बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्याको चुनावी अभियानमा छोरा विराजको साथ

आइतबार, ०१ मङ्सिर २०७६, ०९ : ४७
आइतबार, ०१ मङ्सिर २०७६

पोखरा । आफ्नो जीवनसाथी गुमाउनुको पीडा कस्तो हुन्छ ? अझ, उनैले हिँडेको गोरेटो पछ्याउने हिम्मत कतिले राख्छन् ? सायद, यो प्रश्नको उत्तर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिरकारी पत्नी विद्या भट्टराईलाई भन्दा बढी, अरु कसैलाई थाहा नहुन सक्छ ।

हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका रवीन्द्रको क्षेत्र यतिबेला चुनावी सरगर्मीले तातेको छ । आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा स्व. रवीन्द्र अधिकारीको विकल्पमा सत्तारुढ नेकपाले उनकी पत्नी विद्या भट्टराईलाई अघि सारेको छ ।

विद्या यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । पार्टीले उम्मेदवारको रुपमा चुनेपछि चुनावको दौडधुपले उनलाई भ्याइनभ्याइ छ ।

मतदाताको घर–घर पुगेर आशिर्वाद लिइरहेको अवस्थामा भेटिन्छिन्, यतिबेला विद्या । कति त स्व. अधिकारीलाई सम्झेर भक्कानिन्छन् । विद्या मत माग्दै मतदाताको घर–घरमा पुग्दा हर्ष बढाइ नगर्ने त कमै भेटिएलान् । विद्या अलि पर पुगिसकेपछि कतिले यसो भनेको पनि सुनिन्छ, ‘कस्तो आँटीलो मन !’

विद्या, सधै हँसिलो अनुहारमा देखिन्छिन् । मतदाताको घर घरमा पुगेर भनिरहेकी हुन्छिन्, ‘सञ्चै हुनुहुन्छ ?, तपाईंको आशिर्वाद लिन आएकी ।’

०००

विद्यालाई यसरी चुनावी रिङमा उभ्याउन नेकपा एक्लैको भूमिका भने पक्कै होइन । पहिले राजनीतिमा सक्रिय रहे पनि घर व्यवहारमा खुम्चिएकी विद्यालाई पुनः राजनीतिक रेसमा भित्र्याउन उनको परिवारको साथ पनि उत्तिकै छ । विद्याको चुनावी घरदैलोमा पार्टी कार्यकता र उनका समर्थक मात्र होइन, उनका परिवारका सदस्यहरु पनि लागि परेका छन् ।

रवीन्द्रका माइला भाइ देवेन्द्र अधिकारी, बहिनी बिमला अधिकारी र कमल अधिकारी भाउजुलाई चुनाव जिताउन लागिपरेका छन् । तीनै जना चुनावी कार्यक्रममा भेटिन्छन् । विद्याले जसरी नै सबैलाई हात जोड्दै भोट मागिरहेका हुन्छन् ।

अझ, स्व. रवीन्द्रका जेठो छोरा विराज पनि आमालाई चुनावमा सघाउन मैदानमा खटिएका छन् । विराज प्रायः आमाकै आसपास देखिन्छन् ।

बैङ्लोरमा आइटी पढिरहेका विराज विद्यालाई सघाउनकै लागि यतिबेला नेपालमा छन् । भाइ स्वराजको भने स्कुल चलिरहेको छ । उनी घरदैलो कार्यक्रममा आउन पाउँदैनन् ।

विद्या यसरी चुनावी रिङमा उत्रेको देख्दा बाबाको झल्को आउँछ, विराजलाई । भन्छन्, ‘बाबा नै चुनावमा उठेको जस्तो लागेको छ ।’ रवीन्द्रलाई भने यसरी चुनावमा सघाउन भने पाएनन् विराजले । सानै थिए । हुन त अहिले पनि कति नै भएको छ र उनको उमेर ! भर्खर १९ मा कुद्दै छन् ।

राजनीतिमा विद्याको रि–इन्ट्रीले स–परिवार खुसी नै छ । ‘सबै जना खुसी छौं । ममीले जे निर्णय लिनुभयो त्यसमा परिवार सबै खुसी नै छौँ,’ उनले भने, ‘तपाईंदेखि रहनुभएको छ, उहाँ आफैले मात्रै चाहेको होइन । पार्टीले पनि उहाँलाई चाह्यो, परिवारले चाह्यो, पोखरेली जनताले पनि उहाँलाई नै चाहेर आउनुभएको हो ।’

‘पछि तपाईं पनि राजनीतिमा जोडिनु हुन्छ कि ?’ भन्ने रातोपाटीको प्रश्नमा विराज भन्छन्, ‘परिस्थिति हो, अहिले नै भन्न त सक्दिनँ । परि आए राजनीतिमा जोडिन पनि सक्छु ।’

तर, अहिलेको राजनीतिक अवस्था हेर्दा भने कहिलेकाहीँ त उनलाई राजनीतिबाट टाँढै बस्न मन लाग्छ । अहिलेको राजनीतिक अवस्थाले गर्दा युवाहरुले राजनीतिलाई घृणा गर्ने गरेको उनको बुझाइ छ । ‘अहिलेका युवाहरुलाई राजनीतिप्रति त्यति चासो नै छैन,’ उनले भने, ‘खासमा राजनीतिक अवस्था पनि त्यस्तै छ । युवाहरुको राजनीतिप्रति राम्रो धारणा पनि बन्न सकिरहेको छैन ।’

राजनीतिलाई नजिकबाट नियाल्न पाएका विराज राजनीति धेर÷थोर बुझ्छन् । मान्छेहरु राजनीति फोहोर खेल ठान्छन् । तर, विराजलाई त्यस्तो कहिले लागेन । स्थायी सरकार नभएकै कारण राजनीतिप्रति आम बुझाइ नराम्रो भए जस्तो लाग्छ उनलाई । ‘पहिला राजाले शासन गर्थे, अहिले राजनीतिक पार्टीहरुले सरकार चलाउँछन्,’ उलने भने, ‘स्थिर सरकार नभई सकेपछि एक थरि आएर यो गर्छ भन्छ, अर्को आएर त्यो गर्छ भन्छ । यसरी जनता अलमलिए, त्यसैले पनि गाह्रो भएको हो ।’ अब भने राजनीतिले स्थायित्व पाउँदै गएको उनको बुझाइ छ । तर, सबैले सहज रुपमा लिन भने सकिरहेका छैनन् ।

विराज आफैलाई पनि स्व. रवीन्द्रको छोरा भनेर चिनिन पाउँदा खुसी लाग्छ । ‘सिंगो देशकै आशा लाग्दो नेताको रुपमा चिनिनुहुन्थ्यो, मान्छेहरुप्रति त्यो रेस्पेक्ट अझै पनि छ । उहाँको छोरा हुँ भनेर चिनाउँदा गर्व लाग्छ मलाई,’ यसो भनि रहँदा उनी केही भावुक देखिए । धेरै समय दिन नपाए पनि सक्दो समय परिवारसँगै बिताउँथे रवीन्द्र ।

आफू राजनीतिसँग जोडिए पनि छोराहरुलाई भने राजनीतिमा आउन कहिले जोड गरेनन् रवीन्द्रले । ‘हुन त उमेर पनि भएको थिएन, म १८ को हुँदा उहाँको दुर्घटना भयो । तिमी जेमा खुसी छौ, त्यही काम गर भन्नुहुन्थ्यो,’ विराजले स्व. रवीन्द्र सम्झिए ।

रवीन्द्रको राजनीतिक गोरेटो अझ सहज बनाउन गृहस्थी सम्हालन पुगेकी विद्या पुनः राजनीतिमा फर्केकी छिन् । उनका छोरा विराजले पनि विद्याको राजनीतिक जीवन चौडा बनाउन सहयोग गर्ने योजना बनाएका छन् ।

उनी जत्तिको सक्षम व्यक्ति राजनीतिमा पुनः फर्केकोमा पोखरेली जनता खुसी भएको पाएको  बिराज बताउँछन् । चुनावी माहोल र जनताको प्रतिक्रिया हेर्दा विद्याले चुनाव जित्नेमा ढुक्क छन् उनी । भन्छन्, ‘माहोल हेर्दा र प्रतिक्रिया बुझ्दा मम्मीले चुनाव जित्नेमा ढुक्क छु ।’

रवीन्द्रका माइला भाइ दीपेन्द्र अधिकारी पनि दाइको समृद्ध नेपालको सपना साकार पार्न भाउजु अघि सरेकोमा खुसी लागेको बताउँछन् । ‘भाउजूमा पनि क्षमता नभएको होइन । क्षमताकै कारण उहाँ यहासम्म आउनु भएको छ,’ उनले भने, ‘दाइलाई जीवन्त राख्न पनि सक्नुहुन्छ भन्नेमा ढुक्क छौँ ।’ विद्यालाई चुनाव जिताउन स–परिवार नै लागिपरेको उनले सुनाए । उनी विद्यालाई चुनावमा सघाउन जापानदेखि आएका हुन् ।

कास्की क्षेत्र नम्बर–२ मा ११ वडा रहेकोमा ४, ७, ९, २१, १५ र ११ गरि ६ वडामा नेकपाको घरदैलो कार्यक्रम सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप