बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एडीबीको समीक्षा बैठकः परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप भएन

बुधबार, ०४ मङ्सिर २०७६, १२ : ३७
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । 

बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षामा एशियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् । 

 समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्नतर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे । 
 सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए । 

परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए । एडीबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एशियाली विकास बैकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबिले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतिहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए । 

सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिए । 

एडीबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ । एडिबिले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप