बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध देशका लागि  युवालाई उद्यमशील बनाउनुपर्ने छ : विद्या भट्टराई

सोमबार, २५ कात्तिक २०७६, २० : ५८
सोमबार, २५ कात्तिक २०७६

पोखरा । आगामी मङ्सिर १४ गते कास्की निर्वाचन क्षेत्र नं २ मा हुने संसदीय उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशील युवा बनाउनुपर्ने बताएकी छिन् ।

उनले समृद्ध नेपाल निर्माणका लागि एक आधारशीला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवालाई उद्यमशील बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफूले विशेष जोड दिने बताइन् । 

उनले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्य सो कुरामा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् ।

निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–४ का जनतासँग प्रत्यक्ष भेटपश्चात् आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै उनले विगतको निर्वाचनमा पार्टीले वाचा गरेका प्रतिबद्धता र जनताका आकांक्षा आफ्नो निर्वाचनको केन्द्रबिन्दु रहेकाले सोहीअनुसार आफू अघि बढ्ने बताइन् । 

जनसहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूमिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने उल्लेख गर्दै उनले सबै जनता राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिलाई निरन्तर खबरदारी गर्न आग्रह गरिन् ।  

यसअघि भट्टराईले आज बिहान सो वडाको नालाको मुखस्थित नेपाली राजनीतिका लौहपुरुष स्व गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी उक्त वडाका जनतासँग भेटघाट शुरू गरेकी थिन् । 

सयौँ नेता, कार्यकर्ताका साथमा जनसाक्षात्कार गरेकी भट्टराईलाई सो वडाका बासिन्दाले यस निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप