मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकृतिको अचम्मको लीला : विशाल प्राणी भालुको मुसाजत्रो बच्चा !!

आइतबार, ०१ मङ्सिर २०७६, १५ : १४
आइतबार, ०१ मङ्सिर २०७६

 

तपाईंलाई कसैले प्रश्न गर्‍यो– भालुको भरखरै जन्मेको बच्चा कत्रो हुन्छ ? तपाईं–हामीले सामान्यत बाख्रा, भेडा, कुकुर, गाई जस्ता घरपालुवा जनावरहरुको भरखरे जन्मेको बच्चा देखिरहेका हुन्छौं । त्यहीं आधारमा तपाईं हामी स्वभाविक रुपमा नै सोच्छौं– सानोसानो भालु नै पनि त गाईजत्रै वा गाईभन्दा पनि ठुलो हुन्छ, त्यसैले त्यसको बच्चा पनि गाईको बच्चा जस्तै कम्तिमा २०–२५ किलोग्राम तौल भएको त अवश्य नै हुनपर्छ !

तर कसैले तपाईंको यो सोचाइविपरीत भालुको बच्चा ‘एउटा ठूलो खालको मूसाजत्रो मात्रै हुन्छ’ भन्ने जवाफ दियो भने चाहिँ तपाईं के गर्नुहुन्छ ?

https://content.api.news

निश्चय पनि तपाईंलाई यो उत्तर आश्चर्यजनक र अदभूत लाग्न सक्छ । तर यो यथार्थ हो । वास्तवमै १०० किलोग्रामदेखि ७०० किलोग्रामसम्म तौल हुने एउटा विशाल प्राणी भालुको बच्चा एउटा ठूलो खाले मूसा जत्रो मात्रै हुन्छ । अर्थात्, भरखरै जन्मेको भालुको बच्चाको तौल ३०० ग्रामदेखि लगभग आधा किलोसम्म मात्र हुन्छ ।

सामान्यतः एउटा बाख्रा वा भेडाको पाठाको तौल मात्रै पनि यो तौल भन्दा दश गुना भारी हुन्छ ।

तुलना गर्ने हो भने अन्य जनावरहरुको नवजात बच्चाको तौल आमाको तौलको १० प्रतिशत हाराहारी हुन्छ भने भालुको नवजात बच्चाको तौल ०.२७ प्रतिशत मात्र हुन्छ । फेरि आफ्नो जीवनको शुरुका १० दिनमा बाख्राको पाठाको तौलमा १८० ग्राम बृद्धि हुन्छ भने भालुको बच्चाकोतौलमा २.५ ग्राम मात्र बृद्धि हुन्छ ।

छैन त प्रकृतिको लीला अचम्मके ! तर प्रकृतिको यो लीलाको पछाडि पनि एउटा रहस्य लुकेको छ । र, यो रहस्य बुझ्न भालुको जीवन चक्रलाई हेर्नुपर्ने हुन्छ ।

भालुले जाडो महिना अर्थात पुष माघतिर बच्चा जन्माउँछ । भालुको गर्भकाल ६ देखि ९ महिनासम्मको हुन्छ र त्यो समय पूरा भएपछि यसले एउटादेखि चारवटासम्म बच्चा जन्माउँछ । भालुले जाडो मौसममा बच्चा जन्माएपछि वसन्त ऋतु (चैत–वैशाख महिनासम्म) गुफामा बसेरै आफ्ना बालबच्चाहरुको पालन–पोषण गर्दछ । शरद ऋतु (असोज–कार्तिक महिनातिर ) चाहिँ यसले आफ्नो शरीरमा संग्रहित बोसो र अन्य पौष्टिक पदार्थहरुको भरमा जीवन निर्वाह गर्दछ।

जाडो मौसम लागेपछि चाहिँ भालुको शरीरमा संग्रहित त्यो पौष्टिक पदार्थको भण्डारमा अलिकति पनि क्षति हुँदैन, किनभने तयस समयमा भालु गहिरो शीत –निद्रा (Hibernation) मा गएको हुन्छ र त्यसबेला यसले पानीसमेत पिउँदैन ।

https://bear.org/

भालु शीत–निद्रामा जानु भनेको के हो भने, त्यस समयावधिभरि भालु गहिरो रुपमा निदाउँछ । यसरी निदाएको बेला यसले खानापिना, मलमुत्र त्याग केही पनि गर्दैन । कतिसम्म भने, यस अवस्थामा भालुको शरीरको तापक्रम पहिलेको जस्तै नै रहन्छ तर यसको मुटुको धड्कन प्रतिमिनेट ४५ बाट झरेर १० मा आउँछ । भालुको यो शीत– निद्रा ३ महिनादेखि ५ महिनासम्म चल्नसक्छ । न्यानो मौसम भएको बेलामा चाहिँ कहिलेकाहीँ केही समयको लागि भालु शीत–निद्राबाट जागेर बाहिर निस्कन पनि सक्छ ।

यसरी जाडो मौसममा भालु शीत–निद्रामा जानुको कारण के हो भने त्यस मौसममा प्रचण्ड जाडोका कारण बाहिर प्रकृतिमा खानेकुराहरुको व्यापक अभाव हुन्छ । अझ, ध्रुवीय  क्षेत्रहरुमा बस्ने भालुहरुको लागि त झनै ठूलो अभाव हुन्छ । त्यस अवस्थामा उनीहरुले आफ्नो जीवननिर्वाह गर्ने खानेकुराहरु केही पनि पाउँदैनन् । त्यस्तो अवस्थामा उनीहरुको शरीरको उर्जाको खपतलाई रोक्न र बचाइराख्नको लागि प्रकृतिले नै यस्तो व्यवस्था मिलाएको हो ।

यसरी एकातिर जाडो मौसममा खानेकुरा नपाइने हुन्छ तर त्यही मौसममा भालुले बच्चा जन्माउँछ ! र त्यसरी जन्मेको बच्चा चाहिँ आमा–भालुको दूधको भरमा मात्रै बाँच्नु पर्नेहुन्छ । त्यस अवस्थामा भालुले बच्चालाई स्तनपान गराउँदा आफ्नो शरीरमा संग्रहित पौष्टिक पदार्थहरु र बोसोको उपयोग गरिरहेको हुन्छ । यस्तो स्थितिमा भालुको बच्चा भेंडा वा बाख्राको पाठोजस्तो ठुलो जन्मने हो भने त त्यसले केही दिनमा नै आमा–भालुको शरीरमा संग्रहित समपूर्ण पौष्टिक पदार्थहरु खपत गरिसक्ने थियो । किनभने, बाख्राको पाठा जत्रो ३–४ वटा भालुका बच्चाहरुको लागि त  दिनको आधा बाल्टीभन्दा बढी दूधको आवश्यकता पर्ने थियो र केही दिनमा नै पोथी भालुको दूध सुक्ने थियो ।

तर प्रकृतिको नियम नै के छ भने, यस संसारमा पाइने प्रत्येक प्राणीहरुले आफुलाई परिस्थिति अनुकूल ढालेर बाँच्न जानिसकेका हुन्छन् ।

प्रसिद्ध जीव वैज्ञानिक डार्विनको ‘अनुकूलताको सिद्धान्त’ अनुसार पनि जुन प्राणीले प्रकृतिको अनुकूलतामा आफूलाई ढाल्नु सक्दैन, त्यो प्राणी मासिएर जान्छ ।

यही प्रकृतिको अनुकूलताको नियमले गर्दा नै भालुको बच्चा जन्मिँदा अतयन्तै सानो जन्मन पुगेको हुन्छ ।

त्यती मात्र हैन, यो बच्चाको शारीरिक बृद्धिदर पनि बसन्त ऋतुसम्म अत्यन्तै सुस्त गतिमा हुन्छ । तर जब पोथी भालु शीत–निद्राबाट उठेर खानेकुराको खोजीमा गुफाबाट बाहिर निस्कन्छ, भालुको बच्चा पनि आफ्नो आमासँगै खानेकुराको खोजीमा र घाम ताप्नको लागि गुफाबाट बाहिर आउन थाल्छ । यस अवस्थामा बच्चा भालुहरुले विभिन्न किसिमका खानेकुराहरु धेरै मात्रामा भकुर्न थाल्छन् । उनीहरु खान लायकका कुनै पनि कुराहरु बाँकी राख्दैनन् ।

अब आएर चाहिँ उनीहरुको शारीरिक बृद्धिदरमा तीब्रता आउन थाल्छ । अब आएर उनीहरु आमाको दूधमा हैन, बाहिरी खानेकुराको आधारमा बाँच्न सिक्न थाल्छन् ।

उता भेडा वा बाख्राको पाठो भने भालुको तुलनामा जन्मँदै अलि ठुलो हुन्छ । किनभन। भेडा वा बाख्राले बाह्रै महिना खानेकुराहरु खान पाउँछन् । जीवनको शुरुकालमा भेडा वा बाख्राको पाठो आमाको दूध खाएरै हुर्कन्छ । फेरि भालुको तुलनामा अति छोटो समयमा नै पाठोले घाँस खान सिकिसक्छ । त्यसैले पाठो आफ्नो जीवनको प्रारम्भिक कालमै अति छिटो छिटो बढ्छ ।

 

भालुको बारेमा रोचक जानकारी

०  भालुको विशाल शरीर हुन्छ । यसको छोटो पुच्छर र गोलाकार कान र पाँचवटा औलाहरुमा विभाजित खुट्टा हुन्छ । भालुको खुट्टामा मान्छेको जस्तै कुर्कच्चा र पैतालो पनि हुन्छ ।

०  भालु पाण्डा, रैकुन र कुकुरको नजिकको स्तनधारी मांसहारी प्राणी मानिन्छ । तर यसले बोटबिरुवा र अन्नहरु पनि खान्छ । भालुले मौरीको मह अत्यन्तै मन पराउँछ । एउटा ग्रिज्ली भालुले एक पटकमा ९ किलोसम्म खानेकुरा खानसक्छ ।

०  भालु अफ्रिका, एन्टार्कटिका र अस्ट्रेलियाबाहेक सर्वत्र पाइन्छ ।

https://cdn.britannica.com

०  भालुहरु बासस्थान अनुसार फरक फरक जात, आकार र प्रकार, रुप र रंगका पाइन्छन् । भालुहरुमा सबैभन्दा ठुलो भालु उत्तर अमेरिका र रुसतिर पाइने हिंस्रक खैरो भालु (Grizzly Bear) हो । यो भालुको भालेको तौल ७८० किलोग्राम हुन्छ । यो प्राणीलाई संसारमा पाइने सबैभन्दा ठुलो मांसहरी प्राणीहरुमध्ये प्रमुख प्राणी मानिन्छ ।

०  खैरो भालुपछि दोस्रो ठूलो भालु ध्रुवीय भालु (Polar Bear) हो । यो भालुको तौल ६८२ किलोग्रामभन्दा बेसीसम्म पनि हुन सक्छ । त्यसैगरी, अमेरिकन कालो भालुको तौल २७० किलोग्रामसम्म हुनसक्छ । एशिया क्षेत्र (विशेष गरी चीन, जापान र साइबेरिया क्षेत्रमा बढी पाइने) भालुलाई हिमाली कालो भालु  (Himalayan Bear) हो । यसको तौल २७ देखि ५० किलोग्रामसम्म मात्र हुनसक्छ ।

https://imgs.mongabay.com

०  सबैभन्दा सानो भालु एशियामा नै पाइने भालु (Sun Bear) हो । यसको तौल २७ देखि ५० किलोसम्म मात्र हुन्छ ।

०  ध्रुवीय क्षेत्रमा पाइने भालुको खुट्टामा बाक्लो भुत्ला हुन्छ ।

०  भालु १५ वर्षदेखि ३० वर्षसम्म बाँच्छ ।

०  भालुले २ वर्षमा एक पटक बच्चा जन्माउँछ । भरखरै जन्मेको बच्चाको आँखा पूरै बन्द हुन्छ र यसको शरीरमा रौं हुँदैन ।

०  भालुको सुँध्ने शक्ति अत्यन्तै तीखो हुन्छ । यसले देखेरभन्दा पनि बढी गन्धकै आधारमा आफ्नो शिकार पहिल्याउँछ र पक्रछ ।

०  एउटा भालुले अर्को भालुको क्षेत्रमा हस्तक्षेप गर्दैन । यसको लागि भालुले सूचनाको आदानप्रदान गर्दा पनि यही गन्ध–शक्तिको उपयोग गर्छ ।

खानेकुराको खोजीमा भालु आफ्नो बासस्थानबाट १५० किलोमिटर टाढासम्म पनि पुग्छ । यस अवस्थामा भालुले यही गन्धशक्तिको आधारमा अर्को भालुको क्षेत्र थाहा पाएर त्यो सँग निश्चित दुरी कायम गर्छ । यसबाहेक, भालुले आफ्नो क्षेत्रको रुख चपाएर टोकेर वा खोस्रेर पनि अर्को भालुलाई आफ्नो क्षेत्रको संकेत दिन्छ ।

०  भाले भालुले आफ्नो बच्चालाई देखिसहँदैन । यसले मौका पायो कि बच्चा भालुलाई मारेर खाइदिन्छ । त्यसैले माउ भालुले भाले भालुबाट आफ्नो बच्चालाई लुकाउनुपर्छ । पोथी भालुले जाडो मौसममा शीत–निद्रामा जानुभन्दा पहिले आफ्नो वासस्थान अलग्गै बनाउँछ । त्यसैगरी, वसन्त ऋतुमा पनि यसले अलग्गै बनाएर बच्चा हुर्काउँछ ।

०  कालो भालु अधिकांशतः रुखहरु भएको क्षेत्रमा बसोबास गर्नेगर्छ र यो भालुको बच्चाहरु रुख चढ्न अत्यन्तै फुर्तिला हुन्छन् । यो फुर्तिलोपनाले उनीहरुलाई विशेष गरेर भाले भालुको आहार बन्नबाट जोगाउने गर्छ ।

०  दौडने हरेक चीजलाई भालुले आक्रमण गर्छ । त्यसैले भालुसँग आमने–सामने भयो भने, दौडनुको सट्टा विस्तारै पछाडि हट्ने र चिच्याएर कराउने गर्नुपर्छ । यसो गर्दा भालुले आक्रमण गर्दैन ।

०  आक्रमण गर्दा भालु ४५ किलोमिटर प्रतिघण्टाको गतिले दौडन सक्छ ।

Title Photo: http://pixdaus.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप