बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चालकलाई नियन्त्रणमा लिएर तेलसहितको ट्याङ्कर चोरी

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ४१
मङ्गलबार, ०३ मङ्सिर २०७६

सिरहा  । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको सोमबार राती सिरहाको लहानबाट डिजेलसहितको ट्याङ्कर चोरी भएको छ । २० किलोलिटर डिजेल लिएर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिराहाको लहानबाट राति १२ बजे हराएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अमलेखगन्ज डिपोबाट ल्याइरहेको डिजेल सहितको ट्याङ्कर लहान हुलाक कार्यालय अगाडी रोकी आराम राखेको अवस्थामा टाटा सुमोमा आएका अपरिचित व्यक्तिहरुको समूहले चालक र सहचालकलाई नियन्त्रणमा लिई ट्याङ्कर लगेको नेपाल ट्याङ्कर व्यवसायी महासंघका केन्द्रिय सदस्य रामसगुन यादवले जानकारी दिए ।

विराटनगर–४ का चालक रामदेव यादव र सह–चालक करिव १९ वर्षिय उमेश यादवलाई बर्दिवासको जङ्गलमा छोडेको उनले जनाए । उनलेभने, ‘चालक र सहचालक भेटिसकिएको छ, प्रहरीले बाँकी अनुसन्धानको काम गरिरहेको छ ।’ प्रहरीले पनि खोजी रहेको र महासंघले पनि खोजीकार्य जारी राखेको यादवले जनाए ।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उपाप्रसाद चतुर्वेदीले ट्याङ्कर हराएकोले त्यसको खोजी र अनुसन्धान भइरहेको जनाए । उनले सबैकुरा अहिले नै बताउन सक्ने अवस्था नरहेको भन्दै अनुसन्धान भइरहेको सम्ममात्र भन्न सकिने जनाए ।

ट्याङ्कर सिरहा धनगढीमाई नपा–४ का उग्रचण्डि पेट्रोल पम्पका चालक राजेश गुप्ताको रहेको बताइको छ ।

अहिले नेपालको तुलनामा भारतीय बजारमा डिजेल–पेट्रोलको मूल्य बढी भएकाले त्यता लगेर बेच्ने प्रकृया बढेको बन्दै यो पनि त्यसै लगेर बेचेको अनुमान छ ।

नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप