शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी सकिन्छ चुरोटको लत छुटाउन

शुक्रबार, ०२ भदौ २०७४, ११ : ०७
शुक्रबार, ०२ भदौ २०७४

प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ वीर हस्पिटल  

चुरोटको लतमा फसेपछि छुटाउन एकदमै गाह्रो पर्छ । यो स्वास्थ्यका लागि हानिकारक छ । हानिकारक हुँदाहुँदै पनि यसको लतमा फस्ने धेरै छन् । कतिपय साथीभाइको लहैलहैमा लागी धूम्रपानको लतमा फसेका छन् भने कतिपय तनाव कम गर्ने बहानामा धूम्रपान गरिरहेका हुन्छन् । धूम्रपान हाम्रो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । यसले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सरजस्ता रोग लाग्छन् ।

धूम्रपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा तयार रहनुपर्छ । धूम्रपान त्याग्न सबैभन्दा महत्वपूर्ण कुरा भनेको आत्मबल जुटाउनु नै हो ।

धूम्रपान छोडेको २४ देखि ४८ घन्टाभित्र अत्यधिक छटपटी हुने, रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता लक्षण देखापर्ने गर्छन् ।

धूम्रपान छाडेपछि पानी धेरै पिउने बानी विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकुमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूम्रपानको लत कम हुन्छ ।

धूम्रपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान या बेलुकाको समयमा प्राणायाम र ध्यान गर्नु उपयुक्त हुन्छ । आफूलाई व्यस्त बनाउनुपर्छ । साथै धूम्रपान गर्ने व्यक्तिहरूबाट टाढै रहनुपर्छ ।

धेरै प्रयास गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ ।

धूम्रपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । धूम्रपान त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप