शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विधवा आमा डोला अधिकारीका लागि आत्मनिर्भर योग्य वर खोज्दै छोरा

बिहीबार, २८ कात्तिक २०७६, ०८ : ४५
बिहीबार, २८ कात्तिक २०७६

मलाई आफ्नी विधवा आमा डोला अधिकारीका लागि एक योग्य वर चाहिएको छ । म रोजगारीको सिलसिलामा धेरैजसो घर बाहिर नै बस्छु । जसका कारण मेरी आमा घरमा एक्लै हुन्छिन् । मलाई लाग्छ कि एक्लो जीवन गुजार्नुको साटो सबैलाई राम्रो तरिकाले बाँच्ने अधिकार छ । ’

पश्चिम बंगालको हुगली जिल्लामा फ्रेन्च कोलोनी भएको चन्दननगर धेरैजसो जगद्धात्री पूजा र आकर्षक बत्तीका डिजाइनका लागि चर्चामा रहन्छ ।

तर यसपटक त्यो इलाका एक युवक गौरव अधिकारीको फेसबुकमा लेखिएको यो पोष्टका कारण चर्चामा छ ।

यसै महिना आस्था नामकी एक युवतीले पनि आफ्नी आमाका लागि ५० वर्षका एक सुन्दर व्यक्तिको खोजीको एक ट्वीट गरेकी थिइन् । त्यो ट्वीट निकै भाइरल भएको थियो ।


आस्थाले आफ्नी आमाका लागि जुन व्यक्ति खोजिरहेकी थिइन् ती व्यक्ति जीवनमा स्थापित हुनुपर्ने र शाकाहारी हुनुपर्ने शर्त राखेकी थिइन् । त्यसबाहेक मद्यपान पनि नगर्ने खालको हुनुपर्ने बताएकी थिइन् ।

पाँच वर्षअघि गौरवका पिताको निधन भएको थियो । त्यसपछि ४५ वर्षीया उनकी आमा घरमा एक्लै भइन् । तर आखिर उनले फेसबुकमा यस्तो पोष्ट किन लेखे ?

गौरव भन्छन्, ‘मेरा बुवा कुल्टीमा काम गर्नुहुन्थ्यो । सन् २०१४ मा उहाँको निधन भएपछि आमा एक्लै हुनुभयो । म आमाबुवाको एक्लो सन्तान हुँ । म बिहान सात बजे नै काममा जान्छु र फर्कंदा राती भइसकेको हुन्छ । दिनभरी आमा एक्लै बस्नुहुन्छ । मलाई महसुस भयो कि हरेक व्यक्तिलाई साथी वा मित्रको आवश्यकता हुन्छ ।’

के तपाईंले यो पोष्ट लेख्नुअघि आमासँग यसबारे कुरा गर्नुभयो ?

गौरवले भने, ‘मैले आमासँग पनि कुरा गरेको थिएँ । आमाले मेरा बारे सोचिरहनुभएको थियो । तर मैले पनि उहाँबारे सोच्नुपर्छ । एक सन्तानको रुपमा म चाहन्छु कि आमाको बाँकी जीवन राम्रो तरिकाले बितोस् ।’

के लेखेका थिए गौरवले ?

गौरवले आखिर आफ्नो फेसबुक पोष्टमा के लेखेका छन् ? उनले लेखेका छन्, ‘मेरी आमाको नाम डोला अधिकारी हो । मेरो बुवाको निधन पाँच वर्ष अघि भएको थियो । जागिरका कारण म धेरैजसो घरबाहिर नै हुन्छु । त्यसो हुँदा आमा एक्लै बस्नुपर्छ । मेरी आमालाई किताब पढ्न र गीत सुन्न एकदमै मनपर्छ । तर म आफ्नी आमाका लागि साथी चाहन्छु । मलाई लाग्दैन कि किताबहरु र गीतले साथीको स्थान लिन सक्छन् । एक्लो जीवन गुजार्नुको साटो उत्कृष्ट तरिकाको जीवनयापन आवश्यक छ । म भविष्यमा थप व्यस्त हुनेछु । विवाह हुनेछ, घर परिवार हुनेछ । तर मेरी आमा ? हामीलाई पैसा वा धन सम्पत्तिको कुनै लोभ छैन । तर भावी वर आत्मनिर्भर भने हुनुपर्छ । ती व्यक्तिले मेरी आमालाई राम्रोसँग राख्नुपर्नेछ । आमाको खुसीमा नै मेरो खुसी छ । यसका लागि कतिले मेरो खिल्ली पनि उडाउन सक्लान् वा कतिले मेरो दिमाग खराब भएको पनि भन्न सक्लान् । मानिसहरु ममाथि हाँस्न पनि सक्लान् । तर त्यसले मेरो निर्णय परिवर्तन हुनेछैन । म आफ्नी आमालाई नयाँ जीवन दिन चाहन्छु । उहाँले एक नयाँ साथी वा मित्र पाए हुन्थ्यो भन्ने मात्र मेरो चाहना हो ।’

उनको यो पोष्टमा कस्ता प्रतिक्रिया आइरहेका छन् ?

गौरव भन्छन्, ‘यो पोष्टपछि कति मानिसहरुले फोन गरेर विवाहका लागि इच्छा देखाएका छन् । यीमध्ये डाक्टर, मरिन इन्जिनियरदेखि शिक्षकसम्म समावेश छन् । तीमध्ये कुनै एक योग्य पात्र छनोट गरेर आमाको दोस्रो विवाह गर्नु नै अहिलेको मेरो प्रमुख लक्ष्य हो ।’

तर के समाजका मानिसहरुले यो पोष्टका लागि मजाक उडाइरहेका छैनन् ?

गौरव भन्छन्, ‘पिठ्युँ पछाडि त मानिसहरुले लाखौं कुराहरु गर्छन् नि । तर अगाडि अहिलेसम्म कसैले पनि केही भनेका छैनन् । कतिले प्रचार पाउनका लागि यो पोष्ट लेखेको पनि भन्छन् । धेरैजसो युवा युवतीले मैले झैं आफ्ना आमा–बुवाबारे पक्कै पनि सोच्नुहुन्छ होला । तर समाजको डरले अघि बढ्न हिम्मत जुटाउन सक्दैनन् ।’

आफ्नो यो पहलले अन्य व्यक्ति पनि अगाडि आउने गौरवलाई आशा छ ।

गौरव जुन बऊबाजार इलाकामा बस्छन् त्यही स्थानमा शुभमय दत्त भन्छन्, ‘यो राम्रो पहल हो । धेरै मानिसहरु कम उमेरमा नै श्रीमान् वा श्रीमतीको निधनले एक्लो हुन्छन् । छाक टार्ने व्यस्तताका कारण सन्तानले पनि उनीहरुको राम्रोसँग हेरविचार गर्न सक्दैनन् । यस्तोमा जीवनको दोस्रो अध्यायको सुरुवातको विचार नराम्रो होइन ।’

एक सामाजिक संगठन मानविक वेलफेयर सोसयटीका सदस्य सोमेन भट्टाचार्य भन्छन्, ‘यो पहल सराहनीय हो । मानिसहरुले त केही न केही भनिरहन्छन् । तर आमाको भविष्यबारे एक छोराको यो चिन्ता समाजको परिवर्तित मानसिकताको संकेत हो ।’

प्रभाकर एम/ बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप