शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीलाई राजपाको त्रास !

आइतबार, ०१ मङ्सिर २०७६, १६ : १८
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– समाजवादी पार्टीले सरकार छाड्न चौतर्फी दवाव परेपनि त्यसबारे कुनै निर्णय लिन सकेन । पार्टीभित्र र बाहिर सरकार छाड्न पार्टी नेतृत्वलाई चर्को दवाव परेको थियो । तीन दिनसम्म चलेको पार्टीको संघीय परिषद्को बैठकदेखि केन्द्रीय समितिको बैठकसम्म अधिकाँश नेताहरुले सरकार छाड्न दवाव दिएका थिए । तर बैठकबाट त्यसको निर्णय नगरि त्यसलाई पदाधिकारी बैठकमा लगिएको थियो ।

उक्त पार्टीको हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको निर्णय आइतबार बस्ने पदाधिकारी बैठकबाट छलफल गरि सार्वजनिक गर्ने सहमति गरेको थियो । तर आइतवार पदाधिकारीको बैठक बस्न सकेन । 

पार्टीभित्र सरकार छाड्न दवाव अझै रहेको छ तर नेतृत्व पंक्ति भने तत्कालै सरकार नछाड्ने पक्षमा देखिएको छ । त्यसैले पदाधिकारी बैठक पनि अनिश्चित भएको छ । प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले केही तयारीपछि बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । ‘तीन दिनसम्म चलेको बैठकमा उठेका विषयहरुको बारेमा आन्तरिक छलफल भइरहेको छ, चाँडै नै बैठक बसेर निर्णय सार्वजनिक गरिन्छ’ उनले भने ।   

समाजवादी पार्टी राजपा नेपालका कारण सरकार छाड्ने पक्षमा देखिएको छैन । नेतृत्व पंक्ति खासगरि पार्टीका अध्यक्ष उपेन्द्र यादवको बुझाईअनुसार आफूले सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी भएर आफ्नो पार्टीसँग एकीकरणका लागि बार्गेनिङ्ग गर्न सक्छ । 

केन्द्रीय समितिको बैठकमा केही नेताहरुले समाजवादी पार्टीले सरकार छाडेपछि राजपा सरकारमा जाँदैन भन्ने ग्यारेण्टी कसले लिने भनि प्रश्न उठाएका थिए । सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजपा नेपाललाई सरकारमा भित्र्याउने समाजवादी पार्टीको बुझाइ रहेको छ । 

राजपा नेपाल संघीय सरकारमा सहभागी भएपछि प्रदेश २ को सरकार पनि हेरफेर हुने समाजवादी पार्टीका कतिपय नेताहरुको बुझाई रहेको छ । राजपा नेपाल संघीय सरकारमा सहभागी भएपछि प्रदेश २ मा पनि समाजवादी पार्टीलाई हटाएर नेकपासँग मिलेर सरकार बनाउनसक्छ भनि समाजवादी पार्टीका थुप्रै नेताहरुको बुझाई रहेको छ । तर राजपा नेपल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादव भन्छन्, ‘राजपा नेपालले सरकारमा जाने सोचेकै छैन, यसमा समाजवादी पार्टीले कुनै प्रकारको आशंका नगरे हुन्छ ।’ ‘केन्द्रीय समितिबाट सरकार छाड्ने कुरा समाजवादी पार्टीका नेताहरुले गरेका थिए तर के कारणले निर्णय गर्न सकेन त्यो उनीहरुले नै जानुन्’ उनले भने । तर राजपा नेपाल कुनै पनि हालतमा सरकारमा नजाने उनले बताए ।

समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणको कुरा लामो समयदेखि चलिरहेको थियो । एकीकरणका लागि राजपा नेपालले सरकार छाड्नुपर्ने पहिलो शर्त राखेको थियो । त्यसको जवाफमा समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले सरकार छाड्ने विषयमा केन्द्रीय समितिको बैठकबाट निर्णय गराउने आश्वासन राजपा नेपालका नेताहरुलाई दिएका थिए । 

तर बैठकमा राजपा नेपालमाथि नै विभिन्न शंका उपशंकाको कुरा उठेपछि तत्काल सरकार नछाड्ने अवस्था सृजना भएको हो । बैठकमा आएका नेता तथा कार्यकर्ताहरु जिल्ला फर्किसकेपछि र सरकार छाड्ने माहौल शान्त भएपछि मात्र यसको बारेमा सरकारको बारेमा निर्णय लिने समाजवावादी पार्टीका एक नेताले बताए । 

तत्काल सरकार नछाड्ने कुरा नेतृत्वकर्ताहरुको बीचमा आन्तरिक सहमति भइसकेको छ । तर त्यो कुरा निर्णयको रुपमा अहिले नै नल्याउने सहमति पनि गरेको छ । शुरुमा सरकारलाई अल्टिमेटमा दिने र दिएको अल्टिमेटको सुनुवाई नभएपछि मात्र सरकार छाड्ने नछाड्ने विषयमा छलफल गर्ने ती नेताले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप