बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वाग्मती सफाइ महाअभियानमा पाँच दूतावासका प्रतिनिधि

शनिबार, ३० कात्तिक २०७६, २० : ४२
शनिबार, ३० कात्तिक २०७६

काठमाडौं । वाग्मती सफाइ महाअभियानमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका छन् ।

 वाग्मती सफाइ महाअभियानको ३४०औँ हप्तामा थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइमा अमेरिका, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागी भएर सक्रियता देखाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । 

 सफाइमा २५ वटा संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–१० का जनप्रतिनिधि लगायतको पनि सक्रियता थियो । 

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०२औँ हप्तामा जम्बुडाँडामुनिको नदी किनारमा सफाइ गरियो ।

वाग्मती सुन्दरता सरोकार मञ्चको संयोजनमा भएको सफाइबाट कुहिने फोहरलाई खाडल खनेर गाडियो । नकुहिने फोहरलाई गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

 रुद्रमती सफाइ अभियानको २९१औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको भागमा सफाइ गरिएको थियो । नदी किनारको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाली गोडमेलसमेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । 

यसैगरी विष्णुमती सफाइ अभियानको २६७औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–११ को सीमास्थित मनमैँजु पुलबाट उत्तरतर्फ कार्यक्रम गरियो । 

 सफाइमा नेपाली सेना, नेपाल प्रहरी, टोखा ११ का वडाध्यक्ष उत्तम अधिकारी लगायतको सहभागिता रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । 

चक्रपथको पश्चिम खण्ड सफाइको ११९औँ हप्तामा वाफल क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले बताए । अभियानमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

 प्रत्येक हप्ताको शनिबारझैँ आज पनि उपत्यकाका चक्रपथको उत्तरी खण्ड, वाग्मतीको सुन्दरीघाट, तिलगंगा, गुह्येश्वरी, आलोकनगर, ललितपुरको गोदावरी खोला लगायत स्थानमा पनि सफाइ गरिएको थियो ।

 विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकालगायत देशभर सफाइमा जागरण फैलिएको छ । हाल देशभर १०५ भन्दा बढी स्थानमा स्वतस्फूर्त रुपमा सफाइ भइरहेको जनाइएको छ । 
–––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप