फिनल्यान्ड पहिलो पटक युरोकपमा
फिनल्यान्ड पहिलो पटक सन् २०२० को युरोकपमा छनोट भएको छ । समूह ‘जे’ अन्तर्गत सुक्रबार राति भएको खेलमा फिनल्यान्डले लिचेस्टाईनलाई ३–० गोलले पराजित गर्दै युरोकपमा स्थान बनाएको हो । फिनल्यान्डको जितमा टीमु पुक्कीले दुई तथा जसु तुमिने एक गोल गरे ।
तुमिनेले २१औ मिनेटमा गोल गर्दै फिनल्यान्डलाई अग्रता दिलाए । ६४औं मिनेटमा पुक्कीले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पुक्कीले ७५आंै मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्यान्डलाई सहज जित दिलाए । जितसँगै समूहको दोस्रो स्थानमा रहेको फिनल्यान्डले नौ खेलबाट १८ अंक बनाएको छ । लिचेस्टाईन दुई अंक सहित समूहको अन्तिममा छ ।
यसैगरी दुई खेल बाँकी छँदै युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले शतप्रतिशत जित निकालेको छ । सुक्रबार राति भएको खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३–० गोलले हरायो । इटालीको सहज जितमा फ्रान्सिस्को एसरबीले २१औं, लोरेन्जो इनसिग्नेले ३७औं र एन्ड्रियो बेलोटीले ५२ औ मिनेटमा गोल गरे ।
छनोट खेलमा अपराजित इटालीले जितसँगै नौ खेलबाट २७ अंक बनाएको छ । इटाली समूहको शीर्ष स्थानमा छ । १० अंक बनाएको बोस्निया समूहको पाँचौ स्थानमा छ । अर्को खेलमा ग्रीसले अर्मेनियालाई १–० गोलले हरायो । ग्रीसको जितमा डिमिट्रियस लिमलियोसले ३४औं मिनेटमा गोल गरे । जितसँगै ११ अंक बनाएको ग्रीस तेस्रो स्थानमा छ । १० अंक बनाएको अर्मेनिया चौथो स्थानमा छ ।