बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति हमिदको नेपाल भ्रमण : चारवटै सुरक्षा निकाय परिचालन

पहिलो घेरामा नेपाली सेना
मङ्गलबार, २६ कात्तिक २०७६, १० : ४१
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार अपरान्ह नेपाल आउँदैछन् । राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय औपचारिक भ्रमण गर्न लागेका बङ्गलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।   

राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

राष्ट्रपति हमिदको सुरक्षाको भित्री घेरामा नेपाली सेना रहेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी बाहिरी घेरामा रहने छन । राष्ट्रपति हमिद नक्सालस्थित होटल मेरियटमा बस्नेछन् ।

आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै चौविसै घण्टा रहने गरी चारवटै निकायका सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे रथी पाण्डेले बताए ।

अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए । डीआईजी पोखरेलले भने, ‘रेगुलरबाहेक प्रहरी हेडक्वार्टर र आयुक्त कार्यालयबाट राष्ट्रपति हमिदको सुरक्षाको लागि ६ हजार प्रहरी परिचलान गरिएको छ ।’

भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।

नेपाल बसाइका क्रममा राष्ट्रपति होमिदले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नेछन् । सो क्षेत्रहरुमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको डीआईजी पोखरेलको भनाइ छ ।

यसअघि गत असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप