केन्द्रीय संस्करण
प्रेरक

साहस र सामूहिकताको चमत्कार !’

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline0

 

दिन ढल्दै थियो । घामको पहेँलिँदै गएको सुन्दर किरण बगैंचाभरि छरिएको थियो । बडो भव्य र मन–मोहक दृश्य थियो बगैंचाको ।

बगैंचाका बीचको विशाल चउर बालकहरुको खेल मैदान थियो । त्यहाँ खेल्ने बालकहरु प्रायः यति बेलै त्यहाँ जुट्थे । आज के खेल्ने ? आपसको सल्लाहबाट निदो गर्थे । खेल सकेर समयमै आफआफ्ना घर पुग्थे ।

आज बालकहरुले लुकाछिपी खेल्ने निदो गरे । बालकहरु विभिन्न रुखका फेदमा लुक्थे । झाडीमा पनि लुक्थे ।

टोली नायक बालकले हल्ला नगर्न सवैलाई सचेत गरायो । खेल शुरु हुनै लागेको थियो । लुक्ने बालबालिकाहरु लुक्ने ठाउँतिर दगुर्ने दाउमै थिए । लुकेकालाई भेट्टाउने पक्षका  बालबालिकाहरुले कान चनाखो पारेर आँखा चिम्लिसकेका थिए ।

यसै शान्त वातावरणबीच त्यतै कतै कुनै बालक आत्तिएर कराएको आवाज सुनियो । टोली नायक चनाखो थियो । हत्तपत्त त्यहाँ उपस्थित साथीहरुलाई गन्यो । एक जना पुगेन । त्यो एक जना पनि तुरुन्त पत्ता लाग्यो । यो आवाज त्यसै साथीको हुनु पर्छ भन्दै बालबालिकाहरु आवाजआएतिर दगुरे । एकैछिनमा एउटा एकान्त कुनातिर पुगियो । त्यहाँ एउटा यामानको अजिङ्गरले बेरेर त्यस बालक लाई निल्न ठिक्क परेको अवस्था देखियो । ‘आम्मै अजिङ्गर !?’ भन्दै बालकहरु भागाभाग गर्न थाले । टोली नायक पनि भाग्यो । ११वर्षीय एक जना बालक बर्धमान भागेन । साथीलाई यस्तो अवस्थामा छोडेर भाग्नै सकेन ।

भागिरहेका साथीहरुलाई “एः पख ! भन्दै” उच्च आवाजमा कराएरै भन्यो, “साथीलाई यो अवस्थामा छाडेर भाग्न हुँदैन । नभाग्नुहोस् । जहाँ जे भेटिन्छ हातमा टिपेर मसँगै आउनुहोस् । हामी यति धेरै साथीका अगाडि यो एउटा जाबो अजिङ्गर केही होइन । यससँग हामी किन डराउने ? साथी मृत्युको गाँस बन्दैछ ! हामी भाग्ने ?! साथीलाई बचाउन प्रयास गर्नु कता छ कता आपैm भाग्ने ? यसो गर्नु त विश्वासघात हो ! हामीले साथीलाई विश्वासघात गर्न हुँदैन । सँगै आएका थियोँ, सँगै घर फर्कनुपर्छ । आउनुहोस् !”

यति भन्दै त्यो बालक एउटा लट्ठी टिपेर अजिङ्गर भएतिर दगुर्‍यो । उ दगुरेको देखेर अरु साथीहरु पनि जे जे भेटिन्छ टिपेर त्यतै दगुरे । कसैका हातमा लटठी, कसैका हातमा इँट्टा, कसैका हातमा रुखको हाँगो । केटाकेटीको जमातै आफूतिर आएको देखेर अजिङ्गर डरायो । बेरेको फुकिँदै भुइँमा पसारियो र हतार हतार झाडीतिर पस्यो । हताश भइसकेको बालक मृत्युका मुखबाट फुत्केर साथीहरुसँग अँगालो हाल्न आयो ।

त्यस विकट समयमा ११वर्षीय बालक बर्धमानले साहस र बुद्धिबाट काम नलिएको भए एक जनाा साथी अजिङ्गरको पेटमा पुग्थ्यो । सबै बालकहरु हुतिहारा र काँतरमा गनिन्थे । यसरी सङ्कटसँग नडराएर जुध्न अगाडि बढ्दा र अजिङ्गरलाई भगाउन सक्दा सवै बालकहरुमा आत्मविश्वास भरियो । आपसी सहयोगबाट कठिन काममा पनि सफल हुन सकिन्छ भन्ने जानकारी पनि भयो ।

बालकहरुमा साहस र बुद्धि नहुने होइन, जति पनि हुन्छ । त्यसले प्रस्फुटित हुने अवसर मात्र पाउनु पर्छ । साहस र बुद्धिका बलमा बालबालिकाले महान् काम फत्ते गर्न सकेका उदाहरणहरु मानवइतिहासमा धेरै पाइन्छन् ।

अहिले हामीले यहाँ जुन बालक बर्धमानको साहस र बुद्धिको बखान गर्‍यौँ ती बालक पछि गएर महावीर स्वामीका नामले विश्व विख्यात भए । महावीर स्वामी महात्मा बुद्धका समकालीन अर्का महात्मा थिए ।

प्रस्तुतिः— एस०आर्० एन्०

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...