शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजेन्द्र महतोको संसदीय कोषबाट ‘विकास’:  सडकको बीचमा हातेपम्प !

मङ्गलबार, २६ कात्तिक २०७६, १३ : ०५
मङ्गलबार, २६ कात्तिक २०७६

जनकपुर । प्रतिनिधिसभा अन्तरगत धनुषा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास योजनामा अनियमितता भएको पाइएको छ ।

कार्यकर्ताहरुलाई पाल्नका लागि जाथाभावी रुपमा योजनाहरु वितरण गरिएको कारणले अहिले विभिन्न योजनाहरुमा अनियमितता भएको देखिएको हो ।

खानेपानी योजनाको नाममा कोषबाट कार्यकर्तालाई रकम बाँडिएकोमा कार्यकर्ताहरुले जथाभावी बीच सडकमै चापाकल (ह्यान्डपम्प) हरु गाडेर बाटोलाई नै अस्तव्यस्त बनाउने काम गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा अहिले बीच सडकमा नै चापाकल गाडेर योजनाको दुरुयोग भएको सहजै देख्न सकिन्छ ।

राजपा नेपाल धनुषाका कार्यकर्ता रामचन्द्र पञ्जियारले कोषबाट रकम पाएका थिए । अहिले उनले आफ्नो घरको अगाडी बिच सडकमा नै खानेपानी चापाकल गाडेका छन् । वीच सडकमै चापाकल गाडिएको कारणले सर्वसाधारण तथा चारपाङ्ग्रे सवारीसाधनहरुको आवतजावतमा समेत समस्या भएको छ । सो योजनाका उपभोक्ता समितिका संयोजक रामचन्द्र पञ्जियारले चापाकल गाड्ने ठाउँको आभावको कारणले वाध्यतावस चापाकल सडकमा गाडेको बताए ।

कनैपनि योजना सञ्चालन गर्नु पूर्व सो वडा र उपमहानगरपालिकासंग समन्वय गर्नुपर्ने आवश्यकता हुन्छ । तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा बीच सडकमा नै चापाकल गाड्दा कुनै स्थानीय निकायसँग समन्वय नगरिएको जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष शिवकुमार साहले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका सांसदीय योजना अन्र्तगत गाडिएको अधिकांश खानेपानी योजनामा समेत कुनैपनि चापाकलबाट पानी नआएको स्थानीयवासीहरुको गुनासो रहेको छ ।

सो योजना अन्तरगत जनकपुरधाममा मात्रै १८ वटा चापाकल गाडिएको छ भने करिब ७५ वटा चापाकल धनुषाको क्षेत्र नम्बर ३ को ग्रामिण भेगमा गाडिएको राजपा नेपालका नेता मनोज कुमार चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप