यादवको भनाइ छ ।

महुवन, बलुवा र सोलकपुर गरी तीन वटा गाउँ सखुवाप्रसौनी–५ मा पर्ने गरेको र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन वटा रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सखुवाप्रसौनी गाउँपालिका–५ को वडाध्यक्षको उपनिर्वाचनमा उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवारमध्ये कसैलाई आफ्नै साख जोगाउने चिन्ता छ भने कसैलाई थप उपलब्धिको रुपमा जित्ने विश्वास लिएको देखिन्छ । 

स्थानीय वडावासीका लागि भने वडाको विकास प्राथमिकतामा परेको देखिन्छ । अहिले त्यहाँ नेकपा, नेपाली काङ्गे्रस तथा समाजवादी पार्टीका उम्मेदवारले आफूहरुले जित्ने दाबी गर्दै आइरहेका छन् । 

गाउँमा धान काटने र भित्र्याउने चटारोकाबीच अहिले पर्सागढी गाउँपालिका–५ मा चुनावी महोल तातेको छ । दैनिकरुपमा हुने उम्मेदवारको घर दैलोको कारण चुनावी सरगर्मी बढेर गएको छ । 

मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याका रुपमा लिएको छ भने उम्मेदवारले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन् ।

वडाको विकास गर्ने, बाटोघाटो, स्वास्थ्य सेवा र गरीबी प्रमुख समस्या रहेकाले उक्त समस्या समाधान गर्ने उम्मेदवार नै आफूहरुको प्राथमिकतामा रहेको मतदाताको भनाइ छ । 

सबै उम्मेदवारले आफू नै जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मङ्सिर १४ गतेको उपनिर्वाचनलाई कुरिरहेका छन् । वडाध्यक्षका लागि पाँच जना उम्मेदवार रहेको यस वडामा दुई हजार ६०२ मतदाता रहेका छन् ।  
–––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप