केन्द्रीय संस्करण
सरोकार

स्कुल जाने आमाको रहर

person explore access_timeकात्तिक २९, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

विद्यालय भवनको सिँढी हतार हतार उक्लिँदै थिइन् दीपकुमारी भण्डारी । बानेश्वर हाइटबाट आएकी उनी हतार हतार गरेर हिँड्नुको कारण थियो, कक्षामा पुग्न अबेर भएर  ।

५० वर्षीया भण्डारी भद्र नेत्र वैकल्पिक महिला माध्यमिक विद्यालय, बानेश्वरमा कक्षा ५ मा अध्ययनरत छिन् । सानैदेखि स्कुल जाने इच्छा भए पनि छोरीलाई पढाउने चलन कम भएकाले आफूले सानोमा पढ्न नपाएको उनले बताइन् । ‘स्कुल खुलेको थाहा पाएपछि घरको काम सकेर पढ्न आउन थालेँ,’ उनी भन्छिन्, ‘स्कुल आउन थालेपछि बाहिरी संसारलाई हेर्ने दृष्टि परिर्वतन भयो ।’

घरमा कहिलेकाहीँ धेरै कामको बोझ पर्यो भने उनी स्कुल आउन भ्याउदिनन् । पाहुना आए भने पनि उनीको पढाइ छुट्छ । अरूबेला भने घरको काम छिटोछिटो फत्ते गरेर उनलाई स्कुल आउन हतारो हुन्छ ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्कुलमा रहँदा उनलाई घर–परिवार र अन्य कामको याद आउँदैन । कसरी हुन्छ, अरूले भन्दा राम्रो नम्बर ल्याएर पास गर्ने भन्नेमै ध्यान जाने उनले बताइन् ।

बाटो हिँड्दा सडक आसपास ठूला घरमा झुन्ड्याएको होर्डिङ बोर्डमा के लेखेका होला भन्ने कौतुहलता सधैँ भइरहन्थ्यो उनलाई । अहिले ढुक्कका साथ उनी त्यस्ता होर्डिङ बोर्ड तथा साइन बोर्ड पढ्न सक्छिन् ।

यस्तै, अनामनगरकी पूर्णलक्ष्मी महर्जनलाई सानैदेखि अक्षर चिन्ने चाहना भए पनि माइतमा हुँदा उनलाई पढ्ने वातावरण मिलेन । साथीमार्फत उमेरले २० वर्ष कटेका महिलाले अध्ययन गर्ने विद्यालय छ भन्ने थाहा पाएपछि स्कुल आउन थालेको उनले बताइन् । ‘विवाह पछाडि श्रीमानले घरमै आफै पढाउँछु भन्नुभयो,’ उनले भनिन्, ‘श्रीमानले मलाई पढाउनका लागि किताब पनि किन्नु भयो तर घरका अन्य सदस्यले विरोध गरेपछि पढाउनुभएन ।’

उनको घरकी बुढीसासू र सासूआमामा पनि छोरी–बुहारीले पढ्न हुँदैन भन्ने धारणा थियो । ‘बुहारीले घरबारीको काम गर्ने हो कि किताब पढेर बस्ने ?’ भनेर सबैले कराउन थालेपछि उनले पढ्न पाइनन् । ‘अब त बालबच्चालाई हुर्काएँ, नियमित घरको काम सिध्याएर नियमित स्कुल आउने गर्छु,’ उनले भनिन्, ‘स्कुल आउँदा घरपरिवार सबै खुसी छन् ।’

कक्षा ५ मा अध्ययनरत ४७ वर्षीय पूर्णलक्ष्मीलाई एक दिन स्कुल नगए किन स्कुल नगएको भनेर छोराछोरी र श्रीमानले प्रश्न गर्छन् । सानैदेखि पढ्ने, नयाँ कुरा सिक्ने मनोकाङ्क्षा भएका कारण नेपाली पढ्न लेख्न, सामान्य हिसाब गर्न र सामान्य रूपमा अङ्ग्रेजी पढ्न–लेख्न सक्ने भएको उनी बताउँछिन् । घरमा काम हुँदासमेत एक घण्टा भए पनि स्कुल पढ्न जानुपर्छ भनेर छोराछोरीले भन्ने गरेकाले घरको काम र पढाइलाई सँगसँगै लैजान समस्या केही हुने उनले बताइन् ।

‘घरको काम पनि फत्ते गर्नुपर्छ,’ उनी भन्छिन्, ‘काम गर्दा, स्कुल जाँदा र गृहकार्य गर्दा भ्याइ–नभ्याइ हुन्छ ।’ गृहकार्य गर्दा केही नबुझेको खण्डमा छोराछोरीको सहयोग माग्ने गरेको उनी बताउँछिन् ।

यस्तै, कक्षा ३ मा पढ्ने ४२ वर्षीय सावित्रा तामाङ स्कुल आउनुभन्दा अगाडि दिनभरि फुर्सदिली हुन्थिन् । यताउता डुलेर उनी समय बिताउँथिन् । स्कुल आउन थालेपछि पढ्न लेख्न साथै नयाँ कुरा सिकेर बस्न थालेको उनी बताउँछिन् । माइतीमा हुँदा घरका दाजुभाइ पढ्न जाँदा उनलाई पनि स्कुल जाने रहर थियो । ‘अरूको घरमा जाने छोरीले पढेर के काम भन्थे,’ उनी भन्छिन्, ‘घरको काम गर्न सिक्नुपर्छ भन्ने गर्थे ।’

विवाह गरेपछि पनि बालबच्चालाई जन्म दिने र हुर्काउने काममा व्यस्त भइन् । अक्षर चिन्ने रहर अधुरै थियो । ‘बच्चालाई हुर्काएपछि बल्ल पढ्ने पालो आयो,’ उनी भन्छिन्, ‘स्कुल आउँदा, स्कुलको गृहकार्य गर्दा र घरको काम गर्दा समय गएको पत्तै हुँदैन ।’ 

स्कुल भर्ना भए पनि नियमित स्कुल पढ्न आउने महिला सङ्ख्या न्युन हुने प्रगतिशील नेपाल संस्थाकी अध्यक्ष तथा भद्र नेत्र वैकल्पिक महिला विद्यालयकी प्रमुख दुर्गा थापाले बताइन् । ‘घरको  सबै काम फत्ते गरेर मात्रै खाली समयमा स्कुल आउँछन्,’ उनी भन्छिन्, ‘घरमा पाहुना आएमा, आफै वा घरकै सदस्य बिरामी भए स्कुल आउन पाउँदैनन् ।’

घरमा श्रीमानसहित पढेलेखेका अन्य सदस्यले निरक्षर हुँदा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा हेप्ने गर्छन् । अक्षर चिन्न सक्ने भएपछि महिलाहरुमा आत्मविश्वास बढेको देख्दा अचम्म लाग्ने उनले बताइन् । सांसद, सचिव, उपसचिव, वकिल र अन्य पेसा व्यवसायमा लागेका श्रीमानका श्रीमतीसमेत अहिले पढ्न आउन थालेका छन् । कतिपयले त आफ्नो घरपरिवारको प्रतिष्ठाका खातिर आफूलाई भर्खर स्कुल जान थालेको भनेर चिनाएका छैनन् । उनीहरुले स्कुल आउँदा मन्दिर वा अन्य ठाउँमा जाने भनेर ढाँटेर अरूको आँखा छल्ने गरेका छन् ।

माध्यमिक तहको स्कुल सञ्चालन गर्ने भनेर सम्बन्धन लिए पनि आर्थिक अभावका कारण प्राथमिक तहसम्म मात्रै कक्षा सञ्चालन गरेको विद्यालय प्रमुख थापाले बताइन् । आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक विकास गर्नका लागि सरकार अन्य गैरसरकारी सङ्घ संस्थाले काम गरे पनि निरक्षर महिलालाई साक्षर बनाउनका लागि कमले मात्र काम गरेको उनको भनाइ छ । राजधानीमा २० वर्ष कटेका र ६० वर्ष ननाघेका निरक्षर महिलाको सङ्ख्या धेरै भएको उनले बताइन् । 

राष्ट्रभाषा वा मातृभाषाका वर्णअक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने भए पनि साक्षर भनेर घोषणा गरेका स्थान तथा राजधानीमा पनि पुरुषको तुलनामा महिला निरक्षर धेरै छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...