शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निजी क्षेत्रका अपेक्षा पाँच वर्षमा पूरा हुन्छन् : प्रचण्ड

मङ्गलबार, ०३ मङ्सिर २०७६, १७ : १७
मङ्गलबार, ०३ मङ्सिर २०७६

बुटवल ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रले राखेका अपेक्षाहरु सरकारले अझै पूरा गर्न नसकेको बताएका छन् ।

उद्योग व्यापार संगठन रूपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निजी क्षेत्रसँग सहकार्य गर्ने, प्रोत्साहित गर्ने र त्यसको निम्ति आवश्यक ऐन, कानुन बनाउने दिशामा उल्लेख्य काम हुन नसकेको बताए । तर यसका लागि अझै समय रहेको भन्दै उनले धैर्य गर्न आग्रह समेत गरे ।

उनले भने, ‘केही ढिलो पक्कै भयो तर नेपाली उद्योगी, व्यापारीहरुले जे अपेक्षा गरेका छन्, त्यो अब ५ वर्ष भित्रमा पुरा गर्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले देशभित्र लगानीको वातावरण नभएर विदेशतिर जाने अवस्था निकै दु.खद भएको भन्दै अहिले नेपालमा जहाँ समस्या छन्, त्यहाँ छलफल गरेर विकासका काम गर्ने अवस्था रहेको उल्लेख गरे । उनले लगानीकर्ताहरुलाई अब नेपालमा लगानी गर्ने अवसर रहेको भन्दै त्यो नगुमाउन आग्रहसमेत गरे । उनले तिव्र आर्थिक विकासको निम्ति आफुले अझै योगदान गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष दाहालले प्रदेश ५ को राजधानी सबैलाई सहज हुने ठाउँमा राख्ने बताए । शहर भएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् । ‘अहिले त्यो विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘पक्कै पनि जनताको बीचमा जिज्ञासा छन्, प्रश्न छन् । बाँके–बर्दिया गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि, दाङमा जाँदा पनि बोलेँ, अहिले पनि बोल्छु– सबैलाई सबैभन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ ।’ 

प्रदेश ५ को अस्थायी राजधानी अहिले रुपन्देहीको बुटवलमा छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रदेश सभाले राजधानी र प्रदेशको नाम टुंग्याउन सकेको छैन ।

कार्यक्रममा नेकपा नेता घनश्याम भुषाल, प्रदेशसभा सदस्य दधिराम न्यौपाने  लागायतले उद्योग–व्यापारमा निजी क्षेत्रसँग तीनै तहका सरकारले हातोमालो गरेर काम गनुपर्ने बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप