बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ उपनिर्वाचन : श्रीमानको सपना पूरा गर्ने विमलाको चाहना

बिहीबार, २८ कात्तिक २०७६, १९ : ५०
बिहीबार, २८ कात्तिक २०७६

दाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ ।

सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् ।

अहिले यहाँको तुलसीपुर बजारका चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । निर्वाचनका लागि दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकप)ले विमला खत्री, नेपाली काङ्ग्रेसबाट केशव आचार्य, राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी चुनावी मैदानमा छन् ।

त्यस्तै नेपाली काङ्ग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा छन् । । स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावमा उत्रिएका छन् । 

चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खत्री र नेपाली काङ्ग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा रहेको छ । नेकपाका उम्मेदवार  खत्रीले आफ्ना श्रीमान्को अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताइन् । उनले आफू विजयी हुनेमा ढुक्क रहेको बताइन् ।
 
त्यस्तै काङ्ग्रेस उम्मेदवार आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःखसुखमा साथ दिएकाले पार्टीबाट यसपटक टिकट पाएपछि चुनावी मैदानमा उत्रिएको बताए ।

उनले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुटउपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको ।

नेकपाका उम्मेदवार खत्री यसअघि सवारी दुर्घटनामा परी निधन भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी धर्मपत्नी हुन् । आचार्य काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा सो क्षेत्रका पुराना नेताका रूपमा चिनिन्छन् ।

यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७०  मत प्राप्त गरी विजयी भएको थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका बुद्धिराम भण्डारी १७ हजार ५३५ मत ल्याई पराजित भएको थिए । 

दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिएका छन् । पुरुष मतदाता ३३ हजार ७७८ र महिला मतदाताको सङ्ख्या ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् । 

दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । दाङ निर्वाचन क्षेत्र नं ३ को ९२० मा ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचन सुरक्षा कार्ययोजना बनाई कार्यान्वयन गरिसकेको जानकारी दिए । 

उनका अनुसार निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि सबै ठाउँमा प्रहरी खटाइसकेको उहाँको भनाइ छ । आगामी मङ्सिर १ गतेदेखि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने प्रजिअ रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप