बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

EXCLUSIVE : आलमपक्षले अपहरण गरेर पीडितलाई बयान फेर्न लगायो (पीडितको भिडियो बयानसहित)

आलमका सम्धी भारतीय विधायकको घरमा बन्धक, तरुण दलका अध्यक्षले नेपाल ल्याए
मङ्गलबार, २६ कात्तिक २०७६, ११ : ३७
मङ्गलबार, २६ कात्तिक २०७६

रौतहट बम काण्डका आरोपी मोहम्मद अफ्ताब आलम पक्षले बम बिष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।

मङ्गलबार बिहान रातोपाटीसँग विशेष कुराकानी गर्दै बम बिस्फोटका घाइते तथा साक्षी गौरीशंकर राम चमारले आफूलाई आलमपक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् ।

आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेकै बेला सोमबार अपरान्ह अदालत प्रवेश गर्दै सरकारी साक्षीकारुपमा राखिएका भारत सितामढीका गौरीशंकर राम चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन दिएका थिए ।

तर, थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भएपनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएलगत्तै चमारले प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै रोएका थिए । साथै, आलमपक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै जिउज्यानको सुरक्षा गरिदिन पनि आग्रह गरेका थिए ।


चमारले सुरक्षाको माग गरेलगत्तै रौतहट प्रहरीले उनलाई सुरक्षा दिएर राखेको छ ।

अपहरण गरी विधायकको घरमा बन्धक !

राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारलाई सीतामढीबाटै अपहरण गरिएको खुलासा भएको छ । रातोपाटीसँग कुराकानी गर्दै चमारले आफूलाई ४ दिनअगाडि भारत सीतामढीकै मुसाचौकस्थित आफ्नो घरमा बसिरहेको बेला ४–५ जना मानिस जीप लिएर आइ केही काम छ भनी अपहरण गरी आलमका सम्धी शिवहर विधानसभा क्षेत्रका विधायक सरफुद्दिन सेखको घरमा बन्धक बनाइ राखेका थिए । त्यसै समय विधायक सरफुद्दिन र उनका मानिसहरुले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिइ एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

तरुण दल रौतहटका अध्यक्षले ल्याए आलमको घरसम्म

त्यसपछि आइतबार मात्रै चमारलाई भारतको सीमावर्ती बजार बैरगनियाको पटेल चोकमा छोडिएको थियो । त्यहाँ पहिलेदेखिनै दुईवटा मोटरसाइकल लिएर पर्खिरहेका तरुणदल रौतहटका अध्यक्ष सेख नौसादसहित तीनजनाले चमारलाई गौरस्थित अभियुक्त आलमको घरमा ल्याए । अनि चमारलाई ज्यान लिनेसम्मको धम्की दिँदै ‘तिमी अदालतमा गएर बम बिस्फोटमा नभइ स्टोभ पड्केर जलेको भनी बयान दिनु’ भनी सिकाए । आलमका परिवारले धम्की दिँदै आफूहरुले भनेको जस्तो नगरे तिमी र तिम्रो परिवारलाई पनि ‘नराम्रो’ हुने चेतावानी दिए ।


त्यसपछि चमार अदालतमै गएर बयान दिन राजी भए । र, सोमबार अपरान्ह १ बजे एउटा मोटरसाइकलमा राखेर चमारलाई जिल्ला अदालत गौरको गेट अगाडि ल्याएर झारियो ।

त्यसपछि चमार अदालत प्रवेश गर्नै लाग्दा अनुमति नभएको भनी प्रहरीले नियन्त्रणमा लिएपछि चमारले प्रहरीसामु आफूलाई कसरी अपहरण गरेर बयान फेर्न बाध्य पारियो भनी बेलिबिस्तार मात्रै लगाएनन्, आफू र आफ्नो परिवारको जीवनरक्षाको लागि आग्रहसमेत गरे । त्यसपछि प्रहरीले चमारलाई सुरक्षा दिएर राखेको छ ।

अनुहारभरी चोट र दाग रहेका दुई छोरीका बुवा चमारले रातोपाटीसँगको कुराकानीमा बम बिस्फोटमा घाइते भएर ४ महिना उपचार गरेको र त्यसको ऋण अझै तिर्न नसकेको बताए । उनले भने ‘बम बिस्फोटमा घाइते भएपछि सीतामढी सदर अस्पतालमा करिब चार महिना उपचार गराएँ । उपचारका लागि भारत सरकारबाट सो समय प्राप्त गरेको आवास योजनाको रकम, घर बनाउन राखेको केही इँटा बेचेँ भने र २ लाख रुपैयाँभन्दा बढी ऋण लिएर उपचार गराएँ ।’ त्यसपछि अस्पतालबाट छुटेका उनी भारतमै सामान्य मजदुरी गरी जिविकोपार्जन गरिरहेका छन् ।

सम्पत्तिको नाममा एउटा सानो कच्ची घर रहेकाले दैनिक मजदुरी गरेर जीवन चलाउँदै आएको चमारले बताए । घटनाको मुख्य योजनाकार र हत्यारा आलम नै भएको भन्दै उनलाई कारवाही भए आफूलाई सन्तुष्टि मिल्ने पनि बताए ।

वादी नेपाल सरकारको तर्फबाट सरकारी साक्षीका रुपमा उल्लेख गरिएका चमारले यसअघि प्रहरीसमक्ष घटनाको बेलिबिस्तार लगाउँदै आफू कसरी दुर्घटनामा परेँ र के–के भयो भनेर लिखित बयान दिएका छन् । साथै घटनामा संलग्न रहेको भन्दै आलमविरुद्ध किटानी जाहेरीसमेत दिएका थिए ।

(रौतहटबाट सञ्जय मिश्राको सहयोगमा ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप