शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा व्यावसायिक स्याउ उत्पादन बढ्दै

बुधबार, २७ कात्तिक २०७६, ०७ : ०६
बुधबार, २७ कात्तिक २०७६

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा यस वर्ष १७ प्रतिशतले अर्गानिक स्याउको उत्पादनमा वृद्धि भएको छ ।

स्याउ फुल्ने बेलामा हावाहुरी र असिना नपर्नु तथा आवश्यक परेका बेला पानी परेको कारण स्याउको उत्पादनमा वृद्धि भएको हो । ३५० बोट स्याउ लगाएर फल्न थालेका सिमकोट गाउँपालिका–४ की वसन्ती शाहीले यसपालि ५० क्विन्टल स्याउ उत्पादन भएको बताइन् ।

गत वर्षभन्दा उनको फार्ममा स्याउ बढी फलेका थिए । अहिले उक्त स्याउ शाहीले केही सुकुटी बनाएर राखेकी छन् भने बाँकी बोरामा राखेर थन्क्याएकी छन् । शाहीका २० बोट स्याउबाहेक अन्य सबै बोटमा स्याउ राम्रो फलेको थियो ।

यता २५० बोट स्याउ फलाउँदै आएकी सिमकोट–५ की पाटकला रावतले पनि यसपालि गत वर्षभन्दा बढी स्याउ फलेको अनुभव सुनाइन् । उनले ३० क्विन्टलभन्दा बढी स्याउ थन्क्याएकी छन् । सिमकोट बजारमै उनले स्याउ भण्डारण गरेको कारण हाल स्याउ बिक्री भएको छैन ।

हुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । यो क्रम अब बर्सेनि जारी रहने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । हरेक वर्ष स्थानीयहरूले स्याउ लगाउने क्रम जारी राख्दै आएका छन् । यस वर्ष हुम्ला जिल्लामा गत वर्षभन्दा १७ प्रतिशत स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयका प्रमुख चन्द्रभूषण झाले बताए । हुम्ला जिल्लामा चालू आर्थिक वर्षमा २८४ हेक्टर जमिनमा लगाएका स्याउबाट उत्पादन आउन थालेको र यसमा लगाइएका स्याउबाट दुई हजार ५९३ मेट्रिक टन स्याउ उत्पादन भएको विवरण गाउँपालिकाबाट आएको उनले जनाए । गत वर्ष २७० हेक्टरमा खेती गरिएकोमा त्यसबाट दुई हजार १६० मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

गत वर्षभन्दा ४३३ मेट्रिक टन स्याउ बढी उत्पादन भएको देखिन्छ । यस वर्ष स्याउको उत्पादकत्वको अवस्था नौ दशमलव १३ रहेको प्रमुख झाले बताए । एक हेक्टर जमिनमा ३५० बोट स्याउ रोप्न सकिन्छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप