शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी

सोमबार, ०२ मङ्सिर २०७६, २१ : ०९
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘दुबई एयर–शो’ को उद्घाटन समारोहमा सहभागी भएका छन् । संयुक्त अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उनी गत कात्तिक ३० गते युएई गएका थिए।
    
‘एअर–शो’को पहिलो दिन आइतबार भएको उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गरेका अबुदाबीस्थित नेपाली राजदूताबासले विज्ञप्तिमार्फत जनाएको छ । 

उद्घाटन शत्रपछि शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीसँग दिवाभोज बैठक भएको थियो । त्यस क्रममा उहाँहरुबीच आपसी हितका वृहत्तर विषयमा छलफल भएको थियो । 

उपप्रधानमन्त्री पोखरेलले नेपालमा पूर्वाधार विकास, पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । 

युएईका प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा नेपालमा लगानीका अवसर खोज्नका लागि युएईबाट प्रतिनिधि पठाउन तयार रहेको बताए ।
    
उनीहरुबीच सैन्य सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपाली श्रमिकको कामप्रति युएईका प्रधानमन्त्रीले प्रशंसा पनि गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले युएइका प्रधानमन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि विशेष निमन्त्रणा दिएका थिए । उद्घाटन शत्रका क्रममा उपप्रधानमन्त्री पोखरेलले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी रहेका थिए ।
    
उपप्रधानमन्त्री पोखरेल नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा आज नेपाली तथा विभिन्न देशका व्यवसायी एवं लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा विशेष छलफल गरेको जनाइएको छ ।

 सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनका रुपमा समेत लिने गरेका छन् ।

यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी भएको हो । उपप्रधानमन्त्री पोखरेल यही मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप