बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची कार दुर्घटनाले चुँडेको सपनाः सैनिक बन्न हिँडेका विनोद अस्पतालको शैयामा

बुधबार, ०४ मङ्सिर २०७६, १२ : २०
बुधबार, ०४ मङ्सिर २०७६

बुटवल । घरमा चरम गरिबी, श्रीमान्, जीवितै भएर पनि बेसहारा एउटी महिलाको जीवनमा चोटमाथि चोट । भारतमा रहेका श्रीमानले वर्षौंदेखि बेवास्ता गरेपछि तीन सन्तानको पालन पोषणको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई दैवले पनि न्याय गर्न सकेन ।

अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर ८, पालीगाउँस्थित घर भएकी ४० वर्षीया मेनुका खड्का जीविकोपार्जनको उपाय नभएपछि गुल्मीको चारपाला, भलाचौरस्थित माइतीको सहारामा बसेकी थिइन् ।

श्रीमान मिनबहादुर खड्काले परिवारको हेरविचार गर्न छाडे पनि उनले हरेस नखाई जसोतसो माइती घरमै बसेर निमेक मजदुरी गर्दै दुई छोरा र एक छोरीलाई पढाउँदै आएकी थिइन् । त्यही क्रममा एक दिन एउटा खुशीको खबर लिएर आए उनका १९ वर्षीय छोरा विनोद खड्का ।

विनोद भारतीय सेनाले खोलेको भर्ती केन्द्र, देहरादुनमा आफु छनौट भएको खबर लिएर घर फर्किएका थिए । छोरा भारतीय सेनामा छनौट भएको खबरले आफ्नो जीन्दगीमा दुःखको घडी सकिएको महसुस गर्दै थिइन् मेनुका ।

भर्ना छनौटको सबै मापदण्डमा उत्तीर्ण भएका विनोदलाई अब गृह जिल्ला अर्घाखाँचीबाट प्रहरीको चारीत्रिक प्रमाणपत्रको मात्रै आवश्यकता थियो । त्यही बेला उनका कान्छाबाबु (काका) ४३ वर्षीय मनोज खड्काले पाली गाउँमा रहेको पुख्र्यौली सम्पत्ति बिक्री गरी नामसारीका लागि सन्धीखर्क आउनुपर्ने भयो ।

त्यसैले विनोद ७२ वर्षीया हजुरआमा गंगादेवी, ४७ वर्षीय माइँला बुवा गंगाबहादुर, ४६ वर्षीय साइँला बुवा तिलक, ४३ वर्षीय कान्छा बुवा मनोजसँगै एकै परिवारका ५ जना बा १६ च ६९१७ नम्वरको कार चढेर  रुपन्देही, सैनामैना नगरपालिकाको मुर्गियाबाट कार्तिक २० गते बिहानै सन्धिखर्कतर्फ लागेका थिए ।

नरपानीबाट ३ सय मिटर अगाडि पुगेपछि एक्कासी कार सडकबाट झण्डै दुई सय मिटर तल खस्यो । यसले विनोदसहित खड्का परिवारको सपना चकानाचुर हुन पुग्यो ।

दुर्घटनामा परि विनोद गम्भीर घाइते भए । गाडी चालक उनका माइँला बुवा गङ्गाबहादुर पनि घाइते भए । तर हजुरआमा गङ्गादेवी, साइँला बुवा तिलकबहादुर र कान्छा बुवा मनोज खड्कासहित एकै परिवारका तीन जनाको घटनास्थलमै ज्यान गयो ।

मृत्यु भएका एकै परिवारका तीन जनाको लहरै शव राखेर अन्त्येष्टि गरिएको दृष्य दर्दनाक थियो । त्यहाँ कसले कसलाई सम्झाउने ? मलामी जाने सबैको आँखा रसाएका थिए ।

विनोदको अवस्था चिन्ताजनक भएकाले अर्को पिरालो एकातिर थियो । गंगाबहादुर सामान्य घाइते भएकाले डिस्चार्ज पश्चात आमाको काजकिरिया समेत गर्न सक्ने भए । तर भतिजा विनोदको मेरुदण्ड नै भाँचिएको, टाउको र शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेकोले अवस्था अहिलेसम्म गम्भीर छ ।

हाल बुटवलको तिलोत्तमा इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेका  उनको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । छोरा कहिले पूर्ण रुपमा निको होला भन्ने पिरलो एकातिर छँदैछ भने उपचार खर्चमा लागेको यत्रो ऋण कसरी तिर्ने हो र बाँकी खर्च कसरी जुटाउने हो भन्ने चिन्तामा मेनुका खड्का जेलिएकी छन् ।

छोरा अस्पतालमा, बाबु किरियामा 

आमा र दुई भाइको दुर्घटनामा मृत्यु भएपछि वर्षौँदेखि भारतमा रहेका मीनबहादुर खड्कालाई घर झिकाइयो । उनी काज किरियामा बसेर उम्किएका छन् । मेनुका भन्छिन्, ‘पति घर आएको यतिका दिनसम्म पनि हाम्रो बोलचाल छैन । म अस्पतालमा छोरा कुरेर बसेकी छु, अहिलेसम्म छोराको अवस्था बुझ्न पनि आउनु भएको छैन ।’

उनका अनुसार मिनबहादुर ७–८ वर्षमा बल्ल घरमा आएका हुन् । उनले घरको हेरबिचार नगरेको पनि सात–आठ बर्ष नै भयो । छोरा विनोद चारपाला हटियाको ईश्वरी माध्यामिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरि  भारतीय सेनामा भर्ती हुनका लागि भन्दै तालिम गर्न बुटवलमा बस्दै आएका थिए ।

एउटी छोरीले कक्षा ११ र कान्छो छोरा कक्षा ५ मा पढ्दै गरेको बताइएको छ । ‘एक्लैले दुःख मजदुरी गरेर तीन सन्तानलाई यहाँ सम्म पढाएँ, अब छोरा भर्ती हुने भयो, सुखका दिन आउने भए भन्ने खुशी पलाएको थियो,’ उनले भनिन्, ‘अहिले यस्तो भइदियो । ऋणधन गरेर यतिसम्म खर्च गरेँ, अब मेरो उपाय केहि नभएकोले मेरो छोरालाई बचाइदिन सबैसँग सहयोगको अपिल गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप