बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी दाजुभाइ जसले भारत–पाकिस्तानका लागि छुट्टा छुट्टै युद्ध लडे

शुक्रबार, ०२ भदौ २०७४, १२ : ५०
शुक्रबार, ०२ भदौ २०७४

उमर दराज नंगियाना/ बीबीसी

७० वर्ष पहिले गेब्रिएल जोजेफ २२ वर्षका युवा थिए जब उनले आफ्नो खुशपुर छोडेका थिए । जागिर खोज्ने शिलशिलामा घरबाट निस्किएका गेब्रिएल त्यसपछि कहिले घर फर्कन पाएनन् । मृत्युवरण गर्नु पूर्व उनी दुई पटक मात्र आफ्नो परिवारलाई भेट्न सके । यद्यपी, उनी घरबाट केवल केही सय किलोमिटर टाढा अमृतसरमा नै बस्दथे ।

यतिमात्र होइन, यतिबेला ग्रेब्रिएलले कम्तीमा दुईवटा युद्ध लडे र एकपटक आफूभन्दा दुई वर्ष जेठा दाइको सामुन्ने पनि आए । यी दाजुभाइ दुई विभिन्न देशको सेनामा थिए ।

संयुक्त भारतमा पंजाबको शहर लायलपुर र अहिलेको फैसलवादमा रहेको खुशपुर एक सानो इसाई गाउँ हो जुन २० औं शताब्दीमा बेल्जियमबाट आउने धर्म प्रचारहरुले भरियो ।

यहाँ एक शानदार चर्च बनाइएको थियो जुन अहिले पनि छ । त्यसको पछाडि पुरुष विद्यालय पनि यस्तै प्रकारले स्थापित छ ।

ग्रेब्रिएल जोजेफको परिवार पनि यही आएर बसेको थियो र यसै स्कूलबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि उनीलगायत केही साथीले जागिरको खाजी गर्ने सोच बनाए । त्यसपछि उनीहरु हिँड्दा हिँड्दा अमृतसर पुगे त्यहाँ केही आफन्तको सल्लाहमा भारतीय सेनामा भर्ना भए ।

उता लायलपुरमा गेब्रिएलभन्दा दुई वर्ष जेठा उनका दाइ राफेल जोन पहिलेदेखि नै सेनामा काम गरिरहेका थिए । गेब्रिएल र उनका परिवारले अमृतसर घरभन्दा धेरै टाढा नभएकाले आरामसँग आवतजावत गर्न सकिने सोचका थिए ।

तर यस्तो स्थितीको सृजना भयो जसबारे उनीहरुले कहिले पनि सोचेका थिएनन् । सन् १९४७ मा अगस्ट १५ तारिखमा भारत विभाजित भयो । दुई नयाँ देश बने – भारत र पाकिस्तान । त्यतिबेला लायलपुर र वर्तमान फैसलाबाद पाकिस्तानले पायो र अमृतसर भारतमा रह्यो ।

राफेल र परिवार पाकिस्तानमा रहे भने गेब्रिएल भारतमा नै रहे । बीबीसीसँग कुराकानी गर्दै दुई दाजुभाइको कहानी सुनाउने राफेल जोनकी छोरी एस्टिला जोनका अनुसार सुरुवातमा ग्रेब्रिएललाई अनुमान थिएन कि विभाजनका साथ उनी आफ्नो परिवारसँग सधैंका लागि छुट्टिएका थिए ।

६४ वर्षीया एस्टिला आजकाल पाकिस्तानको पंजाब प्रान्तको शहर लाहोरमा बस्छिन् । उनका अनुसार उनको परिवारले गेब्रिएलका लागि पाकिस्तान आउजाउ गर्न कुनै समस्या नहुने सोचेका थिए ।

सन् १९७८ मा भतिजीसँग भेटः

एस्टिलाले घर कहिले फिर्ता हुने भनेर प्रश्न सोध्दा उनले ‘हामीलाई यी दुई अलग देश बन्नेछन् भन्ने थाहा थिएन । हामीले यी सब अफवाह हुन् भनेर सोच्थ्यौं, कसैले पनि यो विश्वास गर्दैनथ्यो’ भन्ने जवाफ पाएको बताइन् ।

एस्टिलाले आफ्ना काका गेब्रिएलसँग पहिलो भेट सन् १९७८ मा भएको जब उनी काकालाई भेट्न भारत पुगेको बताइन् । योभन्दा अघि एस्टिलाले काकालाई तस्बिर, खाता वा आफन्तको कहानीमार्फत चिन्दथिन् ।

विभाजनको एक वर्षपछि भारत र पाकिस्तानमा कश्मिरको विषयमा पहिलो लडाईं भयो । दुबै भाइ विरोधी सेनामा आमने सामने थिए । एस्टिलाका अनुसार त्यतिबेला दुबैका आमा–बुवा निकै तनावमा थिए ।

सन् १९६० मा बुवाको आग्रहमा गेब्रिएल जोजेफले सेनाबाट राजीनामा दिए । पाँच वर्ष पछि भारत र पाकिस्तानबिच दोस्रो युद्ध सुरु हुँदा उनलाई यसमा भाग लिनका लागि फिर्ता बोलाइयो ।

परिवारलाई युद्धबारे कुरा गरेको मन पर्दैनथ्योः

एस्टिला भन्छिन्, ‘जे पनि हुन सक्थ्यो । दुबैमध्ये जसको पनि मृत्यु हुनसक्थ्यो । मलाई याद छ यस्तै सोचेर मेरा हजुरबुवा डाँको छोडेर रुनुहुन्थ्यो ।’ तर सौभाग्य भनुँ राफेल शारिरिक रुपले युद्ध अनुरुप नभएकाले उनलाई घर फिर्ता पठाइयो ।

एस्टिलालाई थाहा थिएन कि उनका काकाले भारतीय सेनामा रहेर पाकिस्तानविरुद्ध सन् १९७१ मा भएको तेस्रो लडाईंमा पनि भाग लिएका थिए किनभने न त उनको परिवार यसबारे कुरा गर्न रुचाउँथे न नै उनीहरु यसबारे सोध्ने हिम्मत जुटाउन सक्थे ।

उनी भन्छिन्, ‘युद्धबारे कुरा गर्नु हाम्रो परिवारका लागि निकै ठूलो दुःख थियो ।’ यद्यपी, उनले एस्टिलालाई बताएका थिए कि सन् १९४७ मा पहिलो पटक जब क्रिसमस आयो र उनका अन्य साथी घर जान थाले तब उनलाई पनि आफ्नो घर जाने रहर पलाएको थियो ।’

एस्टिला भन्छिन्, ‘तर अब दुई देश बनिसकेको थियो र उनको घर सीमा पारी थियो । तर पनि उनले घर जाने कोसिस गरे तर यसमा सफलता हाँसिल गर्न सकेनन् ।

चिट्ठीमार्फत हुन्थ्यो कुराकानीः

सेनामा हुँदा न गेब्रिएल पाकिस्तान आउन सक्थे न राफेल भारत जान सक्थे । यतिबेला दुबै भाइको विवाह पनि भयो । यतिबेला पनि उनी एक अर्कालाई भेट्न सकेनन् । राफेलको विवाह सन् १९४९ मा भयो जसको केही समयपछि उनको भाइको विवाह भारतमा भयो ।

एस्टिला भन्छिन्, ‘मेरो काकाको इलाकामा सिस्टर्जको एक स्कूल थियो जहाँ मेरी काकी शिक्षिका थिइन् । उनले मेरा काकालाई विवाहको प्रस्ताव राखिन् जसलाई उनले स्विकार गरे ।’

त्यतिबेला गेब्रिएलको राफेल र अन्य भाइ बहिनीसँग पत्रमार्फत कुराकानी हुने गर्दथ्यो । केही समयपछि खुशपुर र अमृतसरमा सार्वजनिक फोन गर्ने अफिस खुल्दा दुबैले पहिलो पटक एक–अर्काको आवाज सुन्न पाए ।

यद्यपी, एस्टिलाका अनुसार उनका परिवार गेब्रिएललाई अधिक फोन पनि गर्न सक्दैनथ्यो किनभने उनी सेनामा थिए । उनी भन्छिन्, ‘हामीले धेरै फोन गरे पाकिस्तानबाट तिमीलाई किन यति धेरै फोन आउँदा भनेर प्रश्न सोधिन्थ्यो ।’

५० वर्षको उमेरमा पुगे आफ्नो घरः

७० को दशकमा भारतीय सेनाबाट स्थायी अवकाश लिएपछि पहिलोपटक गेब्रिएल पाकिस्तानस्थित आफ्नो पैतृक घर गए जसलाई उनले ३० वर्ष पहिले छोडेका थिए । १९ वर्षीय किशोर अब ५० वर्षको अधबैंसे भइसकेका थिए ।

उनका आमा बुवाले उनलाई एकपटक पुनः देख्ने इच्छा मनमा लिँदै केही वर्ष पहिले मृत्युवरण गरिसकेका थिए । गेब्रिएलको विवाह पछि उनका आमा–बुवा एकपटक मात्र उनलाई भेट्न भारत जान पाएका थिए । एस्टिला भन्छिन्, ‘त्यसपछि उनीहरुसँग भिसा कुर्दै लाइनमा उभिन हिम्मत थिएन । आफ्नो छोरालाई याद गर्दागर्दै उनीहरुको मृत्यु भयो ।’

गेब्रिएलले आफ्ना मृत आमाबुवाको अन्तिम दर्शन गर्न पाएका थिएनन् । एस्टिलाका अनुसार जब गेब्रिएल पहिलोपटक खुशपुर आफ्नो घर फर्किए तब त्यहाँ चाडपर्वजस्तो स्थिती बन्यो । गाउँलाई सजाइयो र ढोल बजाइयो । गेब्रिएल आफ्नो घर हेरेर निकै दङ्ग भए ।

८२ वर्षको उमेरमा गेब्रिएलको मृत्यु आफ्नो दाइको मृत्युको दुई वर्षपछि सन् २०१४ मा भयो । एस्टिलाका अनुसार उनलाई जीवनभरी यो दुःख रह्यो कि उनी परिवारसँग टाढा भएर एक्लै बस्न बाध्य भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप