शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकार र निजी क्षेत्रले हातेमालो गर्न आवश्यक छ : मुख्यमन्त्री पोखरेल

बिहीबार, २८ कात्तिक २०७६, २० : ५९
बिहीबार, २८ कात्तिक २०७६

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यवसायलाई सुरक्षित बनाउन सरकार र निजी क्षेत्र हातेमालो गर्न आवश्यक रहेको बताएका छन् । उनले व्यवसायीलाई सरकारसँग हातेमोलो गरेर सुरक्षितरुपले व्यवसायलाई सञ्चालन गर्न आग्रह गरे । 

रुपन्देही व्यापार सङ्घको १८औँ साधारणसभा तथा १०औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मुख्य बजार क्षेत्रसँगै व्यापारिक प्रतिष्ठानलाई पनि प्रविधिको निगरानीमा राखेर सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे । 

यसका लागि सबै क्षेत्रसँग हातेमालो गर्न उनले आग्रह गरे । मुख्यमन्त्री पोखरेलले व्यावसायिक क्षेत्रमा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो भएकाले यसलाई औपचारिक अर्थतन्त्रमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । 

“जबसम्म अनौपचारिक अर्थतन्त्रको आकार घट्दैन तबसम्म करको दर घट्न सक्दैन”, उनले भने । 

बुटवलको राजमार्ग चौराहादेखि चिडियाफेदीसम्म सडक निर्माणको काममा भएको अवरोधका विषयमा मुख्यमन्त्री पोखरेलले आज सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरे । उनले सडक सीमा मिचेर बनाइएका घरमा व्यापार व्यवसाय नगर्न तथा त्यस्ता संरचना खाली गर्न व्यवसायीलाई आग्रह गरे । 

उक्त सडक निर्माणको कानूनी विवादको टुङ्गो नलाग्दा ठेक्का सम्झौता भएको करीब तीन वर्ष बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । सडक छेउका जग्गा तथा घरधनीले पटकपटक अदालतमार्फत अवरोध गर्दा काम अघि बढ्न नसकेपछि नेकपाका नेताले सडक निर्माणमा अवरोध नगर्न सार्वजनिकरुपमै आग्रह गर्दै आएका छन् । 

उक्त सडक अवरोधका विषयमा केही दिन अघि नेकपाका महासचिव विष्णुप्रसाद पौडेल तथा नेकपाका नेता एवम राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले बुटवलमा पत्रकारसँग सडक विस्तारको काम कुनै पनि अवस्थामा रोक्न नहुने र विस्तारको काम अघि बढ्ने बताएका थिए ।

मुख्यमन्त्री पोखरेलले समेत व्यवसायीकै कार्यक्रममा सार्वजनिकरुपमा सडक विस्तारको काममा अवरोध हटाउन आग्रह गर्दै सडकको सीमा मिचेकाका घरमा व्यापार, व्यवसाय नगर्न, बैंक वित्तीय संस्थासमेत अन्यत्र सार्ने काममा सरकारलाई साथ दिन आग्रह गरे । 

उनले बुटवलको कालिका पथ सडक विस्तारमा समेत अवरोध गर्न अदालतमा कानूनी बाटो अवलम्बन गर्न थालेको भन्ने सुन्नमा आएको भन्दै विकासका लागि एउटै क्षेत्रको लागि पटकपटक अवसर नआउने र परिर्वतनका लागि केही न केही त्याग गर्न तयार हुन बुटवलवासीलाई आग्रह गरे।

वैदेशिक ऋणमै भए पनि सरकारले विकास निर्माणका काम गरिरहेको र यसमा अवरोध हुँदा निर्माणमा ढिलाइका कारण ब्याजसमेत बढ्दै जाने भएकाले गम्भीर हुनु आवश्यक रहेको उनको भनाइ थियो । 

मुख्यमन्त्री पोखरेलले सीमित व्यक्तिको क्षणिक र केहीको राजनीतिक स्वार्थका लागि विकासको काममा अवरोध भएको भन्दै विकास निर्माण अवरोध हँुदा बुटवलको व्यवसायीलाई मात्र होइन राजनीतिक र सामाजिक हिसाबले समेत नोक्सान हुने बताए ।

 उनले बुटवल, भैरहवालगायत क्षेत्रमा आर्थिक अपराधका लक्षण देखिन थालेको भन्दै  आर्थिक अपराधको पृष्ठभूमि अवैधानिक कारोवारलाई सुधार गर्न जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप