शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा काम गर्नेको योजनामा बुढानिलकण्ठमा हत्या, रुपन्देहीमा यसरी परे प्रहरीको फन्दामा

शुक्रबार, ०२ भदौ २०७४, १६ : ३३
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौं । गत साउन १२ गते गते काठमाडौंको बुढानिलकण्ठ स्थित छोरीको घरमा मृत फेला परेकी पार्वती ढकालको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । 

शुक्रबार नेपाल प्रहरीको अपराध महाशाखा टेकुमा पत्रकार सम्मेलन गरी हत्या आरोपी बर्ष ३० का सुदामा लामिछानेलाई सार्वजनिक गरिएको हो । अभियुक्तलाई प्रहरीले गत साउन ३२ गते कपिलबस्तुबाट प्रक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । 

बुढानिलकण्ठ नगरपालिका वडा नं. १ तौलुङस्थित छोरी गीता ढकालको घरमा ५५ बर्षीय पार्वती ढकालको टाउकोमा हतौडाले हिर्काएर हत्या गरी सुनका गर गहना समेत लुटपाट भएको थियो ।  

प्रहरीले हत्याका अभियुक्तका साथै लुटपाट भएको ट्याव, २३ दशमलव ४ ग्राम सुन तथा भारत जान सटही गरेको २९ हजार भारतीय रुपैयाँ समेत बरामद गरी सार्वजनिक गरिएको छ । साथै लुटिएको सुन बिक्री वितरणमा संलग्न बनस्थलीका दिप ज्योती सुनचाँदी पसल सञ्चालन गरि बस्ने बर्ष ३० का चन्द्रकान्त ल्वागुन, बर्ष ४८ कि कृष्णमाया श्रेष्ठ र बर्ष २० का किशोर श्रेष्ठलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

कसरी भयो हत्या ?    
रसुवाको उत्तरगया गाँउपालिका ५ की ५५ बर्षीय पावर्ती ढकाल बुढानिलकण्ठ स्थित छोरी गीता ढकालको घरमासँगै बस्दै आएकी थिइन् । हत्या अभियुक्त सुदामा लामिछाने गत बैशाखमा आमा मार्फत चिनजान भएर गीता ढकालको घरमा काम गर्न पुगेका थिए । उनले गीताको घरमा १ हप्तामात्र काम गरी १ हजार रुपैयाँ लिएर काम छोडेर हिँडेका थिए । 

काम छोडेको २ महिनापछि अभियुक्त लामिछाने विदेश जानका लागि पासपोर्ट बनाउन पैसा चाहियो भन्दै पार्वती ढकालसँग पैसा माग्न बुढानिलकण्ठ पुगेका थिए । तर मृतक ढकालले छोरीसँग सोध्नुपर्छ भनेपछि अभियुक्त २ घण्टा कुरा गरेर फर्किएका थिए । 

अभियुक्तलाई पैसा आवश्यक परेको र गीता ढकालको घरमा सुनका गर गहना लगायतका सामान राख्ने स्थान समेत देखेका कारण बालाजुको गंगा हल नजिकै रहेको एक होटलमा साथीसँग बसेर ढकालको घरमा लुटपाट गर्ने योजना बनाएका थिए । 

योजना अनुसार गत साउन १२ गते दिँउसो साँढे १२ बजे अभियुक्त सुदामा र उनको साथी माइक्रो बस चढी गीताको घरमा पुगेका थिए । उनीहरुले ढोका ढक्ढकाएपछि मृतक पावर्ती ढकालले देखेर ढोका खोली भित्र बोलाएर लगेकी थिइन् । लुगा धोइरहेकी पार्वतीले पहिला आफ्नै घरमा काम गर्ने केटा आएको भएर विश्वासमा परि उनीहरुलाई कोठामा छोडेर कौसीमा लुगा सुकाउन गएकी थिइन् । त्यही बेला अभियुत्त र उनको साथीले लुटपाट गर्ने योजना बनाएर बसिरहेका थिए । 
मृतक पावर्तीले उनीहरुलाई चिया खान कर गरेकी थिइन् तर उनीहरुले नमानेपछि नजिकैको कुर्सीमा बसेकी थिइन् । उचित मौकाको खोजीमा रहेका अभियुक्त सुदामाले उनलाई भुँइमा लडाएर किचेनमा रहेको हम्मरले हिर्काउन थाले । सँगै गएको साथीले पनि सोही हम्मरले टाउको हानी पावर्तीको हत्या गरे । 

पावर्ती भुँइमा लडेपछि सुदामाले कोठामा गई दराज खोली दराजमा रहेको सुनको चुरा २ थान, बाला २ थान, औंठी २ थान, लकेटसहितको सिक्री  १ थान, झुम्का १ जोर, आइ प्याड, घडीसमेत लुटेर माइक्रो बस चढी बालाजु बसपार्क गएका थिए । 

हत्या र लुटपाट गरेपछि उपत्यकाको विभिन्न ठाँउमा लुकेर बसेका अघियुक्त लामिछानेले वनस्थली नर्सरीचोकमा रहेको दीप ज्योती सुनचाँदी पसलमा लगी सुनका गर गहनाहरु १ लाख १५ हजारमा बिक्री गरी कपिलबस्तुमा गएर लुकेर बसेका थिए । त्यहाँबाट भारत जानका लागि उनले भारतीय रुपैँया सटही गरेर तयारी अवस्थामा बसेका थिए । 

घटनाको अनुसन्धान गरी अभियुक्तलाई खोजी गरिहेको प्रहरीले साउन ३२ गते रुपन्देहीबाट उनलाई पक्राउ गरेको थियो । 

अभियुक्त सुदामा लामिछाने यसअघि २०६३ साल असोजमा जवरजस्ती करणी मुद्दामा पक्राउ परि ८ बर्ष जेल सजाँय भुक्तान गरी २०७१ सालमा छुटेका थिए । 

साथै प्रहरीले अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गहना कमिसनको लोभमा परेर बिक्री वितरणमा संलग्न २ जना र सुन पसले समेत गरी ३ जनालाई पनि पक्राउ गरी सुन समेत बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप