शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध सौराहा : आन्तरिक पर्यटकको चहलपहल

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ०८
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । कुनै समय विदेशी पर्यटकले भरिभराउ हुने चितवनको सौराहा पछिल्लो समय स्वदेशी पर्यटकमा निर्भर छ । पर्यटकीय रुपमा ख्याती कमाएको सौरहामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित सौराहा ‘वाइल्डलाइफ’ पर्यटनका लागि प्रसिद्ध हो । ‘भिजिट नेपाल २०२०’ नजिकिँदै गर्दा चितवनको सौरहामा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको चहलपहल छ ।

आन्तरिक पर्यटकको बढ्दो आकर्षणका कारण सौराहाका होटलमा लगानी गर्ने क्रम पनि उत्तिकै बढेको छ । केही वर्षयता नेपालीमा घुमफिर गर्ने संस्कृति विकास भइरहेका कारण सौरहा आन्तरिक पर्यटनको आकर्षण बन्दै गएको हो ।  

२०७२ सालको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण तहसनहस बनेको सौरहाको पर्यटनलाई अघिल्लो वर्ष पनि आन्तरिक पर्यटनले धानेको थियो ।

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज, जनावर, पंक्षी र थारु संस्कृतिमा अडिएको छ । हात्ती चढेर जङ्गल घुम्ने, वन्यजन्तु हेर्न, राप्ती नदीमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् । 

एक सिङ्गे गैँडापनि सौरहाको प्रमुख आकर्षण हो । सौराहामा नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, प्रणय दिवस लगायतका अवसर पारेर विभिन्न कार्यक्रम समेत आयोजना गरिन्छ ।

‘आन्तरिक पर्यटक बढेर ५० प्रतिशत पुगेका छन्,’ होटल एशोसियसनका अध्यक्ष दीपक भट्टराईले भने, ‘सन् २०२० सम्म ६० प्रतिशत पु¥याउने लक्ष्य राखेका छौँ ।’ यसवर्ष पनि सौरहामा विदेशी पर्यटकको अपेक्षित आगमन नभए पनि आन्तरिक पर्यटक भने आउने क्रम बढिरहेको उनले बताए ।

गत वर्ष १ लाख ८३ हजार पर्यटक सौरहा घुम्न आएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । जसमा ४० प्रतिशत नेपाली पर्यटकले सौरहा घुमेका थिए । यस्तै नेपालपछि दोस्रोमा चीनका पर्यटकले सौरहको अवलोकन गरेको निकुञ्जको भनाइ छ । चीनपछि भारत र यूरोपियन देशका पर्यटकहरुको रोजाईमा पनि सौरहा परेको थियो ।

अध्यक्ष भट्टराई आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक भित्र्याउन राज्यले ध्यान दिनुपर्ने बताए । ‘वाइल्डलाइफ पर्यटनमा अझै सोचेअनुसार बाह्य पर्यटक ल्याउन सकिएको छैन, यसका लागि हाम्रो पहुँच पनि कम छ’, उनले भने ।

निकुञ्ज घुम्नेमा विदेशी पर्यटक बढी भएपनि समग्रमा चितवन आउने विदेशी पर्यटकको संख्यामा कमी आउनु चिन्ताको विषय बनेको होटल ल्यान्डमार्कका सञ्चालक सिएन पाण्डेको भनाइ थियो ।

भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रले तयारी गरेपनि राज्यले सौरहालाई उचित ढङ्गले नहेरेको पाण्डेको गुनासो छ । आन्तरिक होस् या बाह्य पर्यटकको बसाई बढाउन सरकारले कुनै पहल नगरेको पाइएको छ ।

भारत, चीनसँगै सार्क राष्ट्रका केही पर्यटक मात्रै सौरहा आउने गरेका छन् । चितवन आउने विदेशी पर्यटकको रोजाईमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । तर यहाँ आउने अधिकांश स्वदेशी पर्यटक सो निकुञ्ज कमै घुम्छन् । स्वदेशी पर्यटकको रोजाइमा नदीमा डुङ्गा चढ्ने, सामुदायिक वनमा हात्ती र जिप सफारी पर्ने गरेको छ ।

‘छिमेकी राष्ट्र भारत र चीनबाट मात्र नभएर युरोप अमेरिकाका पर्यटकलाई अधिकतम रुपमा सौरहा ल्याउने वातावरण तयार गर्नुपर्छ,’ पाण्डेले भने, ‘स्वदेशभित्रै आन्तरिक पर्यटनलाई विकास गर्ने कुरा राज्यको प्राथमिकतामा पर्नु पनि अपरिहार्य छ ।’

सौरहामा लगभग करोडौं रुपैयाँ बढी लगानी गरेर पर्यटकलाई लक्षित गरी बनाइएका सुविधासम्पन्न होटेलको संख्या १ सय ६० सयभन्दा बढी छ ।

नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि सौरहा अधिकांशको रोजाईमा पर्दै गएको छ । हात्ती सफारी, जिप सफारीका कारण सौरहामा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको होटल व्यवसायीहरुको भनाइ छ ।

चितवनको सौरहा मात्र नभई पर्यटकीय नगरी पोखरा, मनाङ, मुस्ताङलगायत क्षेत्रमा पनि बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढ्दो रहेको छ । अक्टोबरदेखि डिसेम्बरको मध्यसम्म चितवन पर्यटनको महत्वपूर्ण याम हो ।

आजदेखि सौरहामा ‘व्लर्ड रेन्जर कंग्रेस’ सम्मेलन

सौरहामा आजदेखि भिजिट नेपाल २०२० सुरु भएको सन्देश दिन ‘व्लर्ड रेन्जर कंग्रेस’ को सम्मेलन हुन लागेको होटल एशोसियसनका अध्यक्ष भट्टराईले जानकारी दिए ।

सम्मेलनमा ७१ देशका ६ सय मान्छेहरुको उपस्थिति रहने भट्टराईले बताए । भट्टराईले भने, ‘सम्मेलनले भिजिट नेपाल २०२० सुरु भएको सन्देश दिनेछ ।’

सम्मेलनले नेपालले वन्यजन्तु संरक्षण र अनुसन्धानमा हासिल गरेको उपलब्धिका साथै वन्यजन्तु पर्यटनमा पुर्याएको योगदानले विश्वभर सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । चितवन निकुञ्ज वन्यजन्तु सफारीका लागि मुलुककै पहिलो गन्तव्य हो ।

सम्मेलनका दौरान वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अनुभव बटुलेका विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहरण प्रस्तुत गर्नेछन् ।

भट्टराईले सौरहामा नयाँ–नयाँ कार्यक्रम जमर्को गर्ने तयरीमा रहेको पनि बताए । उनले भने, ‘बेलुकाको समयमा प्रत्येक शुक्रबार ‘फुड फेस्टिबल’को आयोजना गर्ने तयारी पनि छ ।

भिजिट नेपाल २०२० काठमाडौँमा उद्घाटन भएपनि समापन चितवनको सौरहमा गर्न राज्यलाई ढकढक्याइरहेको एशोसियसनका अध्यक्ष भट्टराईको भनाइ छ ।

विदेशी पर्यटक किन आउन छाडे नेपाल ?

नेपालमा विदेशी पर्यटकको आगमनमा पूर्वाधार तथा हवाई सञ्जालको कमीले पनि असर गरिरहेको छ । हवाई यातायातको पहुँच नभएकै कारण विदेशी पर्यटकहरु नेपाल घुम्न आउन चाहने पनि अन्यत्र मोडिएको स्थिति रहेको छ ।

सौरहाका अधिकांश होटल व्यवसायी भन्छन्, ‘भारत र चीनका पर्यटक मात्र सौरहामा बढी घुम्न आउँछन् । यद्यपी, युरोप, अमेरिकाका पर्यटक पनि नेपाल आउने त गर्छन् तर, विरलै संख्यामा ।’

हुन पनि हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यो पनि केही समयको आवश्यक्तालाई हेरेर बनाइएको थियो । त्यही पनि अन्तर्राष्टिरूय मापदण्डविपरीत वस्तीहरुको बीचमा रहेको छ ।

यता घरिघरि धावनमार्गको पिच उक्किनेलगायत समस्या पनि भोग्दै आएको स्थिति छ  । यसरी नेपाल आउन चाहने वा आएका सबै विदेशी ठूला हवाईजहाज हाम्रो विमानस्थलले थेग्न नसक्नु नै हो ।

जे भए पनि अब हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यासँगै गुणस्तर बढाउनेतर्फ पनि ध्यान दियौं भने नेपाली पर्यटनले ठूलै उपलब्धी हात पार्ला । नजिकिँदै गरेको भिजिट नेपाल २०२० सफल बनाउन राज्य कुनै कुरामा पछि हट्न हुन्न ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप