शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी एनजीओका प्रतिनिधिसँग सांसदहरुको ‘रुवाबासी’ !

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ५३
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै रुवावासी गरेका छन् ।

 नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा नेपालका सांसदहरुले यस्तो बिलौना गरेका हुन् । 

कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो–हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन । हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?’  

त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएपछि संसदमा प्रश्न समेत गर्न नपाएको गुनासो गरेका थिए । सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जान नै सक्दैनौँ । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिनुपर्‍यो ।’ 

त्यस्तै अर्की सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘हामी दयनीय अवस्थामा छौँ, हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन,मैले त अमेरिका पनि देखेकी छैन । तपाईहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’ यसरी विदेशी सामू नेपालका सांसदहरुले नेपालकै बेइज्जत गरेका छन् ।

त्यस्तै अर्का सांसद बलराम बास्कोटाले दक्षिण एसियाली मुलुकका संसदहरुले भोग्ने अन्य समास्याबारे प्रकाश पारेका थिए । 

नेपाली सांसदहरुको गुनासो सुनिसकेपछि एचडीपीका प्रतिनिधि बब गुर्लाटे, ब्राडस्मित र सुसन एटीसनले अमेरिकामा सांसदहरुलाई आवश्यक कर्मचारी र खर्चको व्यवस्था त्यहाँको संसदले गर्ने जानकारी गराए । प्रतिनिधि ब्राडस्मितले राष्ट्रपतिलाई समेत सिनेटले नै बजेट छुट्याएउने र त्यसरी छुट्याएको बजेट सिनेटले पास गरेर खर्च गर्ने गरिएको अनुभव सुनाए । 

 अमेरिकी प्रतिनिधिहरुलाई नेपाली सांसदले आफ्नो माथिल्लो निकायमा सिकायत गर्न गरेको आग्रहलाई आफै माग्न सुझाव दिए ।

 ‘आफैले माग्नुभएन भने पाउनुहुन्न, त्यसैले आफै माग्नुस्,’ गुर्लाटेले भने । त्यस्तै उनीहरुले सांसदको महत्त्वपूर्ण काम भनेको नै निगरानी भएकाले त्यसतर्फ लाग्न सुझाव दिए । 

‘श्रोतसाधन नभएपनि इच्छाशक्ति भए काम गर्न सक्नुहुन्छ । झोलाभरी पैसा भएपनि इच्छा भएन भने केही हुँदैन । त्यसैले निगरानीलाई जोड दिनुस्’ अमेरिकी प्रतिनिधिको सुझाव थियो । एचडिपी अमेरिकी संसदमा काम गर्ने पूर्व कर्मचारी र सांसदहरु सहभागी रहेको गैरसरकारी संस्था  हो । 

यही संस्थाको आयोजनामा  मंगलबार ललितपुरमा भएको कार्यक्रममा अमेरिकी संसद र नेपालको संसदीय अभ्यासबारे अन्तर्क्रिया भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप