बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि सुखद खबरः भेटियो तेलको विशाल भण्डार

मङ्गलबार, २६ कात्तिक २०७६, ०९ : ३८
मङ्गलबार, २६ कात्तिक २०७६

इरानमा तेलको एउटा विशाल भण्डार भेटिएको छ । एक अनुमानका अनुसार यो तेल भण्डार ५३ अर्ब ब्यारलको हो । इरानका राष्ट्रपति हसन रुहानीले यसबारे घोषणा गरेका छन् । चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद खबर हो । पछिल्लो एक दशकमा इरानको अर्थव्यवस्थाका लागि यसलाई निकै महत्वपूर्ण मानिएको छ ।

यो तेल क्षेत्र दक्षिण–पश्चिम इरानको २, ४०० वर्ग किलोमिटर इलाकामा फैलिएको छ । इरानका राष्ट्रपतिका अनुसार यो इलाका इरानको खुजेस्तान प्रान्तमा छ । ६५ अर्ब ब्यारलयुक्त इरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो ठूलो तेल क्षेत्र हुनेछ ।

तेल निर्यातक देशको संगठन अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज अर्थात् ओपेकको इरान संस्थापक देश हो । इरानसँग अहिले कूल प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारल छ । नयाँ खोजपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशत वृद्धि भएको छ । अमेरिकी इन्फर्मेशन एनर्जी एडमिनिस्ट्रेशनका अनुसार इरान संसारको चौथो सबैभन्दा ठूलो तेल भण्डारयुक्त देश हो र संसारको तेस्रो ठूलो ग्यास भण्डारयुक्त देश हो ।

पछिल्लो महिना इरानले प्राकृतिक ग्यासको नयाँ खोजमार्फत् उसको राजस्वमा ४० अर्ब डलर जुट्ने घोषणा गरेको थियो । रुहानीले यी खोजमार्फत् संसारभरी  इरानसँग तेलको तेस्रो सबैभन्दा ठूलो भण्डार हुने बताएका छन् ।

यो नयाँ भण्डारको घोषणा गर्दै रुहानीले अमेरिकालाई पनि सम्बोधन गरेर यसको जानकारी दिएका छन् । रुहानीको भनाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले भनेको छ, ‘अमेरिकालाई हामी धनी देश हौं भन्न चाहन्छौं । तपाईंको शत्रुवत् व्यवहारका साथै कठोर प्रतिबन्ध लागू हुँदाहुँदै पनि इरानको तेल उद्योगका कर्मचारी र इन्जिनियरले नयाँ तेल क्षेत्रको खोजी गरेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप