मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहबाट बच्न जीवनशैलीमा परिवर्तन आवश्यक

बिहीबार, २८ कात्तिक २०७६, १९ : ०१
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । मधुमेहबाट बच्न व्यक्तिले जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक भएको आज यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

विश्व मधुमेह दिवसको अवसरमा नेपाल मधुमेह समाज तथा काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा सहभागी विज्ञले नेपालको शहरी क्षेत्रमा दिनदिनै मधुमेहका बिरामीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

अस्वस्थ्यकर खानपान, व्यायाम तथा बदलिँदो समयसँगै काम गर्ने जीवनशैलीमा परिवर्तन, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, समय समयमा चिकित्सक कहाँ स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण शहरी क्षेत्रमा मधुमेहका बिरामी तथा मोटोपनको समस्यामा वृद्धि भएको उनीहरुको धारणा थियो । 

काठमाडौँका विभिन्न विद्यालयमार्फत विद्यार्थी तथा सम्बन्धित परिवारसम्म मधुमेहबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मधुमेह रोगको नियन्त्रणमा प्रधानाध्यापकको भूमिका’ विषयक विचार गोष्ठीमा काठमाडौँ महानगरपालिकाभित्रका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक सहभागी छन् । 
सो विचार गोष्ठीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल मधुमेह समाजले ५३ वर्षदेखि मधुमेहसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि रोग घट्नुको साटो बढ्दै गएकामा चिन्ता व्यक्त गरे ।

 रोगलाई सके निर्मूल गर्ने तथा नसके न्यूनीकरण गर्नेतर्फ सरकार, कामपा, स्वास्थ्यसँग सम्बद्ध संस्था तथा जनसमुदायको हातेमालो आवश्यक भएको उनको भनाइ थियो । 

कामपाका कार्यकारी निर्देशक केदार न्यौपानेले महानगरपालिकाले समाजसँग सहकार्य गरी मधुमेह नियन्त्रण गर्न सहयोगीको भूमिका निर्वाह गर्दै आएको जानकारी दिए ।

नेपाल मधुमेह समाजका अध्यक्ष शिव श्रेष्ठले मधुमेहले काठमाडौँ तथा देशभर नै प्रभावित पारेको बताए । बिलासिता जीवन र खानपानमा ध्यान नदिँदा मुधमेह रोगीको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । 

समाजका वरिष्ठ सदस्य एवं कार्यक्रम संयोजक डा चुन्दा बज्राचार्य, समाजका संस्थापक अध्यक्ष मृगेन्द्रराज पाण्डे, मधुमेह तथा थाइराइड विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठ र खाद्य प्रविधि विशेषज्ञ आलोक श्रेष्ठले कारखानाबाट प्रशोधित भई उत्पादन भएका खाद्यवस्तुको सेवन यो रोगको प्रमुख कारण भएकाले विद्यालय क्षेत्र तथा परिवारभित्र ‘जङ्कफुड’ तथा ‘अल्ट्राप्रोसेस्ड’ खानेकुराको प्रयोगमा कमी ल्याउन  सुझाव दिए ।

 हाडरोग विशेषज्ञ डा शैलाज रन्जितकार, तिलगङ्गा अप्थाल्मोलोजी इन्ष्टिच्युटका नेत्ररोग विशेषज्ञ डा इली प्रधान र मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुलाई स्वस्थ्य राख्न मधुमेह लाग्न नदिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप