शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीको बैठक : सरकारमै बस्ला कि बाहिरिएला ?

राजपासँगको एकताको विषयमा छलफल हुने
बिहीबार, २८ कात्तिक २०७६, १० : २३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । सत्ता साझेदार दल समाजवादी पार्टीले सरकारमै रहने वा बाहिरिने भन्नेबारे आन्तरिक रुपमा औपचारिक छलफल थाल्दैछ । बिहीबार राजधानीमा बस्ने सो पार्टीको संघीय परिषद बैठकमा सरकारमा बसिरहने वा बाहिरिने भन्नेबारे छलफल हुने भएको हो ।

संघीय परिषद बैठक लगत्तै पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्दैछ । शुक्रबार र शनिबार बस्ने केन्द्रीय समितिको बैठकले संघीय परिषद बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक संघीय परिषद र केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

यस अतिरिक्त बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पार्टी एकता गर्ने या नगर्ने भन्नेबारे समेत छलफल हुने जनाइएको छ । पार्टीभित्र सरकारमा रहिरहने र बाहिरिनुपर्ने दुईथरी मत देखिएको छ । त्यस्तै राजपासँगे एकता गर्ने र नगर्नेबारे पनि दुईथरी मत नै विद्यमान छ ।

राजपाले पार्टी एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राखेको छ । समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकताका सन्दर्भमा औपचारिक छलफल नगर्ने राजपाको धारणा छ । राजपाको सोही शर्तका सन्दर्भमा समेत समाजवादी पार्टीले आन्तरिक बैठकमा गम्भीर छलफल गर्ने जनाइएको छ ।


‘बैठकपछि सरकारमा बसिरहने या बाहिरिने तथा राजपासँग एकता गर्ने या नगर्ने भन्ने सन्दर्भमा प्रष्ट धारणा सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो, ‘पार्टीले अब प्रष्ट दिशा र गति लिन्छ ।’

पार्टीका केही नेताहरु तत्काल सरकार छाडेर संविधान संशोधनसहितका मुद्दा लिएर जनतामा जानुपर्ने पक्षमा छन् भने अर्काथरीले सरकारमै रहेर संविधान संशोधनका लागि सार्थक पहल गर्नुपर्ने तर्क गरिरहेका छन् ।

केही अघि प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा रहेर विपक्षीको जस्तो भूमिका निर्वाह नगर्न चेतावनी दिँदै सरकारलाई असहयोग गर्ने हो भने तत्काल सरकार छाड्न सुझाव दिएको तथ्य प्रकाशमा आएको थियो ।


समाजवादी पार्टीले भने प्रदेश प्रमुख नियुक्तिमा आफूसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो । सत्ता साझेदार दल भएर पनि सातवटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्दा आफूहरुसँग छलफल नगरेको भन्दै समाजवादी पार्टीका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

समाजवादी पार्टीका नेताहरुको सोही असन्तुष्टिपछि प्रधानमन्त्री ओलीले सरकारका निर्णयको विरोध गर्ने भए सरकारबाट बाहिरिन सुझाव दिएको बताइन्छ ।

करिब डेढ वर्षअघि दुई बुँदे सहमति गर्दै समाजवादी पार्टी सरकारमा सामेल भएको थियो । उसले संविधान संशोधनलाई शर्त बनाएको भए पनि सरकारले ‘आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ’ भन्दै तत्काल संविधान संशोधनको आवश्यकता महसुस नभएको संकेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप