शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : उपप्रधानमन्त्री बनाउन गौतमलाई राष्ट्रिय सभा सदस्यको अफर, एम्बुलेन्सलाई एक बिरामी बराबर सात हजार कमिसन

त्रिवि परिसरमै यौन दुर्व्यवहार
बिहीबार, २८ कात्तिक २०७६, ०७ : १३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । आज कार्तिक २८ गते बिहीबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपालको भ्रमणको समाचारले स्थान पाएका छन् । त्यस्तै, सडल विस्तार अलपत्र पारेका निर्माण व्यवसायी शारदा अधिकारीविरुद्ध जनआक्रोशको खबर पनि प्रकाशित भएका छन् ।

आजको कान्तिपुर दैनिकले प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र माधवकुमार नेपाललाई प्रधानमन्त्री ओलीले फकाउँदै गरेको समाचार प्रकाशित गरेको छ । प्रम ओलीले गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रिय सभामा लैजाने प्रस्ताव अघि सारेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रिय सभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रुपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतलाई समचारमा उल्लेख गरिएको छ । गौमलाई यस्तो प्रस्ताव गर्न अघि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए ।

यता, प्रम ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भण्डै तीन महिनापछि संवाद भएको छ । तिक्त विवादको ८२ दिनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीच चार घन्टा लामो एक्लाएक्लै छलफल भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । ओली र नेपालबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सञ्चालनसहित समसामयिक राजनीतिक परिस्थिति र भारतसँगको सीमाविवादमा केन्द्रित रहेर चार घन्टा लामो छलफल भएको हो । भेटवार्तामा उनीहरूले तिक्त सम्बन्धको समीक्षा गर्दै कमीकमजोरी दोहोरिन नदिने र संवाद बाक्लो बनाउने सहमतिसमेत गरेका छन् । ५ भदौमा बालुवाटारमा बसेको सचिवालय बैठकमा ओली–नेपालबीच चर्काचर्की परेको थियो । सिंगापुरमा उपचारका लागि जानुअघि डाकिएको बैठकमा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामना ओलीले अस्वीकार गरेपछि भनाभन भएको थियो । ओली–नेपाल सम्बन्ध चिसिएपछि दुवै समूहका कतिपय नेताहरू चिन्तित थिए ।

नागरिक दैनिकले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि थप्न चलखेल भइरहेको समाचार प्रकाशित गरेको छ । गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिज अवधि सकिनुअगावै म्याद थप्न चलखेल सुरु भएको पाइएको समाचारमा बताइएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाल ट्रस्टका नाममा रहेको र यती होल्डिङ्स प्रालिले प्रयोग गरिरहेको दुई हजार सात सय ९२ रोपनी जग्गा लिज अवधि सकिन करिब ६ वर्ष बाँकी छँदै म्याद थप गर्न लागिएको खुल्न आएको हो। स्रोतका अनुसार लिज अविधि थपका लागि सरकारकै उच्च निकायको चासो र चाहना रहेको हो । पाथीभरा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारको स्वामित्वमा रहेको यती होल्डिङ्सलाई लिज अवधि थप्न सञ्चालक समितिको बैठक बस्न लागेको स्रोतको भनाइ छ। नेपाल ट्रस्टका संरक्षकमा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चालक समिति अध्यक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका छन्।

त्यस्तै, पत्रिकामा ९ सय ३१ स्थानमा स्थानमा सीमा अतिक्रमण भएको समाचार पनि प्रकाशित छ । नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९ सय ६१ स्थानमा सीमा अतिक्रमण भएको सशस्त्र प्रहरी बलले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । यता, प्रहरी भारतीय ओरियन्स ग्लोबल नेटवर्किङ व्यवसायको नाममा ठगी धन्दा गर्ने गिरोहका सात नाइकेलाई पक्राउ गरेको छ । पश्चिम नेपालमा लाखौँ रुपैयाँ ठगेको भेटिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले काठमाडौँ–ढाका सञ्जाल अपरिहार्य शीर्षकमा समाचार प्रकाशित गरेको छ ।  बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले सार्क क्षेत्रको विकासका लागि काठमाडौं र ढाकाबीच सम्पर्क सञ्जाल (सडक, रेल, हवाई, जल) अपरिहार्य रहेको बताएको समाचारमा उल्लेख छ। सार्क र बिम्स्टेक मुख्यालय रहेका यी दुई राजधानीबीच सडक, हवाई, रेल र जलमार्गमा सहकार्य भएमा समृद्धिको उचाइमा पुग्न सकिने उनको भनाइ छ। यसका लागि दुवै मुलुकले आ–आफ्नो स्तरबाट पहल गर्नुपर्ने धारणा राष्ट्रपति हमिदले नेपाली उच्चस्तरीय नेताहरूसँग व्यक्त गरेका हुन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालय काठमाडौं र बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिम्स्टेक) सचिवालय ढाकामा छ।

त्यस्तै, पत्रिकाले भारत र चीनको आँखा लिपुलेकमा रहेको भन्दै अर्को समाचार प्रकाशित गरेको छ । भारत र चीनबीच ६६ वर्ष पहिल्यै नेपाली भूभाग लिपुलेकलाई ट्रेड लिंक बनाउने सम्झौता भएको तथ्य बाहिर आएको समाचारमा उललेख गरिएको छ । सरकारले गुपचुप राखेको सीमा विवादसम्बन्धि प्रतिवदेनमा सन् १९५४ मा भारत र चीनबीच दुईपक्षीय सम्झौता भएको बताइएको छ ।

नयाँ पत्रिका दैनिकले एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालले अफर दिने गरेको र एक बिरामी ल्याउनेलाई सात हजार कमिसन समेत दिने गरेको समाचार प्रकाशित गरेको छ । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको समाचारमा उल्लेख छ । भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो ।

यता, रौतहट बम विस्फोट काण्डका मुख्य अरोपीको पक्षमा पैरवी गरिरहेका वरिष्ठ अधिवक्ताहरुले पटक–पटक चुनाव जित्ने लोकप्रिय नेतालाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध रुपमा लागेको जिरिक गरेको समाचार पनि प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकमा त्रिभुवन विश्वविद्यालय परिसरमा नै यौन दुर्व्यवहार हुने गरेको समाचार प्रकाशित छ । त्रिवि परिसर किर्तिपुरमा अपरिचित व्यक्तिले यौनदुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसमा अध्ययनरत छात्राहरुले प्रहरीमा उजुरी दिएका छन् । विश्वविद्यालयको तिनकुनेदेखि केन्द्रीय पुस्ताकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यहार गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ । ‘केटी देख्ने बित्तिकै जिस्काउने, हस्तमैथुन गर्ने युवाहरुको समूह बढ्न थालेपछि उजुरी दिएको,’ एक छात्राले भनिन्, ‘केही साथीहरु पटक–पटक दुर्व्यवहारमा परिसकेकाले बेलैमा सचेत गराएका हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप