शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भदौ ५ को प्रतिक्षामा राजपा नेपाल

शुक्रबार, ०२ भदौ २०७४, १८ : ००
शुक्रबार, ०२ भदौ २०७४

काठमाडौँ – संविधान संशोधनको विधेयकमाथि भदौ ५ गते चुनाव हुँदैछ । चुनावपछि दुई नम्बर प्रदेशको राजनीतिकले एउटा नयाँ कोर्स लिने पक्का छ ।
दुई नम्बर प्रदेशको राजनीतिमा मात्र सिमित भएको राष्ट्रिय जनता पार्टी नेपाल भदौ पाँच गतेलाई ब्यग्रताका साथ पर्खेर बसेको छ । राजपा नेपाल अझै पनि सविधान संशोधन विधेयक पारित हुनेमा आशावादी देखिन्छ । र, त्यही आशासहित राजपा नेपाल चुनावको तयारीमा लागेको छ ।

संविधान संशोधन विधेयक बाहेक अन्य मागहरु सरकारले पूरा गरि दिएपछि राजपा नेपालका लागि चुनावको वातावरण तयार भएको हो । चुनावको वातावरण तयार भएकै कारण राजपा नेपालले संशोधन विधेयकलाई प्रकृयामा लैजान सत्तारुढ दललाई दबाब दिएको थियो । सो दलका नेताहरुले विधेयकमाथि हुने मतदानबाट आउने परिणामलाई स्वीकार गर्ने भनिसकेका छन् ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव भन्छन्, ‘संशोधन विधेयकलाई अल्झाई राखेर तीन दलले त्यसमा खेलिरहेका थिए । त्यसैको नाममा नेताहरुले राजनीतिक बार्गेनिङ्ग गरिरहेका थिए । त्यही भएर हामीले यो लफडा अन्त्य गर्न यो विधि अपनाएका हौँ ।’

‘यो संशोधन विधेयक पारित गराउनका लागि चुनाव भयो भने यसबाट मधेसको पक्ष र विपक्षमा रहेका दलहरु चिनिनेछन् । कसले पक्षमा मतदान गरे, कसले विपक्षमा मतदान गरे भन्ने चुनावमा त्यसको हिसाब किताब लिइनेछ,’ उनले भने । संविधान संशोधनकै लागि मधेशी जनताले बलिदानी दिए तर आज कुनै दलले त्यसको विरुद्धमा मतदान गर्छ भने मधेशी जनताले त्यसको हिसाब किताब गर्ने अध्यक्ष यादवले दावी गरे ।

विधेयक प्रकृयामा गईसकेको छ । तर, अझै पनि त्यो पास हुन्छ भन्ने कुराको सुनिश्चितता हुन सकिरहेको छैन । एमाले र राप्रपा विधेयकप्रति अझै सकारात्मक भएको अवस्था छैन । ती दलहरुलाई विधेयकमा समर्थन गर्नका लागि मनाउने कुनै प्रयास पनि भएको छैन । यस अवस्थामा विधेयक पारित हुने सम्भावना कमै देखिएको छ ।

मधेश राजनीतिकका जानकार तुलानारायण साह पनि यो विधेयक पारित हुनेमा विश्वस्त छैनन् । उनी भन्छन्, ‘मलाई लाग्दैन कि विधेयक पारित हुन्छ किनभने पारित हुन नदिनका लागि प्लानिङ्गहरु भइसकेका छन् ।’ तर, विधेयक पारित भएपनि नभएपनि राजपा नेपाल चुनावमा जाने कुरा साहको दावी छ ।

यता, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो भन्छन्, ‘चुनावमा जाने नजाने सुनिश्चित नभएपनि चुनावका लागि सरकारात्मक वतावरण तयार भएको छ ।’ भदौं ५ गते विधेयकमाथि चुनाव सकिएपछि आएको परिणाममाथि राजपा नेपालले छलफल गरि आफ्नो अगामी धारणा बनाउने बताउँदै अध्यक्ष महतोले विधेयक पारित हुने वातावरण सकारात्मक बन्दै गएको बताए ।

उनले विधेयकमा सहयोग गर्नका लागि आफूहरुले सबै दललाई लिखित रुपमा आग्रह गर्ने बताउँदै उनले एमालेले पनि सहयोग गर्नेमा आफूलाई विश्वास लागेको बताए ।

विधेयक पास भयो भने राजपा नेपालले स्थानीय तहको चुनावमा त्यसलाई मुख्य एजेण्डा बनाएर जनतामा जानेछ । राज्यसँग यत्रो लडाई लडेर संविधान संशोधन गरेर ल्याऔं भनि प्रचार गरेर जनताको मत तान्ने उनीहरुको रणनीति रहेको छ । यदि पास नभए त्यसलाई पनि मुद्दा बनाएर चुनावमा भाग लिने राजपानको तयारी छ । जुन दलहरुले विधेयकमा विरुद्ध मतदान गरेका हुन्छन्, त्यसको भण्डाफोर गरेर जनताको मत तान्ने तयारीमा राजपा नेपाल रहेको बुझिएको छ ।       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप