शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले चौध करोडको क्षति

शुक्रबार, ०२ भदौ २०७४, १४ : ४०
शुक्रबार, ०२ भदौ २०७४


चितवन-बाढीका कारण जिल्लामा रु १४ करोड ४८ लाख एक हजार बराबरको कृषि उपज क्षति भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी क्षति माछामा भएको छ । राप्ति, बूढीराप्ति, रिउ, कयर, लदरी लगायतका नदीको बाढी बस्तीमा पसेपछि क्षति भएको हो । 

कार्यालयको तथ्यांकअनुसार माछा ३१६ बिघा २ कठ्ठा, धानखेती एक हजार दुई सय ८ बिगाहा १० कठ्ठा, केरा १४ बिगाहा ११ कठ्ठा, तरकारी १३ बिगाहा तीन कठ्ठा, मास एक बिगाहा पाँच कठ्ठा, बोडी सात कठ्ठा, बेसार सात कठ्ठा, रहर ६ कठ्ठा, सुन्ताला ७० बिगाहा, माहुरी घार १५२ वटा र मह २३ किलोमा क्षति पुगेको छ । 

यसैगरी ३४ वटा सिँचाइ कुलो, तीन वटा इनार, एउटा च्याउ टनेल, तीन सय बीउ हालेको च्याउ डल्ला र ३९४ वटा फूलको गमलामा क्षति पुगेको छ । कार्यालय प्रमुख सुधीर श्रेष्ठकाअनुसार सबैभन्दा बढी रु सात करोड २८ लाख ६५ हजार बराबरको माछा क्षति भएको छ । सबैभन्दा बढी खैरहनी नगरपालिकामा– १३१ बिघा रहेको माछा पोखरी बगाएर रु तीन करोड ३८ लाख ९५ हजार बराबरको क्षति भएको छ । 

त्यसैगरी माडीमा एक सय विघामा रहेको माछापोखरी बगाउँदा रु एक करोड ५० लाख क्षति भएको छ भने भरतपुरमा रु एक करोड ३८ लाख बराबरको माछा बगाएको छ । राप्ति नगरपालिकामा रु ५३ लाख, रत्ननगरमा रु ४८ लाख २० हजार र कालिका नगरपालिकामा रु ५० हजाको क्षति भएको छ । 

श्रेष्ठकाअनुसार रु पाँच करोड ४८ लाख ९६ हजार बराबरको धानबालीमा क्षति भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ । भरतपुर र माडीमा रु दुई÷दुई करोड बराबरको धानबाली क्षति भएको छ । कालिका नगरपालिकामा रु ६० लाख, खैरहनीमा रु ४० लाख ७५ हजार, रत्ननगरमा रु ३८ लाख, राप्तिमा रु पाँच लाख ७१ हजार, इच्छाकामनामा रु चार लाख ५० हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । 

विभिन्न खेती लगाएको एक हजार ६२३ बिगाहा ११ कठ्ठाका बाढीले बगाएको, डुबाएको, पुरेको, पहिरोले कटान गरेको कार्यालयले जनाएको छ । प्रमुख श्रेष्ठले क्षतिको विवरण मन्त्रालय पठाइसकिएको र के कति राहत सरकारले दिन्छ भन्न नसकिने बताउनुभयो । केरा, माछा र तरकारीखेतीमा आंशिक रुपमा बीमा भए पनि अन्यमा बीमा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप