शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले गरे राजपालाई सरकारको ‘अफर’

मङ्गलबार, ०३ मङ्सिर २०७६, १६ : ५७
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । चर्को आन्तरिक दबाबका बीच समाजवादी पार्टीले सरकारबारे निर्णय नलिनुको र राष्ट्रिय जनता पार्टी (नेपाल) सँगको एकताबारे ठोस निर्णय नलिनुको कारणको खुलासा भएको छ । 

एकीकरणका लागि सरकार छाड्न दबाब दिइरहेको राजपा नेपाल र प्रधानमन्त्रीबीच सरकारमा सहभागी हुने बारे छलफल चलेको सूचना समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसम्म पुगेपछि पार्टीले तत्काल सरकार छाड्ने निर्णय नलिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका नेतालाई पटक–पटक सरकारमा आउन आग्रह गरेको खुलेको छ । आफू निकटस्त नेताहरुलाई पठाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सो दलका नेताहरुलाई ‘सरकारमा आउन तयार भए समाजवादी पार्टीलाई सरकारबाट ‘आउट’ गर्ने राजपा नेपाललाई ‘इन’ गर्नेछौं’ भनेर अफर गरेका थिए । 

त्यतिमात्र होइन, प्रदेश २ को सरकारबाट पनि समाजवादी पार्टीलाई हटाएर राजपा र नेकपा गठबन्धनमा सरकार बनाउने प्रस्ताव पनि प्रधानमन्त्री ओलीको दूत बनेर पुगेका नेताले गरेका थिए ।

तर यो कुरा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कानसम्म पुग्यो । त्यही भएर यादवले तत्काल सरकार नछाड्ने निर्णय लिए ।

प्रधानमन्त्री अ‍ोलीले राजपा नेपाललाई सरकारमा ल्याउन चाहेको कुरा उपेन्द्र यादवले मात्र होइन यो कुरा पार्टीका अन्य नेताहरुले समेत बैठकमा समेत उठाएका थिए । समाजवादी पार्टी संघीय परिषद र केन्द्रीय समितिको बैठकमा बोल्ने केही नेताहरुले सरकारबाट बाहिरिने विषयमा राजपा नेपालमाथि आशंका व्यक्त गरेका थिए ।

राजपा नेपालले समाजवादी पार्टीलाई सरकारबाट निकालेर आफू जाने तयारीमा रहेका जस्ता कुरा बैठकमा उठेको थियो । त्यसले गर्दा पार्टीका अध्यक्ष उपेन्द्र यादव थप झस्किएका थिए । पार्टीका केन्द्रीय सदस्य जयराम यादव भन्छन्, ‘प्रधानमन्त्रीजीले राजपा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको नगरेको कुरा मलाई केही थाहा छैन तर समाजवादी पार्टीले सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी हुने आशंका चारैतिर छ ।’ 

यता, राजपा नेपालका प्रवक्ता एवम् महासचिव केशव झाले भने, ‘हो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुनका लागि राजपा नेपाललाई पटक–पटक आग्रह गर्नुभएको छ । तर राजपा नेपाल तयार भएको छैन ।’ दुई महिना अगाडि समेत प्रधानमन्त्री ओलीका मान्छेहरुले विभिन्न स्रोतबाट नेताहरुसँग सम्पर्क गरि सरकारमा सहभागिताका लागि आग्रह गरेको तर आफूहरुले सिधै इन्कार गरेको उनले बताए । 

उनले प्रधानमन्त्री ओलीले राजपा नेपाललाई सरकारमा आउन गरेको आग्रहबारे आफूले नै उपेन्द्र यादवलाई समेत जानकारी दिएको बताए । उनले प्रधानमन्त्री ओलीको तर्फबाट सरकारमा सहभागी हुन आग्रह भइरहेको तर राजपा नेपाल सरकारमा नजाने भन्दै ढुक्क रहन आग्रह गरेको थिए ।

केन्द्रीय समितिको बैठकमा भएका छलफलबारे निर्णय सुनाउने जिम्मेवारी पदाधिकारीलाई दिएको थियो तर पदाधिकारी बैठक बस्ने कुनै छाँटकाँट छैन । अध्यक्ष यादव दिल्लीबाट नफर्केसम्म पार्टीको पदाधिकारी बैठक बस्ने सम्भावना छैन । अब उपचुनावपछि मात्र सरकारको बारेमा निर्णय लिने समाजवादी पार्टीका एक नेताले बताए । ‘उपचुनावसम्म केही हुँदैन, पार्टी पुरा शक्तिका साथ चुनावमा खटिनेछ, यो बीचमा यसको बारेमा कुनै निर्णय लिने छैन’ ती नेताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप