बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको प्रकोप : कृषि बीमा नगर्ने कृषकको बिचल्ली

शुक्रबार, ०२ भदौ २०७४, १४ : ४६
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौँ । मोरङ जिल्लाको रङ्गेली नगरपालिका वडा नम्बर १ का गणेश कुमार धामी माछा व्यवसायी हुन् । उनले व्यवसायीक रुपमा माछापालन गरेको २ वर्ष भयो । शुरुको वर्षमा उनले १० लाखभन्दा धेरै आम्दानी गरेका थिए ।

यो वर्ष भने युवा व्यवसायी गणेशलाई माछा व्यवसायीबाट ठूलो घाटा लाग्यो । उनले व्यवसाय गर्दे आएको ७ वटा पोखरी मध्य ६ वटा माछा पोखरीमा बालुवा भरियो । गणेशले एक वर्ष पहिला साढे ४ क्विंन्टल भुरा माछा र असार १७ गते ढेड क्विंन्टल भुरा माछा पोखरीमा हालेका थिए ।  गणेशको एक वर्ष पहिला पोखरीमा हालेको माछा यही भदौ महिनामा निकाल्ने तयारी थियो । तर, बाढीले क्षति पुर्याउँदा अहिले गणेश निकै चिन्तामा छन् । गणेशलाई कृषि बीमाको बारेमा थाहा थियो । 

उनले आफू कृषि बीमा गर्ने तयारीमा भएको पनि बताए तर बाढीले गर्दा उनले बीमा गर्ने मौका पाएनन् ।  दुई पटकसम्म त बीमा गर्नको लागि बंैक पनि धाए । कहिले के भएन, कहिले के पुगेन भन्दै उनलाई फकाईयो । उनले चाहेर पनि समयमा बीमा गर्न पाएनन् । क्षतिको बारेमा बुझ्न अहिलेसम्म जिल्ला कृषि विकास कार्यालय नआएको उनले दुखेसो पोखे ।  

बोमलालले पनि उस्तै दुःख
 

च्याउ व्यवसायी बोमलाल खवासले आफ्नो मुख्य व्यवसायका बीमा गराएका छैनन् । उनलाई बीमाको बारेमा राम्रोसँग थाहा छ । तर बीमा प्रक्रिया झन्झटिलो भन्दै बीमा गराएनन् । अहिले बाढीले च्याउ खेतीमा क्षति पुर्याउँदा भने गरेको भए हुने रैछ भन्दै पछुताएका छन् । च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय सदस्य अनि १ नम्बंर प्रदेशको संयोजकको भूमिकामा रहेका खवास बीमामा व्यवसायीले तिर्नु पर्ने रकम धेरै भएको बताउँछन् । सरकारले जसको लागि बीमा सेवा संचालन गरेको हो उसैको लागि झन्झटिलो भएको पनि बताए । बीमा गर्नकै लागि ४ पटक बीमा कम्पनिलाई जानकारी गराए कुनै पनि प्रतिक्रिया नआउदा बीमागर्न नपाएको गुनासो सुनाए  । खवासले मात्रै होईन १ नम्बर प्रदेशको उदयपुरमा ४, सुनसरीमा ६, मोरङमा १२, झापामा १० जना कृषकले च्याउ खेती को बीमा गराएका छैनन् ।  

यो विषयमा के भन्छन् कृषि अर्थविद 

यता कृषिको क्षेत्रमा काम गर्ने मुख्य निकाय भने बीमा गरेका र बीमा नगरेका कति कृषि व्यवसायमा छन् भन्ने विषयमा अनविज्ञ जस्तै छन् । मन्त्रालयका वरिष्ठ कृषि अर्थविद शिरिस पुनका अनुसार अहिलेसम्म क्षति पुगेको कृषि व्यवसाय मध्य बीमा गरेको र नगरेको संख्या नछुट्याएको बताए । बाढीपछि कृषिको क्षतिको विवरणमा व्यस्त भएको कारण बीमाको संख्या संकलन गर्न बाँकी रहेको बताए ।  

कृषि बिकास मन्त्रालयले तराईमा आएको बाढी पहिरोको कारण कृषिमा ३ अर्बको क्षति भएको जानकारी दिएको छ ।  सबैभन्दा धेरै धान बालीमा नोक्सानी भएको जनाइएको छ । 

कहाँ कतिको क्षति भयो ?

पूर्वाञ्चलममा ६५ करोड ५० लाख रुपैयाँ बराबरको कृषि क्षेत्रमा नोक्सान भएको छ । झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा जिल्लामा लगाइएको खाद्यान्न, माछा, तरकारी र धानबालीमा क्षति पुगेको छ । 

मध्यमाञ्चलमा बाढीका कारण १ अर्ब ९५ करोड ७९ लाख ५० हजार रुपैयाँको कृषि बालीमा क्षति भएको छ । सो क्षेत्रमा २ लाख ३ हजार ३ सय ९४ खेतीयोग्य जमिनामा लगाइएको धान, तरकारी, माछा,मकै, बेसार, तरुल, रहर, मास, केरा र मकैको बिउमा नोक्सान पुर्याएको कृषि मन्त्रालयले जनाएको छ । बाढीले पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुर जिल्लाको कृषिबालीमा ठूलो मात्रमा क्षति पुर्याएको छ । 

मश्चिमाञ्चल ५७ लाख बराबरको कृषि बालीमा नष्ट भएको छ । म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवरपरासीमा लगाएको धान,मकै ,सुन्तलामा क्षति पुगेको छ । 

मध्यपश्चिमाञ्चलमा १५ करोड ४० लाख रुपैयाँ बराबरको कृषि क्षेत्रमा नोक्सान पुर्याएको छ । दाङ, बाँके र बर्दिया लगायतको जिल्लामा लगाईएको धान, मकै ,तरकारी ,माछा, तेलहन र केरा खेतीमा नोक्सान पुगेको छ । 

सदूरपश्चिमाञ्चलमा ९ करोड १३ लाख ९५ हजार बराबरको कृषि बालीमा क्षति पुगेको छ । बझाङ, दार्चुला, कैलाली, बैतडी र डोटीमा लगाएको सञ्चित खाद्यान्न, तरकारी, गहुँ, दाल, मकै, धान, केरा, बदाम, भटमास, मास, बोडीमा क्षति पुगेको छ । 
 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप