बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा

आइतबार, ०१ मङ्सिर २०७६, १४ : ४२
आइतबार, ०१ मङ्सिर २०७६

चितवन– क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् । 

अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य हुनु परेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिने छ । गर्मी महिनामा यो समय एक घण्टा थपिनेछ ।

विस्तारित सेवामा बहिरङ्ग टिकट नेपाल सरकारले तोकेअनुसार केही थप लाग्नेछ भने रेडियोलोजी, प्याथोलोजी, श्ययालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिए । उका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महङ्गो शल्यक्रियाको रु ३० हजार पर्ने गर्दछ । 

सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा रु ४५ हजार पर्दछ भने बाहिर निजी अस्पतालमा गर्दा रु दुई लाखसम्म पर्ने गर्दछ । शल्यक्रियापछि र अघि अस्पतालमा हुने अन्य केही सेवामा बाहेक अतिरिक्त शुल्क नहुने हुँदा बिरामीलाई बाहिरको तुलनामा निकै कम शुल्क लाग्ने आचार्यको भनाइ छ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस् भन्ने उद्देश्यले विस्तारित सेवा शुरु गरिएको हो । 

अस्पताल स्थापना हुँदा अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर अस्पतालमा मात्र काम गर्नुपर्ने व्यवस्था गरिएको भए पनि यसलाई कार्यान्वयन गर्न सकिएको थिएन । आचार्यले यस सेवासँगै बिरामीले सुविधा र चिकित्सक कर्मचारीले अतिरिक्त पारिश्रमिक पाउने बताए ।

सबै विभाग नियमित सञ्चालनका लागि पालो मिलाइएको उनको भनाइ छ । अस्पतालले शिक्षण अस्पताल, सिभिल, गङ्गालाल र धरानको नमूनालाई हेरेर यहाँको व्यावहारिक अवस्थासमेतलाई मनन गर्दै नयाँ ढङ्गले विस्तारित सेवा शुरु गरेको हो । 

बीस वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । तीमध्ये सात हजार ८९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । यसअघि आर्थिक वर्ष २०७४–७५ मा एक लाख २१ हजार १३५, आर्थिक वर्ष ०७३–७४ मा एक लाख १३ हजार ७९९ र आर्थिक वर्ष २०७२–७३ मा एक लाख १२ हजार १७६ जनाले सेवा लिएका थिए । 

अस्पतालमा उपचार गराएकामध्ये आर्थिक वर्ष २०७४–७५ मा छ हजार २९६, आर्थिक वर्ष २०७३–०७४ मा चार हजार ५४८ र आर्थिक वर्ष २०७२–०७२ मा पाँच हजार चार जनामा क्यान्सर पहिचान भएको थियो । अस्पतालमा पछिल्ला वर्षमा सेवा विस्तारलाई तीव्र पारिएको छ । आचार्यका अनुसार एमआरआई, सिटिस्क्यान, मेमोग्राम, गामा क्यामेरा नियमित सञ्चालनमा ल्याइएको छ । रेडियोथेरापीको सेवालाई गुणात्मक र सङ्ख्यात्मकरूपमा वृद्धि गरी अत्याधुनिकीकरण गरिएको उनले बताए ।

अस्पतालमा गत वर्ष ल्याइएको क्लिन्याक नाइन, अङ्को सिटी स्क्यान उपकरण र शरीरको भित्री भागमा भएको क्यान्सर रोगको उपचारमा प्रयोग हुने ब्राकी थेरापी उपकरणका कारण बिरामीलाई सेवा पु¥याउन सहज भएको छ । अस्पतालको प्याथोलोजी विभागमा नयाँ उपकरण थप गरी आधुनिकीकरण गरिएको छ । दुई÷दुई घण्टामा बिरामीको रगत परीक्षणको नतिजा दिइने गरिएको छ ।

आकस्मिक कक्षमा छुट्टै प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । रक्त क्यान्सरका पीडित बिरामीलाई आधुनिकस्तरको सेवा दिन हेमाटो अङ्कोलोजी विभाग शुरु गरिएको आचार्यले बताए । अस्पतालमा विभिन्न खालका क्याबिन सञ्चालनमा आएका छन् । अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा आइसकेको छ । 

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी निकै सस्तोमा औषधि वितरण गरेको छ । एक सय श्ययाबाट शुरु भएको अस्पताल हाल ४५० श्यया सञ्चालनमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप